
- मातृका गजमेर
जीवनमा कहिलेकाहीँ नसोचिएको अवसर जुर्दो रहेछ । टाढाको यात्रा गर्नु मेरा लागि कठिन कुरा हो । मेरी छोरी पुनम भ्रमणप्रिय भएकीले बिदाका समय घुम्न जाने कुनै न कुनै योजना हुन्छ । यस्तैमा २०२५ को मकर सङ्क्रान्तिमा प्रयागराजमा ‘महाकुम्भ’ गङ्गाको त्रिवेणीघाट (गङ्गा, यमुना र सरस्वती नदीको सङ्गमस्थल) –को दर्शन गर्न अवसर जुऱ्यो छोरीको प्रयासमा । प्रयागराजमा १२ वर्षमा लाग्ने पूर्ण कुम्भ मेला यसवर्ष बाह्रौँ वर्षको बाह्रौँपटक लागेकाले यो महाकुम्भ (१४४ वर्ष) अति पवित्र संयोग र अमृत वर्ष भएकाले जाने निश्चिय गरी छोरी, नाति, म र मित्र मटिल्डा १० जनवरी २०२५ – मा त्यो पवित्र सङ्गमको दर्शनहेतु प्रयागरागलाई लक्ष्य गरी सुकुना घरबाट सिलगढी जङ्क्सनतर्फ प्रस्थान गऱ्यौँ । नानीहरू र मित्रका हौसलाले मलाई ऊर्जा मिल्यो । यातायात र होटलका सबै व्यवस्था छोरीले गरिन् । अपराह्न ३.३० बजे सिलगढी जङ्क्सनबाट सिक्किम – महानन्दा एक्सप्रेस ए/सी १/ए रेल चढी हामी भोलिपल्ट बिहान १०.३० बजे प्रयागराज रेल स्टेसन पुग्यौँ । छोरीले अघिबाटै बस्ने प्रबन्ध मिलाइएको पुष्प कोच भवनको गाडी मलाई लिन स्टेसनमै आयो । पुष्प कोच भवन पुगी रूम न. ८०२ र ८०३ मा हामीले थकान मेटायौँ ।
एकाध घण्टा आराम र स्नान गरी हल्का भएर हामी बाहिर खाना खान निस्कियौँ । ताजा घिउमा पकाएको पकाएको स्वादिष्ट परिकार खाएर इलादाबादको प्रसिद्ध स्थान ‘आनन्द भवन’ (आनन्द भवन, भारतका प्रथम प्रधानमन्त्री पण्डित जवाहरलाल नेहरूको घर हो ) हेर्न गयौँ । यो ऐतिहासिक भवन, जहाँ भारतका शीर्षस्थ स्वतन्त्र सङ्ग्रामीहरू देश स्वतन्त्र बनाउने रणनीति र कार्यक्रमबारे विचार विमर्श गर्ने, योजनाका प्रारूप तयार गर्ने थलो थियो । यस कुरामा आनन्द भवनका भित्तामा जतनसँग टाँगिएका एकेक तस्बिरले बताइरहेका थिए । स्वतन्त्र सङ्ग्रामका अगुवा राष्ट्रपिता महात्मा गान्धी बसेको साधारण कोठा र उनले प्रयोग गरेका सामानहरू यस भवनमा संरक्षित छन् । यो ऐतिहासिक महत्त्व रहेको भवन राष्ट्रलाई समर्पण गरिएको यो आनन्द भवन राष्ट्रिय धरोहर भएको छ ।
नेहरू परिवार, श्रीमती कमला नेहरू, श्रीमती इन्दिरा गान्धी, विजयलक्ष्मी पण्डित, नेहरूका ब्यारिस्टर पिताले प्रयोग गरेका सबै सामान (वस्तु) जतनसँग सङ्ग्रह गरी राखिएका रहेछन् । दराज र कोठा कोठा टम्म भरिएका बहुमूल्य पुस्तकहरूलाई हामीले टाढैबाट दर्शन गऱ्यौँ । आनन्द भवनको विशाल प्राङ्गनमा सदियौँ पुराना बटवृक्षले घेरिएका, सुन्दर फूलका बघैँचा रमणीय स्थान । घरी घरी पुगिरहूँ लाग्ने । मनलाई मोहित पारिरहने । पन्छीहरू निर्धक्क र निर्भय विचरण गरिरहेका, ती पन्छीहरूलाई मानिसहरूका चहलपहलले पनि कुनै असर नै परेका । पण्डित नेहरूका प्रिय फूलमध्ये गुलाब, रङ्गीबिरङ्गी फुलिरहेका । ऐतिहासिक महत्त्व बोकेको यो भवन घुम्दै गर्दा सबै सजीव भई आँखामा आए । प्रकृतिप्रेमी नेहरू, परिवारका राजसी ठाँट । नेहरू म्युजियम यो ।
आनन्द भवन घुमेर बाहिर निस्कँदा सडकपेटीमा विभिन्न सामग्री राखिएका पसलहरू, सबैले आ-आफ्ना सामग्रीहरूप्रति आकर्षित पार्न ग्राहकहरू बोलाइरहेका, कलेज पढ्ने एकजना ठिटो पनि चियाका मसिना पोका बोकी ग्राहकहरू बोलाइरहेथ्यो, चियाको गुणको बखान गर्दै । मेरी छोरी पनि चिया सम्बन्धित भएकीले जानकारी लिन पुगिन् । यसपछि हामी सिधै गङ्गा त्रिवेणीघाटको दर्शन गर्न पुग्यौँ । आज हाम्रो गाडीका सारथी थियो अमन ठिटो । श्रद्धालु भक्तहरूका भिड कम भएकाले हामीलाई अमनले गाडीमै पुऱ्याए त्रिवेणी । मन खाली थियो, के भनूँ ! तिमीलाई ? गङ्गा माताको दर्शनमा आउने सबै श्रद्धालुका लागि विभिन्न व्यवस्थामा तैनाथ देखिए विभागीय अधिकारीहरू ।
सबै खेमाका भक्तहरू आ आफ्नो पण्डल, स्वागतद्वारहरू सजाइरहेका थिए । बाटाका छेउ किनार किनार तोरण बत्तीले सजिएका मनमोहक दृश्य । साधुहरू धुनी तापिरहेका थिए । त्रिवेणी घाट शृङ्गारले अनुपम देखिन्थ्यो । गाडीमा नै पुग्यौँ हामी । यही अवसरमा नातिनीलाई पवित्र माटो लिन लगाएँ । घाटबाट माथि बाटामा निस्कँदा महान भजन सम्राट् गायक अनुप जलोटाको भजन ‘ऐसी लागी लगन मीरा हो गई मगन’ ले सिञ्चित गरिरहेथ्यो सम्पूर्ण वातावरण / परिवेश । बत्तीले झलमल्ल त्रिवेणी घाट भव्य मनमोहक अलौकिक देखिन्थ्यो ।
समुद्र मन्थनबाट निस्केको अमृतको घडा स्वर्गतर्फ लाँदै गर्दा अमृत खसेको चार स्थानलाई पवित्र मानिन्छ । प्रयागराज (इलादाबाद), हरिद्वार, नासिक र उज्जैन । यी स्थानहरूमा कुम्भ, अर्धकुम्भ मेला लाग्दछ । श्रद्धालुहरू यो पवित्र पर्वमा पुग्छन् । प्रयागराजको कुम्भ मेला १२ वर्षको १२ पटक (१२X१२ = १४४ ) लाग्ने हुँदा महाकुम्भको अमृत वर्ष अति पवित्र वर्ष, संयोगले जुऱ्यो दर्शन गर्न । मकर सङ्क्रान्तिका दिन त्रिवेणी त्रिवेणी घाट (गङ्गा, यमुना र सरस्वती नदीको सङ्गमस्थल) – मा डुबुल्की लगाउन पाउनु नै सौभाग्य र पुण्य मानिन्छ । यस दिन गाउँ गाउँ शहर मात्र नभएर सनातनीहरू देश विदेशबाट पनि यस पवित्र स्थानमा आउँछन् । यो श्रद्धालुहरूका अपार सङ्गम देखेर अर्कै संसार पुगेको आनन्द हुन्छ । छोरी र नातिनीलाई धन्यवाद र आशिष् दिएँ हामीलाई यस पवित्र स्थान दर्शन गर्न ल्याएकामा । समय निकै बितेकाले केही खाएर होटल फर्कियौँ । हात – खुट्टा धोएर हल्का भई आ-आफ्ना बिछ्यौनामा पल्टियौँ आनन्दले ।
१४ जनवरी २०२५ ।
आज पुष्प कोच भवनका सहयोगी, कर्मचारीहरूका हार्दिकता हृदयमा खिलेर हामी त्रिवेणी घाट नजिकको ‘इको बेम्बो कटेज’ – मा सऱ्यौँ । यहाँबाट नानीहरूले भने, ‘यहाँबाट त्रिवेणी घाट पैदल जान सकिन्छ ।’
‘पुष्प कोच भवन’ – कै गाडी चालक ‘हरियाणाको हृदेश’ नाम गरेको सोझो युवक थियो । ऊ यहाँ प्रयागराज आएको केवल सात दिन मात्र भएको रहेछ । त्यसैकारण उसलाई इको बेम्बो कटेज पुग्ने छोटो र भित्री बाटाहरूका जानकारी नभएकाले निकै समय लाग्यो । श्रद्धालु तीर्थयात्रीहरूका पैदल लस्कर । स्री – पुरुष, वृद्ध – युवा सबै शिरमा लुगाका गुन्टा बोकेका । यात्रीहरूका जामले गर्दा ठाउँ ठाउँमा तैनाथ पुलिसहरूले हाम्रो गाडी रोकेर लामो बाटो जाने निर्देश दिए । छोरीले हामी दुईलाई देखाएर आमाहरू यति लामो बाटो हिँड्न सक्नु हुन्न भनी अनुरोध गरेपछि ती दयावान् अधिकारीले हाम्रो गाडीलाई छुट दिए । हामी धन्यवाद भन्यौँ । हामी इको बेम्बो कटेजमा आरामसँग पुग्यौँ । यो कटेज भर्खरै खोलेको हुनसक्छ, कतिपय व्यवस्थाको अभाव थियो । आफ्नो सामान राखेर हामी ‘खुसरो बाग’ घुम्न निस्कियौँ । हामीले खुसरो बागलाई प्रसिद्ध गजलकार अमीर खुसरूका नाममा स्थापित होला सम्झेका थियौँ, तर जहाँगीरको छोरो खुसरोको समाधि (स्मारक) – स्थल रहेछ । यो इलादाबादको ‘लुकरगन्ज’ – मा अवस्थित रहेछ । ‘खुसरू’ (क्राइब्द १५८७ – १६२२) शिक्षित विनम्र र अत्यन्त मिलनसार व्यक्ति भएकाले निकै लोकप्रिय रहेछन् । त्यहाँ शताब्दी पुरानो अति सुन्दर बनावटको मस्जिद अघाड़ि तलाउ पनि रहेछ । यसको पर्खालमा प्रयोग भएका इँटा भने चार अम्मल मात्रको आधा इन्च सानो रहेछ । यस्तो इँटा अयोध्या जाँदा पुराना अवशेष भग्नावशेषहरूमा पनि प्रयोग भएको देखियो । शताब्दी पुराना स्मारकहरू विशाल फाँटमा रहेको सुन्दर स्थल । खुसरोको समाधि स्मारक उसकी बहिनी सुल्तान निसार बेगमले निर्माण गराएकी थाहा भयो, जो पटमा लेखिएको रहेछ । उबेलाका अभियन्ताहरूका निर्माणदक्षता यो शताब्दीसम्म पनि जस्ताको तस्तै रूपमा यथावत पाइन्छ, जसका उदाहरण यी स्मारकहरू हुन् । भत्केका, टुक्रिएका र भाँचिएका कतै देखिएन । खुसरो बाग शताब्दीको गाथा बोकेर प्रयागराजमा साक्षी छ । खुसरो इमानदारी र असल व्यक्ति हुनुकै कारण ऊ षड्यन्त्रमा परी असमयमै मृत्युवरण गर्नुपरेको दुःखदायी इतिहासबारे अवगत हुँदा मन गह्रौँ भयो । खुसरो बाग जाँदा मित्र मटिल्डाले बाटाभरि अमीर खुसरोको गजल सुनाइरहिन् –
गोरी सोई सेज पर मुँह पर डारे केस।
चल खुसरो घर आपने, रैन भई चहुँ देस ॥
हामी आनन्द लिइरह्यौँ ।
त्यसबेला वास्तु अभियन्ताहरूका जीवन्त कलाको साक्षी खुसरो बाग घुमघामपछि हामी फेरि त्रिवेणी घाट गयौँ । गङ्गा माताको पवित्र स्पर्शमा हृदय अलौकिक आनन्दले तरङ्गित भयो । बाटा घाटा सबै सुन्दर, तोरण ध्वज र बत्तीले शृङ्गारिएका, आफूलाई अर्कै संसारमा पुगे झैँ भान भयो । श्रद्धालुहरूका समुद्र उर्लिएको थियो । कुन शक्तिले उपवास लिएर हिँड्नेहरूलाई सञ्चार गरिरहेथ्यो ! अपूर्व ।
घाटबाट माथि सडकको बारमा उभिएर तल गङ्गालाई हेरिरहेथ्यौँ । यसबेला पनि अनुप जटोलाको भजन गुञ्जिरहेथ्यो । उनैको तपस्याको फलस्वरूप माता गङ्गालाई स्वर्गबाट पृथ्वीमा अवतरण गराई सगरराजाका पुत्रहरूलाई मोक्ष प्राप्त भएथ्यो । आज उनै गङ्गा अपार जनसमूहलाई मकर सङ्क्रान्तिमा डुबुल्की लगाउन बगिरहेकी छिन् – त्रिवेणी भएर, पवित्र अमृत भएर ।
माथिल्लोपट्टि हनुमानको मन्दिर अघि भक्तहरू अत्यधिक भिड भएकाले हामी जान सकेनौँ । हनुमान मन्दिरको दर्शन गर्न पाएनौँ । बाहिरबाटै दर्शनार्थीहरूका भिड देखेर सन्तोष मान्यौँ । यू. पी. सरकारले यति विशाल मेला महाकुम्भमा श्रद्धालु भक्तजनहरूका लागि सुव्यवस्था मिलाउन कठोर परिश्रम गरेको देखियो । आ- आफ्ना विभागको दायित्व निर्वाह गर्न तैनाथ सबै तत्पर देखिए , यो डिजिटल भारतमा । गङ्गा माताको दर्शनपछि हामी इको बेम्बो कटेज फर्किँदा साँझको समय थियो । यतिबेला विभिन्न खेमा, सन्त सम्प्रदायका गुरु महाराजाहरूका भव्य लस्कर देखियो । घोडा, हात्ती, उँटलाई सुन्दर तरिकाले सिँगारेर बनाइएको सुन्दर रथमा विराजमान गुरुहरूका सवारी दर्शनीय थियो । बाजा गाजासहितको नगर परिक्रमाले दैविक आभास सञ्चार गरिरहेथ्यो । यो दर्शन गर्न पाउनु पनि सौभाग्य नै ठानेँ आत्मिक आनन्दले । हामी छेउ लागेर यो भव्यता अवलोकन गऱ्यौँ ।
‘महाकुम्भ’ श्रद्धाभक्तिका मानवभेला सङ्गम थियो । अलग अलग सम्प्रदाय, जातगोष्ठीबाट अलग्गै, यो मानवको अमृतमय सङ्गम थियो – प्रयागराजको महाकुम्भ । यस अवसरमा ग्रामीण क्षेत्रका चुह्ला – चौकामा जीवन बाँधेका नारीहरू पनि आफ्ना परिवारसँग खुला परिवेशमा धर्मकै आडमा भए पनि धेरै कुरा अनुभव गर्ने अवसर प्राप्त गरे । महाकुम्भ, मानव एकताको प्रतीक झैँ लाग्यो / लाग्छ ।
मकर सङ्क्रान्तिका दिन नागा साधुहरू दीक्षा लिन हजारौँका सङ्ख्यामा लस्करै विशेष घाटतर्फ दौडेर जाँदारहेछन् । नागा साधुहरू, जसले आफ्ना परिवार, नाता सम्बन्ध (सांसरिक) त्यागेर आफ्नो पिण्डदान आफैँ गर्न पर्ने रहेछ । आफ्नै पिण्डदान गरी मोक्षधाम पुग्ने विश्वास उनीहरू राख्दा रहेछन् । स्वर्ग – नर्क पुगेर मोक्ष मोक्ष प्राप्त गर्न सम्भव छैन, तर यही एक मात्र धरती नै मोक्ष प्राप्त गर्ने पुण्य स्थान हो भन्ने उनीहरूका विश्वास मान्यता रहेछ ।
महाकुम्भ सनातनीहरूका मात्र नभएर सारा मानव जातिको महासङ्गम थियो त्रिवेणी घाटमा । ४५ दिनको मेलामा साधु सन्त, गृहस्थी सबै नै महाकुम्भ, त्रिवेणीमा डुबुल्की लगाउन आएका, पुण्य प्राप्त, आत्मिक सन्तोषका लागि कोसौँ यात्राको बाधा अडचन झेल्दै/ सहँदै । विशेष रूपले महत्त्वपूर्ण भने घरका चुह्ला – चौकाको परिधि भित्र मात्र सीमित रहेका गृहणीहरूले केही समयका लागि भए पनि आफ्ना परिवारसँग देशाटन अर्थात् तीर्थ यात्रामा महाकुम्भ प्रयागराजको महाकुम्भमा स्नान र दर्शनको माध्यमद्वारा अपार जनसैलाबमा सामेल हुने र खुला परिवेशको अवसर भने पाए, पुण्य र धर्मकै नाममा भए पनि । यस पवित्र पर्वका अवसरमा यहाँ पुण्य पाउने सबैका मनोकामना भए पनि यहाँ कोही माला बेचेर, कोही दतिउन बेचेर अर्थलाभ गरिरहेका थिए । यसैले विविध उद्देश्यले प्रेरित जनसमूह भए पनि यो महाकुम्भ मानव एकताको प्रतीत हुन्थ्यो । मानव शरीरमा रहेको त्रिवेणीको प्रतीक महाकुम्भको त्रिवेणी घाटको पवित्र सङ्गम ।
मकर सङ्क्रान्तिको पवित्र दिन छोरी – नातिनी त्रिवेणीमा डुबुल्की लगाउन र गङ्गा माताको पवित्र जलस्पर्श गर्न बिहानै निस्के । ‘पैदल जानु पर्ने भएकाले हामीलाई बस्दै गर्नु’ भने । केही समयपछि चन्दन, फूल टीका र गङ्गाजल लिएर खुसी हुँदै आए । मनोकामना पूर्ण भएको खुसी उज्यालो भएर उनीहरूका अनुहारमा झल्किरहेथ्यो ।
१५ जनवरी २०२५ ।
प्रयागराजको इको बेम्बो कटेज ( टेन्ट सिटी) – बाट बिदा लिएर हामी बनारसतर्फ लाग्यौँ । छोरी, नातिनी र मित्रको यो बनारस यात्रा दोस्रोचोटि थियो । मेरो भने पहिलो । यति लामो यात्रा । आज हाम्रो सारथी ‘पुष्प कोच भवन’ – कै शर्माजी थिए । ससाना गाउँ हुँदै हामी अघि बढिरह्यौँ प्रयागराजलाई पछि छाड्दै । चियाखाजाका दोकानहरू देखिए पनि हामी रोकिन सकेनौँ । बाटामा एउटा पुल पार गर्दा तल गङ्गा शान्त बगिरहेकी थिइन् । नमन गरेँ । नदी सभ्यता र संस्कृतिको स्रोत हो मानवको । सारथी शर्माजीले प्रयागराजमा भएका पवित्र तीर्थस्थलहरूका महत्त्व सविस्तार जानकारी गराइरहेका थिए । उनले बाटो कटनी सहज बनाए । उनैले रूपापुर ‘कछुवा रोड’ –मा रहेको ‘विधान बसेरा ढाबा’ –मा राम्रो खाना पाइन्छ भनी गाडी रोके । यो ढाबामा त्यहीँ बारीमा फलेका ताजा सागसब्जी घिउ एक राते दही, मही, घिउमा पकाएको रोटी स्वादिष्ट थियो । यति स्वादिष्ट परिकार बनाउने एकजना नेपाली सेफ रहेछन् । ती सेफ थापा हुन् भनी शर्माजीले बताए । यो ढाबामा उनले काम गरेको धेरै वर्ष भइसकेछ । खुसी लाग्यो सुन्दा । हाम्राहरू जहीँ पनि परिश्रम गरेरै खान्छन् । खाजाको सन्तुष्टि लिएर लघु शङ्काबाट निवृत्त भएपछि हाम्रो गाडी बनारसतर्फ मोडिन्छ । बाटाभरि शर्माजीले आफ्नो जीवनका सङ्घर्ष, ती सङ्घर्षका क्रममा सहेका घटनाहरू सुनाउँदा बाटो कटनी सहज बन्छ । सङ्घर्ष बिनाको जीवनको गति छैन । उनले भनिरहेका थिए, ‘यो ढाबाको मालिक ठाकुर हो । मैले धेरै वर्ष यहाँ गाडी चलाउने काम गरेँ । पहिला उसको यो दोकान सानो थियो । उसलाई यहाँसम्म पुऱ्याउने हामी गाडी चालकहरू नै हौँ । अहिले उसका ४ – ५ वटा बस चल्छ । पछि एकजना बिहारको ड्राइभरले मेरोभन्दा कम तनखामा काम गर्ने भयो र मैले काम छोडेँ । अहिले पनि मलाई काममा बोलाउँछ, तर म जाँदिनँ ।’ शर्माजीले आफ्ना दुखेसाहरू सुनाउँदै हामीलाई १२.३० बजे बनारसको गोविन्द बिहारस्थित को – कोकाबना होटलमा पुऱ्याए । हाम्रा सामानहरू कोठामा कर्मचारीहरूले पुऱ्याएपछि हामीले एकक्षण आराम गऱ्यौँ । त्यसपछि स्नान गरी हल्का भएपछि हामी दश्वमेद घाटमा गङ्गा आरती हेर्न गयौँ । बनारसमा चौरासी घाट रहेछन् । नाउवालाहरू ग्राहक बोलाउन हानथाप गरिरहेका थिए । श्रद्धालुहरू पनि नाउमा चढ्न हतार गरिरहेका थिए । आफूलाई धकेलेर लडाइदेलान् भन्ने त्रास ममा थियो । त्यसैले नानीका हात समातेर म चढेँ । घाटमा श्रद्धालुहरूका भिड थियो । सबैले आरतीको आनन्द लिइरहेका थिए ।
हामीलाई बनारस ल्याउने सारथी शर्माजीले अयोध्याका दर्शनीय स्थानहरूका जानकारी दिइरहेका थिए । दर्शनको मोहले हामी अयोध्या जाने भयौँ । बनारसबाट होटलकै ट्याक्सी बन्दोबस्त गरी बिहान साढे आठ बजे रामललाको दर्शन गर्न अयोध्यातर्फ लाग्यौँ । आजको सारथी छ – गोविन्द नाम गरेको युवक । ऊ भद्र छ । कम बोल्ने ।
ससाना गाउँहरू भेटिए बाटामा । अन्न उत्पादन हुने विशाल फाँटहरू तोरी फुलेको मनमोहक पहेँलपुर गहुँ, उखु लादिएका ठुल्ठुला ट्रक । अन्नको भन्डार रहेछ । ती किसानहरूका मेहनत, परिश्रम सम्झेँ । धन्य हुन्, जसले हामीलाई अन्न दिएर बचाएका छन् । बाटाका छेउ छेउ ससाना दोकानहरू भेटिए । पहेँलपुर तोरीको विशाल फाँट हामीले स्मृतिका लागि तस्बिर खिच्यौँ ।. मित्र मटिल्डा राम्रो फोटोग्राफर पनि भएकीले फोटो ठाउँ ठाउँमा खिचियो । छोरी र नातिनी पनि फोटोको सौखिन । फेरि फेरि यस्तो सुन्दर समय पाइने हो / होइन । हामीले समयको सदुपयोग गऱ्यौँ ।
होटलबाट बिहानै निस्केकाले खाजा खाएका थिएनौँ । बाटामा खाने उचित स्थान भेटिएन । गाडी आफ्नो गतिमा गुडिरहेको थियो । मनमा अनेकौँ प्रश्न तैँछाड मैछाड गरिरहेथ्यो । इच्छा गरे समयले पुऱ्याउँदो रहेछ । सपनामा पनि नसोचेको रामललाको दर्शन गर्न अयोध्या पुगियो । गाडीमा श्रीराम भगवान् र माता सीताबारे चर्चा भयो । उबेला यति घना जङ्गल हुँदै पैदल यात्रा गरी वनबासको कठिन तपस्या पूर्ण गर्नु सानो त्याग थिएन । हामीलाई अयोध्या पुग्ने हतारमा भोक हराएको थियो ।
अयोध्या पुगेरै खाउँला भनी खाइएन । सुल्तानपुर हुँदै दिउँसो एक बजे अयोध्या पुग्यौँ । साधारण प्रक्रिया पालन गरी लाइनमा उभियौँ हामी । लाइनमा उभिनु होइन, दौडनु पर्ने रहेछ । आफू परेँ खुट्टाको भरै नभएकी, छोरीले डोहोऱ्याएर अघाडि पुऱ्याई । भिडको ठेलाठेल थामिनु नै मुस्किल । मन्दिर अघिका भिड सबैलाई सबैभन्दा पहिला नै रामललाको दर्शन पाउने हतार । मुख्यद्वार अघाडि कोही स्वयम्सेवक थिएनन् । पुलिस कोही नहुँदा तैँछाड र मैछाड बढेको थियो । अनुशासन सजिलामा मात्र हो कि ! यतिबेला एकजना भक्त श्रद्धालुले हामीलाई बाटो दिन भिडलाई अनुशासित बनाउन सक्दो कोसिस गरे । उनलाई हार्दिक धन्यवाद भन्यौँ । मन्दिरबाट बाहिर निस्कँदा तीन बजिसकेथ्यो । यहाँको प्रसिद्ध दर्शनीय स्थानहरू ब्रह्मकुण्ड आदिको दर्शन गर्न सकिएन । हामीलाई फर्कनु थियो । अयोध्याको प्रसाद केही चिनो किनेर बाटामा नै खाने भनी बनारसतर्फ लाग्यौँ । अयोध्या पुग्दा धेरै कुरा मनमस्तिष्कमा घुम्यो । यति टाढाबाट राम कसरी जनकपुर पुगी माता सीतालाई विवाह गरे होलान् ?
गोविन्द (चालक) –ले सुल्तानपुरमा राम्रो खाना पाउँछ भनेपछि गाडी नरोकी अघाडि बढ्यो । भोकले गर्दा सुल्तानपुरमा अगावै कुनै समारोहका लागि सिँगारिएको होटल भेटियो । गाडी रोक्न लगाएर होटलतर्फ जाँदा मित्र मटिल्डा पहिला नै पुगिन् । होटलको मालिकलाई के भ्रम भएछ भने ‘हामी शुद्ध शाकाहारी जैन हौँ ।’ त्यही विषयमा मालिकले मित्रलाई ‘अहिले किचन सफा गरेर मात्र तपाईंहरूका खाना बनिन्छ’ भन्दा यस्तो कसले भन्यो भनी निर्क्यौल गर्ने हुँदा मित्र मटिल्डा लड्नु पनि भएछ । म त सबभन्दा पछि ओर्लेँ । मलाई थाहा भएन मित्र लड्नु भएको । मित्रको हात र घुँडामा चोट लागेछ । उनी सानातिना चोटले नरुने मान्छे । प्राथमिक उपचारपछि लघु शङ्काबाट निवृत्त भएपछि हामीले खाना खाइसकेर गाडीले बनारसतर्फको मन्तव्य समात्यो । मित्रलाई चोट लागेकाले दुःख लागिरहेको थियो ।
बाटामा देखिएका विशाल तोरीबारी र अन्य प्रकृति सुन्दर दृश्यहरू सबै मोबाइलमा कैद गर्ने मित्रलाई धन्यवाद । हाम्रो यात्राका सबै तस्बिर मित्रले लिनु भयो । राति ११. ३० बजे होटल कोको काबनामा आरामसँग पुऱ्यायो गोविन्दले । यो सुन्दर संयोगका लागि ईश्वरलाई धन्यवाद ।
१६ जनवरी २०२५ ।
बिहान ढोकाको घन्टीले ब्युँझायो हामीलाई । नानीहरू उठिसकेका रहेछन् । बिहानै नुहाएर काशीको सुप्रसिद्ध मन्दिर विश्वनाथको दर्शन गर्न छोरी – नातिनी जान लागेका रहेछन् । हामीलाई ‘तपाईंहरू बस्दै गर्नुस् ल । त्यहाँ धेरै हिँड्नपर्छ । तल खाजा खान जानु’ भने । मित्र त हिँड्न सक्ने मान्छे हुन्, मलाई भने हिँड्नमा असुविधा हुन्छ । खाजा खान भुइँ तला गयौँ । त्यहाँ स्वदेशी विदेशी यात्रीहरू आ-आफ्ना रुचिका खाना खाइरहेका थिए । हामीले पनि खायौँ । खाजा खाएर कोठामा आउँदा नानीहरू मन्दिरको दर्शन गरी खुसी भएर आएको देख्दा मेरो पनि मन हर्षित भयो । बनारसमा मैले कवि डिल्लीराम तिमिल्सिनाको कविता ‘बिर्सन्नँ बिर्सन्नँ है’ सम्झेँ । छोरीले भनी, ‘आज नौका विहार गर्न जानुपर्छ ।’ गङ्गाको पवित्र वक्षस्थल आशिघाटमा नौका विहारको आनन्द लियौँ । तीर्थमा आएका सपरिवार नौका विहारमा आनन्दले रमाइरहेका देखिन्थे । घाटको किनारमा विभिन्न प्रकारका सामग्रीहरूका ससाना दोकान थिए । माताले सबैलाई रोजीरोटी दिएकी । गङ्गामाँ यहाँ मैली देखेँ । मानिसहरू आस्थाका नाममा फल-फूल सबै कुरा चढाउँदा नदी नै प्रदूषित हुने कुरालाई बेवास्ता गर्छन् । हेक्का राख्दैनन् । यसतर्फ ध्यानै दिँदैनन् ।
उहिले यातायातको सुविधा सुलभ नहुँदा पनि शास्त्र अध्ययनका लागि मानिसहरू काशी जान्थे । काशी पुण्यभूमि मानिन्थ्यो । बनारस सबैभन्दा पुरानो सहर हो । यहाँ चौरासी घाट छन् । मणिकर्णिका घाट, जहाँ दिनहुँ शव दाह गरिन्छ । शव जलिरहनु पर्ने । यसको पनि कथा रहेछ, जुन यहाँ प्रस्तुत गर्न सकिएन।
काशीमा प्राण त्याग्न पाए मुक्ति पुण्य मिल्छ भन्ने जनमानसमा विश्वास रहेको पाइन्छ ।
मुक्ति भवनः मुक्ति पाइन्छ भन्ने आस्थामा जीवनका अन्तिम अवस्थामा पुगेकाहरू यहाँ मुक्ति भवनमा बस्न आउँदा रहेछन् । १५दिनको २५ रुपियाँ प्रतिव्यक्ति शुल्क तिर्न पर्ने रहेछ । प्राण त्याग्ने अवस्थामा पुगेका व्यक्तिहरूसँग बस्ने एकजना सुसारे पनि ल्याउन पर्ने रहेछ । १५ दिनसम्मको प्राण त्याग्ने दिन तय गरिएको हुँदो रहेछ । यदि त्यति दिनभित्र मृत्यु नभए उसलाई घर फर्काइँदो रहेछ । बनारसमा रोचक कथाहरू सुन्न पाइन्छ गल्ली गल्लीका । यो धार्मिक आस्था बोकेको सहर हो । देव – देवीको प्रिय भूमि मानिन्छ ।
गङ्गामा जल समाधि लिने साधुहरू पनि हुँदारहेछन् । बनारसमा बगेकी गङ्गालाई धेरै कष्ट उठाउनु पर्नेदेखि सबै मैला उनकै शरीरमा । मैलादेखि सबैका पाप पुण्य बोकेर निसङ्कोच बगिरहेकी गङ्गा मातालाई नमन गरेँ । उनी स्वच्छसँग कहाँ बग्न पाएकी छन् र ! यतिबेला मैले भुपेन हजारिकाको ‘गङ्गा बहती हो क्यों ?’ गीतले मन झङ्कृत भयो ।
बनारसमा दोकानेहरूले पशु प्राणीहरूलाई माया गरेको देखियो । भुस्याहा कुकुरहरूलाई सबैले बिस्कुट – खानेकुरा दिएको देखियो । लाठी मुङ्ग्रो गरी देखेको कतै देखिएन । बनारस घुम्दै गर्दा मित्र मटिल्डाले प्रा. डा. दिवाकर प्रधानलाई सम्झना गर्नुभयो । थाहा भएको भए ‘काशी हिन्दु विश्वविद्यालय’ हेर्ने मौका पाइन्थ्यो ।
१७ जनवरी २०२५ ।
आज बनारसको अन्तिम दिन भएकाले चाँडै खाना खाएर होटलबाट निस्कियौँ । संयोग कस्तो भयो भने, हाम्रो ट्रेन डेढ घण्टा ढिलो हुने थाहा पायौँ । यो डेढ घण्टाको समयलाई सदुपयोग गर्न हामीले सारनाथ जाने निधो गऱ्यौँ । गौतम बुद्धले उपदेश दिएको पवित्र स्थान सारनाथ । लुम्बिनीका सिद्धार्थ कसरी कति कष्टले कुन बाटो भएर पैदल यहाँ आइपुगे होलान् ? शान्ति र ईश्वरको खोजीमा अस्थिपञ्जर बनेका सिद्धार्थमा कुन शक्तिसञ्चार भयो होला ? सिद्धार्थबाट ‘बुद्ध’ बनेका कर्मकाण्ड – मानव विभेदले जर्जरित समाजलाई नयाँ चेतनाको ज्ञानको पहिलो ज्ञानप्रचारमा लागे । बनारसको त्यही पवित्र भूमि हो – सारनाथ । बोधगयामा ज्ञानको बोध भएपछि सारनाथमा आएर आफ्ना पाँच चेला लिई ज्ञान प्रचारमा लागे । उनले ज्ञान बाँड्ने पवित्र स्थलमा रहेको वृक्षमुनिको चौतारो देख्दा महान् वाणीको स्मरण हुन्छ । मुख्य सार – मध्यम मार्ग हो ।
त्यहाँ रहेको प्राचीन स्तुप, बुद्धको स्वर्णलेपका ठुल्ठुला मूर्तिहरू । देश – विदेशका बौद्ध धर्मावलम्बीहरूले बनाएका मूर्तिहरू । महामानव, बुद्धको ज्ञान प्रचारको पवित्र भूमिमा टेक्न पाउनु सौभाग्य नै सम्झेँ । समय कम थियो । हामीलाई समयमै दीनदयाल रेलवे स्टेसनमा पुग्नु थियो । भित्र पस्ने समय पनि सकिएकाले गेटबाट बाहिर निस्कियौँ – मनमा आनन्द, दर्शनको खुशी लिएर ।
महाकुम्भको यात्रा आरामदायक रह्यो । बाटामा कुनै प्रकारको असुविधा भएन । सबैको सहयोग रह्यो । यो यात्रा योजनाका निम्ति छोरी – नातिनी धन्यवाद र आशिष् । ती वाहन चालकहरू, जसले हामीलाई त्रिवेणीघाट, आनन्द भवन, खुसरो बाग, चन्द्रशेखर आजाद बाग, माँ अन्नपूर्ण मन्दिर, जानकी मन्दिर, बनारस, अयोध्या पुऱ्याउन, ल्याउन र घुमाउन सहयोग गरे, उनीहरूलाई अशेष धन्यवाद । यतिबेला सम्झिरहेछु शर्मा भाइ, गोविन्द, अमन र रिङ्कुहरूका हार्दिकतालाई । सम्झिरहेछु, सुकुनादेखि जङ्क्सनसम्म पुऱ्याइदिने चालकलाई । हाम्रा आठ-दशवटा झोला र सुटकेस रेलमा चढाइदिने सहयोगीहरूप्रति पनि हामी धन्यवादी बनेका छौँ ।
मैले विशेष धन्यवाद दिनैपर्छ छोरी पूनम र नातिनी स्विटीलाई, जसका योजना, साथ र सहयोगले ऐतिहासिक महाकुम्भ घुम्न पाएँ, बनारस र अयोध्याको पवित्र भूमि टेक्न पाएँ । सारनाथमा बुद्धवाणी अनुभूत गर्न सकेँ । गङ्गामाताको पवित्र पानी छुन पाएँ । एउटा अलौकिक संसारलाई आफ्नै आँखाले देख्न पाएँ । रमाउन पाएँ । मानिसका आस्था र विश्वासमा कतिसम्म समर्पण र शक्ति हुँदोरहेछ, अनुभूत गरेँ । मित्र मटिल्डा हामी अर्कै संसारमा पुगेर फर्कियौँ है ?
(सुकुना)


