एसकेएम सरकारले लिम्बू-तामाङ सीट आरक्षण मुद्दामा कुनै चासो नदेखाएको एलटीभीसीको आरोप

0
1138

गान्तोक,  22 जनवरीः पछिल्लो चुनाउमा लिम्बू-तामाङलाई राज्य विधानसभामा जनजाति आसन आरक्षणको मुद्दालाई बैशाखी बनाएर सत्तामा उक्लेपछि दुई वर्षमा पनि यस मुद्दालाई तार्किक निष्कर्षमा पुऱ्याउन एसकेएम सरकारले कुनै पहल नगरेको लिम्बू तामाङ भोलेन्टेरी कमिटीले आरोप लगाएको छ।

एलटीभीसीका अध्यक्ष येहाङ चोङले आज एउटा पत्रकार सम्मेलनमा एलटी सीटको मुद्दाले नै एसकेएम पार्टीलाई सरकारमा पुऱ्याएको दाबी गर्दै एसकेएम सरकारको पतनको कारण पनि एलटी सीट नै हुने ठोकुवा गरे।

बितेको दुई वर्षमा आफूहरूले धेरैजना मन्त्रीलाई भेटेर सम्बन्धित मुद्दामा बात गरिसकेको तर आजसम्म कसैबाट पनि कुनै प्रकारको पहल नभएको चोङले बताए।

राज्य सरकार तथा मुख्यमन्त्री पीएस गोलेले केन्द्रिय मन्त्रीहरूसमक्ष एकाधपल्ट ज्ञापन बुझाएको तर फर्मुलाबिनाको ज्ञापनको कुनै अर्थ नरहेको उनको भनाइ छ।

केन्द्र सरकारमा पूर्वको एसडीएफ सरकारले बुझाएको बर्मन कमिशनको रिपोर्ट र 40 सीटको फर्मुला मात्र रहेको उल्लेख गर्दै उनले वर्तमान सरकारले आफ्नो फर्मुलासहित राज्य विधानसभामा विधेयक पारित गर्नका साथै केन्द्रमा रहेका ती दुइवटा पुराना रिपोर्टलाई फिर्ता गर्नुपर्ने उनले माग गरेका छन्।

यसका साथै उनले विपक्षी विधायक हुँदा वर्तमान मन्त्री कुङ्गा निमा लेप्चाले 32 बाटै लिम्बू-तामाङको सीट आरक्षित गर्नुपर्ने प्राइवेट मेम्बर रेजुलेशन विधानसभामा ल्याएको अनि वर्तमान मन्त्री सोनाम लामाले समर्थन जनाएको कुरा पनि स्मरण गराएका छन्।

जनसङ्ख्याको आधारमा लिम्बू-तामाङले 6 वटा आसन पाउनुपर्ने र जनजाति आसन आरक्षण संविधानको धारा 332-ले होइन धारा 371-एफ-को आधारमा हुने प्रावधान रहेको उनको अड़ान रहेको छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here