लखनउ, २२ फरवरी : शुक्रबार उत्तर प्रदेशको एटीएसले आतङ्की सङ्गठन जैश-ए-मोहम्मदका दुई सक्रिय आतङ्कीलाई पक्राउ गरेको छ। पक्रा परेका आतङ्कीका नाम शाहनबाज अहमद तेली र आकिब अहमद हो।
दुवैले जैश-ए-मोहम्मदमा युवाहरूलाई भर्ती गर्ने काम गर्थे। उत्तर प्रदेशका डीजीपी ओपी सिंहका अनुसार बिहीवार राति सहारनपुरको देवबन्दबाट यी दुवै आतङ्कीलाई पक्राउ गरिएको हो। पुलिसले दुवै आतङ्कीबाट ३२ बोरको दुईवटा पिस्तोल र गोली बरामद गरेको छ।
यसका साथै दुवैबाट जेहादी अडियो, भिडियो, लिखित सामग्री पनि बरामद गरिएको छ। डीजीपी सिंहका अनुसार दुवै जैश-ए-मोहम्मदका सक्रिय आतङ्की हुन्। शाहनवाज जम्मू-कश्मीरको कुलगाम तथा आकिब पुलवामा निवासी रहेको पनि उनको भनाइ छ।
शाहनवाजको काम मुस्लिम युवाहरूको ब्रेनवास गरी आतङ्की सङ्गठनमा भर्ती गराउनु थियो। यी आतङ्की ग्रेनेड प्रयोगमा पनि एक्सपर्ट रहेको पुलिसले बताएको छ। यी दुई आतङ्कीबारे थप जानकारीका लागि यूपी पुलिसले लगातार जम्मू-कश्मीर पुलिससँग सम्पर्क गरिरहेको छ।
यी दुई आतङ्कीले देवबन्दमा पनि नयाँ भर्तीका लागि धेरै युवालाई सम्पर्क गरेको बताइएको छ। दुवैको उमेर २० देखि २५ वर्षबीच छ।
प्राप्त जानकारीका अनुसार यी दुवै विद्यार्थी बनेर एक संस्थानमा अवैध रूपले रहेर जैश ए मोहम्मदका लागि युवाहरू भर्ती गर्ने काम जुटेका थिए। पुलिसले दुवैलाई आजै न्यायालयमा उभ्याएर रिमाण्डमा लिइ गहन केरकार गरिरहेको छ।
दुवैको फोनबाट थुप्रै आतङ्की सङ्गठनका भिडियोहरू पनि पुलिसले बरामद गरेको छ। दुवैलाई पुलवामा हमलाबारे जानकारी रहेको पनि बताइएको छ।