दार्जीलिङ, 22 फरवरीः राज्यका प्राइभेट स्कूलहरूमा बढ़्दो फीसलाई लिएर सरकारले चाँड़ै कोलकातामा एक बैठक डाक्ने शिक्षा मन्त्री पार्थ च्याटर्जीले बताएका छन्।
पश्चिम बङ्गाल शेर्पा विकास बोर्डले आयोजन गरेको पाँचौं स्थापना दिवस समारोहमा उपस्थित हुन शनिवार दार्जीलिङ आइपुगेका उनले यसबारे जानकारी गराएका हुन्।
राज्यका शिक्षा मन्त्री दार्जीलिङ आइपुगेकै दिन आज ‘सारा दार्जीलिङे निमुखा जनता’-को नाममा दार्जीलिङका स्कूलहरूमा बढ़्दो फीस र स्कूलहरूलाई व्यवसाय बनाएको आरोप लगाउँदै चोक बजारमा पोस्टर टाँसिएको थियो।
यसै पोस्टरमाथि प्रतिक्रिया व्यक्त मन्त्रीले प्राइभेट स्कूलहरूमा अनावश्यक फीस वृद्धिलाई लिएर चाँड़ै एक बैठक डाक्ने बताए।
च्याटर्जीका अनुसार बैठक राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जी उपस्थितिमा सम्पन्न हुनेछ, जसमा दार्जीलिङलगायत राज्यभरिका प्राइभेट स्कूलहरूका प्रमुखहरूको उपस्थिति रहनेछ।
बैठकमा विशेषगरी यी स्कूलहरूमा बढ़्दो फीसबारे चर्चा-परिचर्चा हुनेछ। “हेरौं उक्त बैठकमा के हुनेछ, मन्त्री च्याटर्जीले भने।
उनले शेर्पा विकास बोर्डको स्थापना दिवस समारोहलाई पनि सम्बोधन गरेका थिए। आफ्नो सम्बोधनमा उनले शेर्पा समुदायलाई ल्होसार र बोर्ड स्थापनाको पाँचौं वर्षगाँठको शुभकामना दिए।
यसका साथै च्याटर्जीले भारतीय जनता पार्टीको नाम नलिइकनै कानूनको नाममा जनतामा डर फैलाउने कार्य गरिरहेको आरोप लगाए।