दार्जीलिङ, २२ फरवरीः दार्जीलिङमा आजदेखि राष्ट्रिय महोत्सव शुरू भएको छ।
तीनदिनसम्म चल्ने यो महोत्सव राजभवनको कम्पाउन्डमा सम्पन्न भइरहेको छ।
आज पर्यटन एवं सांस्कृति राज्यमन्त्री प्रह्लादसिंह पटेलले यस महोत्सवको उद्घाटन गरेका हुन्। यसअवसरमा दार्जीलिङका सांसद राजु बिष्ट र अन्य पनि उपस्थित थिए।
यसैबीच राजु बिष्टले राष्ट्रिय संस्कृति महोत्सवका लागि भारत सरकार र पर्यटन एवं संस्कृति राज्यमन्त्री प्रह्लादसिंह पटेलप्रति आभार व्यक्त गरे।
उनका अनुसार दार्जीलिङमा यो कार्यक्रम हुनु गौरवको विषय हो। अब लामो समयसम्म यस प्रकारको कार्यक्रम दार्जीलिङमा हुनसक्ने बिष्टले भरोसा पनि जताए।
यसका साथै पछिल्लो भ्रमणअवधि केन्द्रिय मन्त्रीले दार्जीलिङको विविधता, कला-संस्कृति, परम्परालाई लिएर कार्यक्रम आयोजन गर्नेबारे दिएको वचन पनि आज पूरा सांसदले बताए।
यसैगरी बिष्टले दार्जीलिङका मात्र होइन, तर बङ्गालभरिकै मानिसलाई यहाँ आएर कार्यक्रमको आनन्द लिने अनुरोध पनि गरेका छन्।
“चुनाउको समय अवश्यै यो कार्यक्रम भइरहेको छ। तर यो कार्यक्रम भारतीय जनता पार्टीको कार्यक्रम होइन; यो दार्जीलिङका जनताको कार्यक्रम हो; यो देशका जनताका कार्यक्रम हो; यो पश्चिम बङ्गालका जनताको कार्यक्रम हो। कृपया प्रत्येक कार्यक्रमलाई राजनीतिक रूपमा हेरिने कोशिश कसैले नगरून्”, सांसद राजु बिष्टले स्पष्ट पारे।