खरसाङ, २२ मार्चः क्रान्तिकारी मार्क्सवादी कम्युनिस्ट पार्टी (क्रामाकपा)-ले आफ्नो पथलाई निरन्तर जारी राखेको छ। आज यसै क्रममा क्रामाकपाले खरसाङको गिद्दे पहाड़देखि सुकनासम्म पथसभा गऱ्यो भने पथसभा सम्बोधन गर्दै वक्ताहरूले सोचीसम्झी भोट हाल्न जनतालाई अपील गरे।
क्रामाकपा नेतृत्वहरूले जीटीए सम्झौतामा भएको त्रिस्तरीय पञ्चायत चुनाउ गराउन नसक्नेहरूले दार्जीलिङ पहाड़को के विकास गर्लान् भनी कटाक्ष पनि गरे।
साथै विमलपन्थी मोर्चा र विनयपन्थी मोर्चा अलग अलग रूपमा चुनाउ लड़िरहेको भए तापनि उनीहरूले जितेको खण्डमा निरंकुश ममता ब्यानर्जीकै सरकारलाई समर्थन गर्ने बताइरहेकाले उनीहरूलाई जनताले किन भोट हाल्नु भन्ने प्रश्न पनि गरे।
क्रामाकपा नेतृत्वहरूले आफ्नो सम्बोधनमा ममता सरकारको क्रूर शासनको खुलेर विरोध गरे।
“भाषामाथिको अतिक्रमणदेखि हाम्रो मूल मुद्दालाई जुन प्रकारले दमन गर्दै हाम्रा १३ जनालाई शहीद बनाइएको थियो, त्यसको जवाब अब भोटमा तपाईं-हामीले दिनुपर्ने समय आएको छ। आजको यो पथसभा तपाईंहरूलाई भोट माग्न होइन, तर तपाईंहरूको भोटको मूल्य कति छ, त्यो बताउन हामी आएको हौँ”, वक्ताहरूले थपे, “यहाँ विकासको नाममा भोटमा माग्दैछ। अहिलेसम्म जीटीएको खेस्रामा स्पष्ट रूपमा पञ्चायत चुनाउ हुनपर्छ भनेर राज्य, केन्द्र र जीटीए चलाउनेहरूले हस्ताक्षर गरेको पञ्चायत चुनाउ त गर्न सकेनन्। उनीहरूले कस्तो विकास गर्नेछन्, त्यो उनीहरू नै जानून्।”
क्रामाकपा नेतृत्वहरूले थपे, “तपाईं-हामीले कर दिएपछि विकास गर्ने काम सरकारको हो। यसका लागि भोट जिताउनु पर्छ भन्ने केही छैन। निर्वाचित उम्मेदवारले त तपाईं र हाम्रो मुद्दा पो सरकारसमक्ष राखिन्छ, तर यहाँ भोट जिते यो गरिदिन्छु र त्यो गरिदिन्छु भन्छन्। विगतमा उनीहरूले जितेर गएका विधायकहरूले के के काम गरे, त्यो खोज्नुस्; सोध्नुस्। आज ती विधायकहरू उठेका छैनन् भने पनि उठाउने दल त त्यही हो। रिपोर्ट कार्ड देखाउने दायित्व पनि उनीहरूको हो।”
पथसभा गिद्देपहाड़, महानदी, घैयाबारी, तीनधारे र सुकनामा सम्पन्न भएको थियो, जसलाई भुपेन छेत्री, उद्धव खनाल, कृष्णवीर राई, शेखर छेत्री, अरुण घतानी र गोविन्द छेत्रीले सम्बोधन गरेका थिए।