पहाड़ आउनअघि अन्तरमन्त्रालय केन्द्रिय टोलीका सदस्यहरूलाई क्वारेन्टिन राख्नुपर्छः विनय

0
1049
विनय तामाङ।

दार्जीलिङ, 22 अप्रेलः विनय तामाङपन्थी गोर्खा जनमुक्ति मोर्चाले अन्तरमन्त्रालय केन्द्रिय टोलीका सदस्यहरूलाई 14 दिनको क्वारेन्टिनमा बसाइएपछि मात्रै पहाड़मा पठाउनपर्ने माग गरेको छ।

पार्टी अध्यक्ष तामाङले आज यहाँ एक पत्रकार सम्मेलनको आयोजन गरी भने, “हाल देशमा लकडाउन चलिरहेको छ। दार्जीलिङ पहाड़ साथै राज्यमा पनि यो नियम कठोरतासित लागू गरिएको छ। जसका कारण अन्तर राज्य मात्रै होइन, अन्तर जिल्लामा पनि मानिसहरू आउजाउ गर्न पाएका छैनन्। तर यस्तो स्थितिमा अन्तर मन्त्रालय केन्द्रिय टोलीका सदस्यहरू दार्जीलिङ पहाड़ आउने भएका छन्। जुन टोलीमा दिल्लीका अधिकारीहरू सामेल छन्। दिल्लीका धेरैवटा स्थानलाई हटस्पट घोषणा गरिएको छ।‘’

दिल्लीबाट आएका ती अधिकारीहरू कसरी सोझै दार्जीलिङ पहाड़ आउन सक्छन् भन्ने तामाङको प्रश्न छ। यसैले उनीहरूलाई केन्द्र सरकारले बनाएको नियम-कानूनअनुसार नै 14 दिनसम्म क्वारेन्टिनमा राखेर मेडिकली फिट घोषणा गरेपछि मात्रै पहाड़मा पठाएको असल हुने उनले बताएका छन्।

“केन्द्र सरकारका दिशानिर्देशअनुसार, कुनै पनि नयाँ स्थानबाट आएका मानिसहरूलाई कम्तिमा 14 दिन क्वारेन्टिनमा राखिएपछि मात्रै आफ्नो घर जाने प्रावधान छ’’, विनयले थप भने, “यसै प्रावधानलाई दार्जीलिङ र कालेबुङको स्थालगत भ्रमण गर्न आउने अन्तर मन्त्रालय केन्द्रिय टोलीका सदस्यहरूलाई पनि 14 दिनको क्वारेन्टिन गर्नुपर्ने गोजमुमोको माग छ।‘’

उल्लेखनीय छ,  केन्द्र सरकारले पश्‍चिम बङ्गालका 7 वटा शहरको कोरोना स्थिति गम्भीर रहेको बताउँदै यी स्थानहरूमा अन्तर मन्त्रालय केन्द्रिय टोली पठाउने काम गरेको छ, जसमध्ये एक टोली दार्जीलिङ र कालेबुङ र जलपाइगढ़ी आउने भएको छ।

तर, यो टोली दार्जीलिङ पहाड़मा प्रवेश गर्नअघि नै गोजमुमोले यस टोलीका सदस्यहरूलाई 14 दिनसम्म क्वारेन्टिनमा राख्नुपर्ने अड्को थापेको छ।

यसैबीच, पार्टी अध्यक्ष तामाङले हिजो केही राष्ट्रिय न्युज च्यानलले कालेबुङ जिल्ला अस्पतालका डाक्टर अनि नर्सहरूमाथि हातपात भएको निराधार खबर प्रसारण गरेको बताउँदै दार्जीलिङ र कालेबुङ जिल्लाका एकैजना पनि डाक्टर वा नर्समाथि अभद्र व्यवहारसम्म नभएको बताएका छन्।

उनले भने, “यी न्युज च्यानलहरूले जुन निराधार समाचारहरू प्रसारण गरे, त्यसको विरोधमा केन्द्रिय सूचना एवं प्रसारण मन्त्रालयसमक्ष पत्र पठाउनेछु। ताकि ती न्युज च्यानलहरूविरुद्ध कठोर कारबाही गरियोस्।’’

यसैगरी उनले हाल दार्जीलिङ जिल्लाअन्तर्गत् पर्ने सिलगढ़ीमा जीटीएले दुईवटा निजी अस्पताललाई आइसोलेशन अस्पतालको रूपमा सञ्चालन गरिरहेको बताए।

तामाङका अनुसार यी दुई अस्पतालमा कार्यरत् डाक्टर र नर्सहरूलाई गोर्खाल्याण्ड टेरिटोरियल एड्मिनिस्ट्रेशन (जीटीए)-ले आफ्नो अधीनमा रहेको पहाड़िया भवनमा राख्ने व्यवस्था मिलाएको छ।

“डाक्टर, नर्स तथा मेडिकल कर्मचारीहरूका लागि यस्तो सुविधा उपलब्ध गराउने जीटीए क्षेत्रमा डाक्टरहरूमाथि हातपात गर्ने कल्पनासम्म पनि गर्न सकिँदैन’’, मोर्चा दोस्रो खेमाका अध्यक्ष विनय तामाङले भने, “यसैले यस्ता आधारहीन समाचारहरू प्रसारण गरेर जनतामा भ्रम फैलाउने कार्य गर्नु कदापि उचित ठहरिँदैन।‘’

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here