कालेबुङ, 22 मई : विमल गुरुङपन्थी गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो)-ले बिहीवार चुनाउ मतगणनाको दिन शान्ति शृङ्खला बनाइराख्ने सबैसँग अपील गरेका छन्। बुधवार कालेबुङमा पछिल्लो लोकसभा चुनाउमा एकबद्ध भएर चुनाउ लड़ेका विभिन्न राजनीतिक दलहरूद्वारा आयोजित संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै विमलपन्थी गोजमुमोका नेता डा. आरबी भुजेलले यस्तो अपील गरेका हुन्।
पत्रकारहरूलाई सम्बोधन गर्दै उनले भाजपाको जीत दाबी गर्नको सट्टा भोलि मतगणनाअवधि र मतगणना सकिएपछि कालेबुङमा शान्ति शृङ्खला बनाइराख्ने अपील गरे। उनले भने, “दार्जीलिङ पहाड़का सबै ठाउँमा भोलि मतगणनाअवधि र मतगणना सकिएपछि पनि शान्ति शृङ्खला यथावत रहोस् भन्ने हामी चाहन्छौं। यसका लागि हामी सबै राजनीति दलका नेतृत्व र कार्यकर्ताहरूलाई निवेदन गर्न चाहन्छौं।”
उनले थपे, “चुनाउ एउटा स्पोर्ट्स हो। मैदानमा अर्लिएपछि विजेता केवल एकजना उम्मेदवार हुनेछन्। जनादेशले दिएको पदको गरिमा र हाम्रो पहाड़ी क्षेत्रको शान्ति शृङ्खला र भाइचाराको गरिमालाई अक्षुण्ण राखेर कुनै प्रकारको उत्तेजित र आवेशमा आएर कुनै कार्य नगरिदिने आफ्नो निवेदन छ। हाम्रो पहाड़ी क्षेत्रमा जुन शान्ति शृङ्खला छ, त्यो यथावत रहोस्।”
चुनाउ समय समय आइरहने हुनाले चुनाउलाई केन्द्र गरी आपसी सम्बन्ध बिगार्ने तथा शत्रुता सिर्जना हुने खालको कुनै पनि कार्य गर्न नहुने कुरामा डा. भुजेलले जोड़ दिएका छन्। उनले पछिल्लो लोकसभा चुनाउ शान्तिपूर्ण भएर पहाड़का मानिसहरूबीचको आपसी सद्भाव र भाइचारा विश्वले देखेकोले यो सद्भाव र भाइचारा मतगणनापछि पनि रहनुपर्ने बताएका छन्।
“चुनाउ जित्ने दलले शहर-बजार र गाउँ बस्तीतिर खुशियाली मनाउने चलन छ। यसैले खुशियाली मनाउँदा अनुशासनलाई पूर्णतय ध्यानमा राखेर आफ्ना साथी र अन्यहरूलाई चोट पुग्ने, मन दुख्ने, कुनै प्रकारको आवेशमा आउने कार्य नगरी मनाइदिने निवेदन हामी हाम्रोतर्फबाट गर्दछौं”, डा. भुजेलले भने।
उनले आफ्नो दलको जीतप्रति भने कुनै दाबी गर्न चाहेनन्। भोलि हुने मतगणनाले जीत-हार स्पष्ट पार्ने भएकोले आजै यसबारे किटान गरी केही भनिहाल्नु उचित नहुने विमलपन्थी मोर्चा नेता डा. आरबी भुजेलले बताएका छन्।