दार्जीलिङ, 22 मईः जीटीए बीओएका अध्यक्ष अनित थापाले दार्जीलिङ, खरसाङ र कालेबुङ शहरका पसलेहरूलाई अझ केही दिनसम्म आफ्ना दोकानहरू बन्द राखेर पहाड़लाई कोरोना सङ्क्रमणको चपेटबाट बचाउने अपील गरेका छन्।
दार्जीलिङ पहाड़लाई कोरोना सङ्क्रमणबाट बचाउन दार्जीलिङ पहाड़का जनता साथै पसलेहरूले जसरी आजसम्म सहयोग गरे, यो सहयोगलाई आगामी 20-25 दिनसम्म जारी राखिदिने पनि उनको अपील छ।
“यदि दार्जीलिङ, खरसाङ, कालेबुङ, मिरिक आदि शहरका पसलेहरूले दार्जीलिङ पहाड़लाई साँचो मनले माया गर्छन् भने अझै 20-25 दिनसम्म दुई दिनअघिसम्मको व्यवस्थाअनुसार चल्नुपर्छ’’, थापाले थपे, “हामी सचेत भएनौं भने हामीलाई पहाड़ बचाउन धेरै गाह्रो पर्नेछ। पुलिस, स्वास्थ्यकर्मीहरू दिन-रात गरी जनताको ज्यान बचाउन खटिरहेका छन्। तरै पनि सिलगढ़ीतिर कोरोना सङ्क्रमितहरूको सङ्ख्यामा वृद्धि भइरहेको छ।‘’
सरकारले लकडाउन खोल्यो भन्दैमा पहाड़वासी आतिनु नहुने उनको भनाइ छ। किनभने, दार्जीलिङ पहाड़लाई बचाउनुपर्छ।
जीटीए बीओएका अध्यक्षले थप भने, “विभिन्न राज्यमा रहेका प्रवासी श्रमिकहरू आ-आफ्ना घर फर्किन थालिसकेका छन्। देशमा रेल सेवाको सञ्चालन शुरू भइसकेको छ। अब हवाई जहाज सेवा पनि चाँड़ै खोलिने भनिन्दैछ। यसैले विगतको तुलनामा हामी अझै बेसी सचेत हुनपर्छ।’’
यस विषयमा पहाड़वासी नै सचेत नभए पहाड़लाई बचाउन गाह्रो पर्ने थापाले बताएका छन्।
यसैले पनि दार्जीलिङ पहाड़का बजारहरू दुई दिनअघि जस्तै व्यवस्थामा चल्नुपर्ने उनले बताएका छन्।
दार्जीलिङ, खरसाङ आदि बजारको स्थिति हेर्दा पहाड़ लगभग धेरै सामान्य बनिसकेको जस्तो लागेको बताउँदै उनले लुगा दोकान, जुत्ता दोकान आदि अहिले नै खोल्न त्यति आवश्यक नरहेको पनि जनाए।
“अहिले दार्जीलिङ पहाड़का जनतालाई लुगा-जुत्ता आदिको उति खाँचो छैन। यसैले यस्ता लुगा-जुत्ता आदिका दोकानहरू खोल्दा दिनभरि बस्नु मात्रै हुनेछ। किनभने, अहिले यस्ता सामान किन्ने ग्राहक आउँदैनन्’’, उनले थपे, ‘‘यसैले केही दिनसम्म आवश्यक सामग्रीहरूका दोकानहरू मात्रै खोलिदिएको राम्रो हुनेछ। यसरी नै आपत्कालीन यातायात सेवा मात्रै चलेको पनि उचित हुनेछ।‘’
थापाका अनुसार सरकारले आ-आफ्नै नियमहरू लागू गर्छन्, तर पहाड़का जनताले एकजुट बनेर पहाड़लाई बचाउने दिशामा कदम बढ़ाउनुपर्छ। किनभने, देशमा अझै कोरोना सङ्क्रमितहरूको सङ्ख्या बढ़िरहेको छ, यसैले हामी सचेत हुनपर्छ।
उनल थप भने, “कुनै कुरा बिग्रिसकेर बुझ्नअघि नै सही कदम उठाएको असल हुनेछ। भोलि काम बिग्रिसकेर दोकानहरू बन्द गर्नुभन्दा अहिले नै दोकानहरू केही दिनसम्म बन्द गरी कोरोनालाई परास्त गर्नु उचित हुनेछ।’’
उल्लेखनीय छ, हिजो बिहीबारदेखि दार्जीलिङ पहाड़का सबै शहरहरू जस्तै दार्जीलिङ, खरसाङ, कालेबुङ आदि 80 प्रतिशतभन्दा अधिक खोलिन थालेका छन्। जसमाथि जीटीए अध्यक्ष अनित थापाले गम्भीर चिन्ता व्यक्त गर्दै यसप्रकारको कार्यले दार्जीलिङ पहाड़लाई पनि कोरोना सङ्क्रमणले गतिलै असर पार्नसक्ने आशङ्का व्यक्त गरेका छन्।