6 महिनाभित्र सिक्किममा फेरि एसडीएफ सरकार बनिनेछ : चामलिङ

0
1173
क्रान्ति दिवसलाई सम्बोधन गर्दै पवन चामलिङ।

गान्तोक, 22 जूनः “राज्यमा हुन गइरहेको तीनवटा निर्वाचन क्षेत्रको उपचुनाउलाई ‘उपचुनाउ’-को रूपमा होइन, ‘फाइनल’ चुनाउको रूपमा लिनुपर्छ। एसडीएफ पार्टी यो उपचुनाउको निम्ति पूर्णरूपमा तयार छ अनि चुनाउ जितेर एसडीएफ पार्टीले सिक्किममा पुनः सरकार गठन गर्नेछ”-यस आशयको मन्तव्य एसडीएफ पार्टीका अध्यक्ष तथा पूर्व मुख्यमन्त्री पवन चामलिङले दिएका हुन्।

उनी शनिबार एसडीएफ पार्टी मुख्यालयमा पूर्व र उत्तर जिल्लाका लागि आयोजित 27औं सम्पूर्ण क्रान्ति दिवस कार्यक्रमलाई सम्बोधन गर्दै थिए।

सम्पूर्ण क्रान्ति दिवस कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, “तीनवटा निर्वाचन क्षेत्रमा चुनाउ जित्नु अब हाम्रो क्रान्ति हुनेछ। हामी जसरी भए पनि तीनवटा निर्वाचन क्षेत्रमा चुनाउ जित्नेछौं। त्यसको निम्ति ज्यानै दिनु परे पनि एसडीएफ कार्यकर्ताहरू तयार हुनुपर्छ। 6 महिनाभित्र सिक्किममा कुनै पनि हालतमा पुनः एसडीएफ पार्टीको सरकार हुनेछ।”

पार्टी कार्यकर्ताहरूलाई आह्वान गर्दै चामलिङले भने, “पवन चामलिङले हरेश खाएको छैन। अब पार्टी कार्यकर्ताहरूले पनि हरेश खानु हुँदैन। हाम्रो मुख्य एजेण्डा भनेको तीनवटा क्षेत्रको चुनाउ जित्नु हो। 6 महिना पनि पर्खिनु पर्दैन। सिक्किममा हाम्रो सरकार हुँदैछ। म त्यसै बसेको छैन। यस विषयमा मैले काम शुरु गरिसकेको छु। एसडीएफ पार्टीको सरकार फेरि आउँदैन भनेर सोच्नेहरूलाई (एसडीएफभित्रका) धोका होला। हामी पुनः फर्किआउँदैछौं।”

मुख्यमन्त्रीको सरकार निवास मिन्तोकगाङमा वर्तमान मुख्यमन्त्री पीएस गोले नबसेको सन्दर्भमा व्यङ्ग्य कस्दै उनले भने, “मिन्तोकगाङ भनेको राज्यका जनताको ‘पावर हाउस’ हो। यो एक ऐतिहासिक ठाउँ हो। आज त्यही ऐतिहासिक पावर हाउसको अपमान गर्ने काम भएको छ। आज मिन्तोकगाङ रुँदैछ। मिन्तोकगाङमा अँध्यारो छ। राति त अँध्यारो हुन्छै-हुन्छ, दिउँसो पनि अँध्यारो भएको छ। पावर हाउस नै अँध्यारो भयो भने राज्य सरकारी उज्यालो हुनसक्छ?”

मुख्यमन्त्री पीएस गोलेले दिल्लीमा केन्द्रिय नेतृत्वहरूलाई भेटेर सिक्किमको लागि धनराशिको माग गरेको अनि सिक्किमलाई 8000 करोड़ रुपियाँ ऋण रहेको बताएको विषयमा प्रतिक्रिया जनाउँदै चामलिङले भने, “वर्तमान मुख्यमन्त्रीले दिल्लीमा सिक्किमको बद्नाम गर्दैछन्। सिक्किमलाई 8000 करोड़ रुपियाँ ऋण छैन। हो म मान्छु, 6000 करोड़ रुपियाँ ऋण छ। यस्तो ऋण सबै राज्यको हुने गर्छ। देशमा सबैभन्दा कम ऋण भएको राज्य सिक्किम हो, तर ऋण छ भन्दैमा सिक्किमको निम्ति यति हजार करोड़ रुपियाँ अनुदान दिनुपर्छ भन्ने अवस्था सिक्किममा छैन। केन्द्र सरकारसँग अनुदान माग्दा पनि प्रक्रियाअन्तर्गत माग्नुपर्छ, तर वर्तमान मुख्यमन्त्रीले मन्त्री भेट्दै अनुदान माग्दैछन्। उनले कुनै लिखित दस्तावेज दिएका छैनन्। योभन्दा ठूलो अपमान सिक्किमको लागि अरू के हुनसक्छ?”

एसडीएफ सरकार पुनः गठन गर्ने सन्दर्भमा बोल्दै उनले भने, “धेरैले भन्छन्, सिक्किममा एकचोटि सरकार गएपछि फेरि फर्किँदैन, तर यो अवधारणा गलत हो। नरबहादुर भण्डारीको पनि एकचोटि सरकार गएको थियो। उनी फर्केका थिए। दोस्रोचोटि उनी फर्किआउन सकेनन्, तर हामी दोस्रो, तेस्रोचोटि मात्र होइन, धेरैचोटि फर्किआउनेछौं। पवन चामलिङ रेकर्ड ब्रेकर नेता हो। म रेकर्डलाई ब्रेक गर्छु। 15 वर्ष अझै सक्रिय राजनीति गर्छु। अहिले विपक्षमा बसेर पनि कसरी काम गर्नुपर्छ, म देखाइदिनेछु।”

वर्तमान सरकारमाथि व्यङ्ग्य कस्दै उनले भने, “अहिले सिक्किममा सरकार कहाँ छ? सरकार हुन्थ्यो भने त 25 दिनभित्र धेरै काम भइसक्नु पर्थ्यो। अहिले केही काम भएको छैन। हाम्रै योजनाहरूलाई अघि बढ़ाउने काम मात्र भइरहेको छ अनि अधिसूचना मात्र जारी गरिँदैछ।”

लिम्बू-तामाङको सीट सन्दर्भमा बोल्दै चामलिङले भने, “वर्तमान सरकारले 32 सीटबाटै लिम्बू-तामाङलाई पाँच सीट दिनुपर्ने प्रस्ताव केन्द्र सरकारलाई दिएको छ। यो हामी कदापि मान्ने छैनौं। 32 सीटबाट पाँच सीट दिएर बहुसङ्ख्यक नेपालीहरूलाई अन्याय गर्ने कामलाई एसडीएफ पार्टीले सहन गर्नेछैन। यसका निम्ति हामी लड़िरहेका छौं र सधैं लड़िरहनेछौं। यो सरासर बहुसङ्ख्यक नेपालीहरूलाई जिउँदै गाड्ने काम हो।”

कार्यक्रमलाई सम्बोधन गर्दै एसडीएफ प्रवक्ता तथा युवा प्रभारी एमके सुब्बाले एसडीएफ पार्टीले आजदेखि नयाँ क्रान्ति शुरु गरेको बताए। उनले भने, “अब हामी नयाँ क्रान्ति शुरु गर्नेछौं अनि एसडीएफ पार्टी के हो भन्ने सिक्किमे जनतालाई प्रमाण गरेर देखाउनेछौं।”

मुख्यमन्त्री पीएस गोलेले मिन्तोकगाङमा नबस्ने निर्णयप्रति व्यङ्ग्य कस्दै सुब्बाले भने, “मिन्तोकगाङमा बस्नका निम्ति आँट चाहिन्छ। त्यो आँट गोलेसँग छैन।” कार्यक्रमलाई एसडीएफका धेरै युवा नेतृत्वहरूले पनि सम्बोधन गरेका थिए। कार्यक्रमपछि एसडीएफ अध्यक्ष चामलिङले आफ्नो कार्यालयमा पार्टीका विभिन्न स्तरका नेताहरूसँग छुट्टा-छुट्टै बैठक गरे।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here