दार्जीलिङ, २२ जूनः दार्जीलिङ पहाड़मा १०० बेड रहेको प्रथम कोभिड अस्पतालको आज विधिवत उद्घाटन भएको छ।
जीटीए बीओएका अध्यक्ष अनित थापाले आज टिस्टा त्रिवेणीमा निर्माण गरिएको कोभिड-१९ अस्पतालको उद्घाटन गर्दै यसले दार्जीलिङ पहाड़का जनतालाई धेरै फाइदा पुग्ने बताए।
राज्य सरकारको सहयोगमा निर्माण गरिएको यस अस्पतालमा १५० बेड रहे तापनि हाल यहाँ १०० वटा बेडलाई मात्रै प्रयोगमा ल्याइने उनले बताए।
थापाले भने, “देशका विभिन्न स्थानबाट हाम्रा मानिसहरू आ-आफ्ना घर फर्किन थालेपछि नै दार्जीलिङ पहाड़मा पनि कोभिड अस्पतालको निर्माण हुनैपर्छ भन्ने लागेको थियो। यसैले हामीले राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीसँग दार्जीलिङ पहाड़मा तीनवटा कोभिड अस्पताल निर्माण गर्नेबारे कुरा गरेका थियौं, जसलाई मुख्यमन्त्रीले पूर्ण सहमति जनाएर पहाड़मा तीनवटै अस्पताल निर्माण गर्ने अनुमति पनि प्रदान गरेकी छन्, जसमध्ये एउटाको आज उद्घाटन गरिएको हो।’’
करिब डेढ़ महिनाको अवधिमा दार्जीलिङ र कालेबुङको फेदमा अवस्थित त्रिवेणीमा कोभिड अस्पताल निर्माण गर्न सफलता पाएकोमा खुशी व्यक्त गर्दै उनले यहाँ कोभिड ४ स्तरसम्मका रोगीहरूको उपचार हुनसक्ने व्यवस्था रहेको पनि बताए।
थापाले थपे, “हामीले यहाँको सफाइ, स्वास्थ्यकर्मी, उपचारका लागि आउने रोगीहरूका साथै अन्य कर्मचारीहरूको खानामाथि विशेष ध्यान दिनेछौं।’’
यसैगरी उनले यस अस्पताललाई जीटीएले छोटो समयमा ल्याएको ठूलो उपलब्धि बताए।
यसैबीच, जीटीएका मुख्य सचिव सुरेन्द्र गुप्तले हाल यस अस्पतालमा तीनवटा भेन्टिलेटर, स्वाब टेस्टको व्यवस्था, डायलसिसको सुविधाका साथै पर्याप्त स्वास्थ्यकर्मी, डाक्टर उपलब्ध रहेको पनि जनाए।
हाल कोभिड २ स्तरका लागि निर्माण भएको यस अस्पताललाई कोभिड ४ स्तरसम्म बढ़ोत्तरी गर्न सकिने प्रावधानहरू रहेको पनि उनले जनाए, जहाँ हाल कोरोना सङ्क्रमणको लक्षण भएकाहरूलाई भर्ना गरी उपचार गरिने भएको छ।
उल्लेखनीय छ, हालसम्म दार्जीलिङ पहाड़ अनि कालेबुङ क्षेत्रका सम्पूर्ण कोरोना सङ्क्रमितहरूलाई उपचारका लागि सिलगढ़ीका डा. च्याङ सुपर स्पेशियलिटी अस्पताल, उत्तर बङ्गाल मेडिकल कलेज एवं अस्पताल अनि दिसन अस्पतालमा नै लानुपर्ने बाध्यता थियो। तर, अब दार्जीलिङ पहाड़ अनि कालेबुङका कोरोना सङ्क्रमितहरूलाई त्रिवेणीको यसै अस्पतालमा उपचार गर्न सकिने भएको छ।
यसअवसरमा राज्यसभा सांसद शान्ता छेत्री, गोजमुमो दोस्रो खेमाका अध्यक्ष विनय तामाङलगायत अन्य पनि उपस्थित थिए।