घिसिङलाई स्मरण गर्दै अजय एड्वर्डले भने- उनको सपनालाई हामी युवा जमात पूरा गर्नुपर्छ

1
1017
अजय एड्वर्ड।

दार्जीलिङ, २२ जूनः  गोरामुमोका संस्थापक अध्यक्ष स्व. सुवास घिसिङले जाति र माटोका लागि देखेका सपना पूरा गर्नका लागि युवा जमात सङ्कल्पित बन्नुपर्ने दार्जीलिङ ब्राञ्च कमिटीका अध्यक्ष अजय एड्वर्डले आह्वान गरेका छन्।

स्व. घिसिङको ८५औँ जन्मदिनमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो आह्वान गरेका हुन्।

“हाम्रो जाति, हाम्रो जग्गा र अन्य जातिका लागि उनका जुन सपना थियो, त्यो सपनालाई हामी युवा जमातले पूरा गर्नेछौं भन्ने म वचन दिन्छु”, उनले थपे, “उनका सपनालाई हामीले पूरा गर्नुपर्छ।”

एड्वर्डका अनुसार घिसिङले आफ्नो कार्यकालमा गोर्खा जातिका स्वाभिमानलाई सधैँ उच्च राख्ने कार्य गरे। अहिलेजस्तो बङ्गालको ढलिमली दार्जीलिङमा थिएन।

यसअवसरमा उनले दार्जीलिङमा गोजमुमोको कार्यकालको पनि तीखो शब्दमा निन्दा गरे।

‘’२१ वर्ष गोरामुमोका जन्मदाता सुवास घिसिङले दार्जीलिङ पहाड़मा शासन गर्दा दार्जीलिङ पहाड़मा बसोबास गर्ने सबै जातिको स्वाभिमान थियो। यहाँ केन्द्र सरकार होस् कि राज्य सरकारले दार्जीलिङमा हस्तक्षेप गर्नु ठ्याक्कै पाउँदैन थियो’’, अजय एड्वर्डले थपे, “तर पछिल्लो १०-१२ वर्ष हाम्रो जातिका लागि व्यर्थै खेरो गएको छ। किनभने ८६ भन्दा अघि जस्तो थियो, आज पनि त्यस्तै छ। यो जग्गामा फेरि राज गर्ने बङ्गाल सरकार नै भएको छ।”

यसअवसरमा उनले सुवास घिसिङले पहाड़मा गरेको विकासको बखान पनि गरे। उनको दाबीका अनुसार आजका दिनमा पहाड़का कुना काप्चामा खनिएका सबै बाटा सुवास घिसिङले कार्यकालमा खनिएको हो।

यसको उल्टो जीटीएमा प्रतिवर्ष ६०० करोड़ आउँदा नयाँ बाटो निर्माण गर्न त परै जाओस्,  पुराना बाटाहरूको मरम्मती समेत नगरिएको  यी गोरामुमो नेताले आरोप लगाए।

“पहाड़मा आज कुनै त्यस्तो ठाउँ छैन, जहाँ सुवास घिसिङ नपुगेको, त्यहाँ बाटो, सामुदायिक भवन र पिउने पानीको व्यवस्था नगरिएको”, उनले थपे, “हाम्रो पार्टीका संस्थाप अध्यक्ष इमानदार थिए। भ्रष्टाचार उनले कहिल्यै गरेनन्। त्यसैले उनका अन्तिम दिनमा पैसाको कति खाँचो थियो। तर यो पछिल्लो १०-१२ वर्षमा भ्रष्टाचारबाहेक अरू केही भएन। यो समयमा सिंहमारीदेखि सिङ्लासम्म एउटा बाटो बनायो होला, तर ठोस काम के गरेको छ?”

अर्कोतिर, आज सुवास घिसिङको जन्मदिनको अवसरमा  गोरामुमो जनचेतना सङ्घर्ष समिति र गोरामुमो दार्जीलिङ टाउन कमिटीले कोरोना भाइरसविरुद्धको लड़ाइँमा अग्रिम पङ्क्तिमा रहेर कार्य गर्ने योद्धाहरूलाई मिठाइ बाँड़ेर सम्मान जनाएका थिए।

1 टिप्पणी

  1. खै भनेर सान्तवना लिएको मात्रै होकी खोक्ने सक्षमता रहेको ले बोलेको मात्र होकी त्यो भन्दै गरेको सपना पूरा गर्ने उद्देश्यमा केही गर्न लागेको त देखिएको छैन।🤔

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here