कालेबुङ, २२ जूनः राज्यका पीएचई मन्त्री पुलोक रायसँग भेटवार्तापछि कालेबुङका विधायक रुदेन सादा लेप्चाले कालेबुङवासीले भोगिरहेका पानीको समस्या समाधान हुने दावी गरेका छन्।
आज उनले मन्त्री रायसँग भेट गरी कालेबुङको पानीको समस्याबारे लामो चर्चा गरेका थिए। स्वयं उनले एक विज्ञप्ति जारी यसबारे जानकारी गराएका छन्। रुदेनका अनुसार मन्त्री पुलोक रायले थुक्छुकदेखि कालेबुङसम्म आउने पानीको लाइन प्रोजेक्टलाई हरियो झण्डा देखाएका छन्।
“अब स्थायी रूपमा कालेबुङको पानीको समस्या समाधान हुनेछ”, उनले दावी गरेका छन्, “मन्त्री पुलोक रायले कालेबुङको पानीको समस्या विषय गम्भीरता देखाएका छन्।”
विधायकका अनुसार मन्त्रीले पीएचईका मुख्य अभियन्तासँग बैठक गरे। साथै आउँदो सात दिनभित्र जीटीए र पीएचईलाई संयुक्त रिपोर्ट बुझाउने आदेश दिएको र रिपोर्टकै आधारमा प्रोजेक्टलाई स्वीकृति दिने रुदेनको भनाइ छ।
उनले विज्ञप्तिमा भनेका छन्, -कालेबुङ जिल्लाअन्तर्गत ४२ वटा ग्राम पञ्चायत छ। कुनै पनि ग्राम पञ्चायतमा पानीको समस्या छ भने समस्या समाधान गर्न विभाग तत्पर रहेको मन्त्रीले वचन दिएका छन्। यो कालेबुङ जिल्लावासीका लागि शुभ खबर हो।‘
विज्ञप्तिमा रूदेन सादा लेप्चाले थप जानकारी गराएअनुसार कालेबुङको पानीको समस्या समाधान गर्न उनी स्थलगत निरीक्षण गर्न थुक्चुक पुगेका थिए। पानीको मुहानदेखि लिएर सम्पूर्ण पाइप लाइनको निरीक्षण गरेका थिए। साथै कुन लाइनमा कहाँबाट नयाँ लाइन जोड़िनुपर्ने, त्यसको पनि नयाँ विकल्प खोजेका थिए। त्यसै अनुसन्धानको आधारमा डीपीआर तयार पारेर विभागमा पठाइएको थियो। र त्यसैको आधारमा आज मन्त्री पुलोक रायसँग भेटवार्ता गरेको उनले थप बताएका छन्।