कालेबुङ, 22 जुलाई : केही दिनअघि सिलगढ़ीमा एक ऱ्याली र पथसभाको आयोजन गरी आमरा बङ्गाली नामक सङ्गठनले दिएको गोर्खा र गोर्खाल्यान्डविरोधी बयानविरुद्ध सोमबार विनयपन्थी युवा मोर्चा कालेबुङ जिल्ला कमिटीले शहरका विभिन्न स्थानमा पोस्टरिङ गरेको छ।
पोस्टरमा आमरा बङ्गालीको बयानको विरोध गर्नका साथै केन्द्र सरकारले गोर्खाल्यान्ड राज्य गठन गर्नुपर्ने माग पनि गरेको छ। यसका साथै उक्त सङ्गठनको बयानमा सांसद् राजु विष्ट र विधायक नीरज जिम्बा मौन रहेको भन्दै यी दुईप्रति प्रश्नसमेत गरेको छ।
पोस्टरमा भनिएको छ- ‘गोर्खा जातिलाई आमरा बङ्गालीले विदेशीको लाञ्छना लगाउँदा सांसद् राजु विष्ट र नीरज जिम्बा किन मौन?’ त्यस्तै अर्को पोस्टरमा लेखिएको छ, ‘आमरा बङ्गालीको विरोध र गोर्खाल्यान्डको पक्षमा दार्जीलिङका सांसद राजु विष्टको अगुवाइमा सिलगढ़ीमा ऱ्याली निकाल्ने आँट गरुन्।’
पोस्टरमा गोर्खालाई विदेशीको लाञ्छना लगाउने आमरा बङ्गालीको ऱ्यालीको युवा मोर्चा (विनयपन्थी)-ले घोर विरोध जनाउने साथै गोर्खाल्यान्ड गठन गर्नका लागि सांसद राजु विष्टले झट्ट पहल गर्नुपर्ने थप माग गरिएको छ।
‘गोर्खाल्यान्डको पक्षमा यदि बीजेपी अहिले पनि छ भने यथाशीघ्र गोर्खाल्यान्ड राज्य गठन गरुन्’, पोस्टरमा माग गरिएको छ, ‘पटक पटक विदेशीको लाञ्छनाको एउटै औषधि गोर्खाल्यान्ड। केन्द्र सरकार गोर्खाल्यान्ड देऊ।’
अर्कोतिर, यसबारे बोल्दै विनयपन्थी युवा मोर्चा (विनयपन्थी) केन्द्रिय समितिका सहसचिव इमान चामलिङले भने, ‘देशको स्वाधीनता र त्यसपछि पनि देशको सुरक्षाका प्राणको आहुति दिने गोर्खाहरूलाई फेरि विदेशीको लाञ्छना लगाउने काम गरेको छ। यसैले बङ्गाल सरकार र बङ्गाल प्रशासनले गोर्खाहरूलाई विदेशीको लाञ्चना लगाउने सङ्गठनका मानिसहरूविरुद्ध कठोर कारबाही गरिएको हुनुपर्छ।’
चामलिङले आफूहरूले गोर्खाल्यान्डको विरोध नगरेर असंवैधानिक र रणनीतिबिनाको आन्दोलनलाई स्थगित मात्र गरेको दाबी गरे। ‘गोर्खाल्यान्डलाई हामीले त्यागेको छैनौं’, उनले थपे, ‘छुट्टै राज्य भारतको संविधानले दिएको हो। हामी संवैधानिक लड़ाइँ लड़्न तयार हुँदैछौं।
उनले गोर्खाहरूलाई उक्साएर फेरि पहाड़ अशान्त गराउने षड़यन्त्र पनि हुनसक्ने उनले बताएका छन्। हामी गोर्खाल्यान्डका लागि संवैधानिक लड़ाइँ गर्छौं। यसका लागि हामी तयार हुँदैछौं। हामी कुनै पनि हिंसाको माध्यमद्वारा गोर्खाल्यान्ड आन्दोलन गर्नेछैनौं।’
चामलिङले भारतभरि छरिएर बसेका गोर्खाहरूमाथि कुनै समुदायले विदेशीको लाञ्छना लगाउँदैछ भने संसदमा बोल्नुपर्ने दार्जीलिङका सांसद राजु विष्टको जिम्मेवारी रहेको पनि बताए। यसका साथै गोर्खा जातिलाई विदेशीको लाञ्छना लगाउने सङ्गठन र समुदायविरुद्ध सांसद विष्टले संसदमा कारबाहीको मागमा आवाज उठाउनुपर्ने उनको भनाइ छ।
साथै विनयपन्थी युवा मोर्चा केन्द्रिय सहसचिव इमान चामलिङले शान्तिपूर्ण र गणतान्त्रिक ढङ्गमा गोर्खाल्यान्ड आन्दोलन गर्न अघि आउने दार्जीलिङ पहाड़का युवाहरूलाई आह्वान गरे।
(1) माननीय सांसद श्री राजु बिष्ट ज्यूले यु.मो.ले उठाएका सही माग र प्रश्नहरुका उत्तरहरु पनि कुनै न कुनै रुपमा त दिनु नै होला। तर यहाँ सांसद बिष्टज्यूलाई कज्याँउनुलाई मात्र प्रश्न उठाईएको हो भने पनि वहाँ र भाजपालाई केही फरक पर्ला र ?
(2) रुग्ण र बन्द चिया कमानहरूलाई केन्द्र सरकारले राष्ट्रियकरण गराउने माग
(3) केन्द्र सरकारले चिया उद्योगलाई विकास गर्नुको निम्ति स्वतंत्र र छुट्टै ” चिया मंत्रालय ” को गठनको माग केन्द्र सरकार समक्ष सांसदलाई उठाउनु लाउने अनुरोध गर्नु पर्दछ।