गृहमन्त्रीले 15 दिनभित्र त्रिपक्षीय वार्ता शुरू गर्ने आश्वासन दिएको विमलपन्थी मोर्चाको दाबी

0
1384

दार्जीलिङ, 22 जुलाईः गृहमन्त्री अमित शाहले हिजोको भेटवार्तामा अबका 15 दिनभित्र त्रिपक्षीय वार्ता शुरू गर्ने आश्वासन दिएको विमल गुरुङपन्थी गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो)-को दाबी छ।

हिजो साँझ विमलपन्थी मोर्चाका साङ्गठनिक सचिव निमा तामाङ र केन्द्रिय समिति सदस्य डा. बिनु सुन्दास सम्मिलित एक प्रतिनिधि टोलीले गृहमन्त्री शाहलाई उनको कार्यालयमा भेट गरेको थियो।

यसै भेटवार्तामा गृहमन्त्रीले आउँदो 15 दिनभित्रमा केन्द्र सरकार, राज्य सरकार र गोर्खा जनुमक्ति मोर्चा (विमलपन्थी)-माझ त्रिपक्षीय वार्ता शुरू गर्ने निर्णय लिएको एक प्रेस विज्ञप्ति जारी गरी निमा तामाङले दाबी गरेका छन्।

‘गृह मन्त्रीको भनाइ अनुसार त्रिपक्षीय वार्ताको पहिलो सभा उनको कार्यालयसँग हुनेछ। छुटेका 11 जातगोष्ठीलाई जनजातिको मान्यता दिने पहल पनि यही बैठकमा शुरू गरिनेछ। साथै त्रिपक्षीय वार्तामार्फत् नै दार्जीलिङ पहाड़, तराई र डुवर्सको स्थायी राजनीतिक समाधानको सूत्र निकाल्न आफू वचनबद्ध रहेको गृहमन्त्रीले टोलीलाई जनाएका छन्’, विज्ञप्तिमा भनिएको छ।

विज्ञप्तिमा थप दाबी गरिए अनुसार गृहमन्त्री शाहले आफ्नो कार्यालयलाई भोलि अर्थात् 23 जुलाईभित्र राज्य सरकार र गोर्खा जनमुक्ति मोर्चा (विमलपन्थी)-लाई त्रिपक्षीय वार्ता विषयमा पत्राचार गर्ने निर्देश दिएका छन्।

यसअवसरमा प्रतिनिधि टोलीले शाहसँग भाजपाले सङ्कल्प-पत्रमा उल्लेख गरिएका गोर्खाहरूका मुद्दाबारे विस्तृत रूपमा चर्चा गरेको तथा यस विषयलाई स्मरण गराउँदै एक ज्ञापन पनि चढ़ाएको बताइएको छ।

निमा तामाङले विज्ञप्तिमा थप उल्लेख गरेअनुसार गोर्खाहरूले भोग्दै आएका दीर्घकालीन समस्याहरूको समाधान गर्न आफू इच्छुक रहेको पनि शाहले बताएका छन्।

भेटवार्ताअवधि भाजपाका राष्ट्रिय महासचिव भूपेन्द्र यादव पनि उपस्थित थिए।

‘गोर्खा जनमुक्ति मोर्चाको पक्षबाट गृहमन्त्री अमित शाह र भाजपाका राष्ट्रिय महासचिव भूपेन्द्र यादवलाई भारतीय गोर्खाहरूको दीर्घकालीन समस्या गम्भीर रूपले बुझिदिएकामा साथै यथाशीघ्र समाधान गर्न तत्परता देखाएकामा हामी धन्यवाद टक्राउँदछौं’, विज्ञप्तिमा तामाङले भनेका छन्, ‘आउने त्रिपक्षीय वार्ताले भारतभरि छरिएर बसेका सम्पूर्ण गोर्खा समुदायमा खुशीको लहर ल्याउनेछ भन्ने कुरामा हामी विश्वस्त छौं।’

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here