जीटीए पहाड़को जनाकांक्षा होइन, यसलाई चाँड़ो खारेज गरिनुपर्छ : गोरामुमो

0
1436
दागोपाप सम्झौता दिवसको अवसरमा जीटीएविरुद्ध पोस्टरिङ गर्दै गोरामुमो कार्यकर्ताहरू।

दार्जीलिङ, २२ अगस्त : दागोपाप सम्झौता दिवसको अवसरमा  गोर्खा राष्ट्रिय मुक्ति मोर्चा (गोरामुमो)-ले जीटीएलाई यथाशीघ्र खारेज गर्नुपर्ने मागलाई चर्को बनाएको छ।

बिहीवार गोरामुमोले दार्जीलिङ पहाड़का विभिन्न स्थानमा गोरामुमोले दागोपाप सम्झौता दिवस पालन गऱ्यो। दागोपाप सम्झौता दिवसको निहुँमा गोरामुमोको ‘मेन टार्गेट’ जीटीएलाई बनाएको छ।

‘पहाड़मा चलिरहेको असंवैधानिक जीटीएलाई सरकारले चाँड़ोभन्दा चाँड़ो खारेज गर्नुपर्छ’, गोरामुमो दार्जीलिङ ब्राञ्च कमिटीका महासचिव सन्दीप लिम्बूले थपे ‘किनभने पहाड़को जनाकांक्षा यो जीटीएले आजसम्म पूर्ण गर्नसकेको छैन।’ लिम्बूका अनुसार जीटीएले अहिलेसम्म केवल समस्या सिर्जना गरेको छ।

‘समस्याको जड़ जीटीएलाई जतिसक्दो चाँड़ो सरकारले खारेज गर्नुपर्छ। र, पहाड़को स्थायी राजनीतिक समाधान नभइञ्जेलसम्म सरकारले जीटीएको बडीमा वरिष्ठ अधिकारीलाई राख्नसक्नेछ’, उनले थपे, ‘जीटीएमा सरकारले जुन राजनीतिक व्यक्तिलाई नियुक्त गरेको छ, हामी त्यसलाई जोड़तोड़ले विरोध गर्नेछौं।’

लिम्बूका अनुसार पछिल्ला लोकसभा र विधानसभा चुनाउमा पहाड़का जनताले जीटीएको विरोधमा मत दिइसकेकोले सरकारले जनाकांक्षालाई कदर गरी जीटीएलाई खारेज गर्नका साथै स्थायी राजनीतिक समाधानका लागि कुराकानी शुरु गर्नुपर्छ। आज यसै मागमा गोरामुमोले पहाड़का विभिन्न स्थानमा पोस्टरिङ गर्नका साथै विभिन्न खण्ड विकास कार्यालयका अधिकारीहरूलाई ज्ञापनसमेत चढ़ाएको उनले जनाए।

एक प्रश्नको उत्तरमा उनले गोरामुमोले पहिलादेखि नै जीटीएको विरोध गर्दै आएकोले जीटीए चुनाउमा भाग लिने कुनै प्रश्न नरहेको पनि बताए। ‘पहाड़को जनाकांक्षा पूरा गर्नै नसक्ने जीटीएको चुनाउको विचार पनि गरेका छैनौं। किनभने हामी जीटीएको विरोधमा छौं। हाम्रो पहाड़ जीटीएको विरोधमा छ’, गोरामुमो नेता सन्दीप लिम्बूले थपे।

यसैबीच जनाकांक्षालाई कदर गरेर सरकारले जीटीएलाई खारेज गर्नेछ भन्ने कुरामा गोरामुमो विश्वस्त रहेको  लिम्बूको भनाइ छ। अर्कोतिर उनले ‘जीटीएको आयु नभएको पनि ठोकुवा गरे। यी गोरामुमो नेताले भने, ‘जस्तो प्रकारले दिल्लीमा सरकारले काम गरिरहेको छ। र, पहाड़का जनप्रतिनिधिले जुन प्रदर्शन देखाइरहेका छन्। त्यसको कारण मलाई लाग्छ, २०२० सम्म हामीले पर्खिन पनि पर्दैन।’

स्थायी राजनीतिक समाधानका लागि आफूहरू इमानदारपूर्वक लागिपरेको ठोकुवा गरेका सन्दीप लिम्बूले यसका लागि एक प्रतिनिधि टोली दिल्ली गइ चाँड़ै केन्द्र सरकारसँग भेटवार्ता गर्ने पनि जनाए। उनले दार्जीलिङ पहाड़का लागि स्थायी राजनीतिक समाधान छैटौं अनुसूचीभन्दा माथिको हुनुपर्ने मागलाई पनि दोहोऱ्याए।

उल्लेखनीय छ,  गोरामुमोले आज दार्जीलिङ पहाड़का विभिन्न स्थानमा दागोपाप सम्झौता दिवस पालन गऱ्यो। यसअवसरमा यो पार्टीले जीटीए खारेजीको मागमा आज दार्जीलिङ-कालेबुङलगायत विभिन्न स्थानमा पोस्टरिङ गर्नका साथै खण्ड विकास अधिकारीहरूलाई ज्ञापन सुम्पिने काम गऱ्यो। पोस्टरमा पहाड़को स्थायी राजनीतिक समाधानका लागि जीटीएलाई बाधा बताइएको छ।

स्मरण रहोस्, आज दागोपाप सम्झौता दिवस मनाएको गोरामुमोले भोलि नागरिक दिवस मनाउनेछ। जानकारीका अनुसार गोरामुमोले पहाड़का विभिन्न स्थानमा नागरिक दिवस पालन गर्नेछ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here