सिलगढ़ी, 22 अगस्त : बालासन नदीमा पिकनिक खेल्न गएका एक व्यक्ति डुबेर मृत्यु भएको घटना प्रकाशमा आएको छ। मृतक व्यक्तिको नाम प्रदीप दे रहेको पानीघट्टा थानाका अधिकारी तपन दासले बताएका छन्। प्रदीप दे सिलगढ़ीको शक्तिगढ़स्थित अशोक नगरनिवासी थिए।
जानकारीका अनुसार यो घटना बुधवार साँझ 6 बजे पानीघट्टा पुलिस थानाअन्तर्गत फुतालीनजिक भएको हो। दे आफ्ना साथीहरूसँग पिकनिक खेल्नका लागि बालासन नदी गएका थिए। घटनाबारे स्थानीय मानिसहरूले तत्कालै पानीघट्टा थानालाई सूचित गरेका थिए।
यससम्बन्धमा बोल्दै पानीघट्टा पुलिस थानाका प्रभारी अधिकारी तपन दासले बताएअनुसार बालासन नदीमा एक व्यक्ति डुबेको टेलिफोनिक जानकारी प्राप्त भएपछि तत्कालै पुलिसबल डुबेका उक्त व्यक्तिको खोजीकार्यमा जुटेको थियो।
पुलिसले केही तल्तिर फुताली नजिक प्रदीप देलाई बेहोश अवस्थामा भेट्टाएपछि तत्कालै उत्तर बङ्गाल मेडिकल कलेज एवं अस्पताल पुर्याइएको थियो, जहाँ चिकित्सकहरूले प्रदीप देलाई मृत घोषित गरे।