-विनीता छेत्री
तीन दिन चार रातदेखि परिरहेको मुसलधारे पानी अलिक थोरै अर्थात छाता ओडेर हिँड्न सक्ने भएपछि घरदेखि निस्कन्छु म तिरपल लिन भनी ब्लक अफिसतिर।
“एकपल्ट अफिस निस्किनुस् न दाजु पैह्रोको फोटो पनि मोबाइलमा खिचेर ल्याउनुस् म बडाबाउसँग एकपल्ट भेटाइदिउँला”, सन्दिप भाइले यति भनेका थिए हिजो। उसकै भरोसामा जाँदैछु अहिले।
हुन पनि निदाउन खोज्छु घरी पलङ हल्लिए जस्तो; घरी कोही चिच्याए जस्तो, एक प्रकारको भुट्भुटी लागिरहन्छ मनमा। छेउमा भर्खरै निदाएकी सङ्गीतालाई नियालेर हेर्छु अनि सम्झन्छु उनको बढ़्दै गरेको पेटभित्रको हाम्रो मायाको निशानी। मेरो पहिलो सन्तान। यिनीहरूबिनाको जीवन कल्पना गर्न नि सक्दिनँ म।
मलाई झन् उकुसमुकुस भएर आउँछ; के गरौँ कसो गरौँ आधा रात छट्पटीमै बित्छ मेरो। दिउँसो अलिकति धस्केको भान्साघर स्वात्त बगाएर लग्यो भने थर्केर ठूलो घर पनि जाने हो कि! यस्तो जीउमा मेरी सङ्गीतालाई लिएर कहाँ भाग्नु म राति हुँदो।
”केही हुँदैन अलिकति धस्केको मात्र हो, तिमी नझर यहाँ सिँढीमा लेउ लागेको छ लड्छौ”
दिउँसो भान्साघरमुनि ढिस्कना झरेको हेर्न उनी पनि तम्सिँदै गर्दा यसरी कराएको थिएँ तलदेखि।
वास्तवमा उनी पहिरो जाँदै गरेको देखेर नडराऊन् भनेर मैले त्यसो भनेको हुँ। भान्साघर वरिपरि चर्किएका जमिनको एकछेउबाट ढुङ्गा माटो सँगसँगै लड्दै बग्दै गरेको देख्दा मेरै पनि आङ सिरिङै भएर आँखा अघि एकछिन अन्धकार भए जस्तै लागेको। धन्न सङ्गीताले चाहिँ देख्न पाइनन्। वरिपरिका दाजुभाइहरू आएर हतार हतार पोहोरको तिरपलले छोपछाप पार्न सघाइदिए।
“प्रकाश आज तिमेरु यतै खाउ है बेलुकी। दु:ख-सुख जे जस्तो भए पनि मिठो मानेर खानु। बुहारीलाई आज भान्साघरमा पस्न न दे है। ठूलो घरमा नि डर छ भने आज यतै सुत्नु” माथिल्लो घर छेमाले खिड्कीबाटै कराएकी थिइन्।
”होइन छेमा यतापट्टि त केही भाको छैन।“ सङ्गीताको अनुहारको चिन्ता मेटाउनलाई पनि बडीलाई सहज रूपले जवाब दिएँ।
बिहान पनि ओछ्यानमै चिया खाजा बोकेर आइन् छेमा। सङ्गीतालाई देख्दा छेमालाई सायद आफू आमा हुनु लाग्दा अथवा हुँदाका भोगाइहरूका सम्झना आउँदो हो। त्यसैले पनि सधैँ मिठो मसिनो पकाएर खुवाइरहन्छिन्।आमा त आखिर आमै हुन्छिन्।
अब अर्को तिरपल ल्याएर ठूलो घरमुनि छोप्न बाँकी रह्यो। यस अघि जीवनमा यतिका छट्पटीसँग उज्यालोको प्रतीक्षा पहिले कहिले गरेको थिएँ जस्तो मलाई लाग्दैन। कसरी बिताए मैले त्यो रात…….
“ए! दाजु एकछिन लाइनमा बस्दै गर्नुस् है”, सर आइपुग्नु भाको छैन; आएपछि एकैछिनमा भइहाल्छ“, भनेर भित्र पस्दै गरेका सन्दीप भाइ फेरि फनक्क फर्केर सोध्छ “दाजु एप्लिकेसन ल्याउनु भाको छ?”
“हजुर भाइ”, हतार हतार झोला खोलेर डाइरीमा च्यापेको एप्लिकेसन भाइलाई देखाउँछु। भाइ निर्धक्क भएर भित्र पस्छ।
मेराअघि सातजना जति मानिस अघिदेखि लाइनमा उभिरहेका छन् भने पछि पनि थपिने क्रम जारी नै छ। खिड्कीको भित्रतिर यसो नजर घुमाउँछु कम्तीमा पनि पचासवटा जति तिरपल देख्छु। तर, दश बज्न लाग्दासम्म बाँड्ने मान्छे चाहिँ आइपुगेका छैनन्।
एक सय पाँच दिनको बन्द चलिरहेकै छ। बजार प्राय: सुनसान छ। पानीले गर्दा जुलुस पनि केही दिनलाई स्थगित गरियो या मान्छे आफै आउन छाडेका हुन् थाह भएन। नत्र भिजेको बेला यसो चिया दोकानमा पसेर अथवा समाजसेवीहरू भएको ठाउँतिर गएर एक कप चिया पिउन पाए केही सञ्च हुन्थ्यो कि….मन मनै सोच्छु।
दुई तीनजना लोग्ने मान्छे अनि एकजना भर्खरकी केटी सिधै अफिसभित्र पस्छ्न्। दश पन्ध्र मिनट समय लिएपछि क्रमश: नाम बोलाइन्छ।
“नानी”
…….
“नानी”
म पछि फर्केर हेर्छु। एकजना (अन्दाजी यस्तै पैंसट्ठी-सत्तरीको छेउछाउको हुनुपर्छ) बडीले मलाई नै बोलाइरहेकी थिइन्।
“यहाँ तिरपल बाँड्दैछ रे नि हो?”
“हजुर, तपाईं पनि लिन आउनु भाको?”, सिधै प्रश्न गर्छु।
“लाइनमा बस्नुस् बडी, हामी पनि लाइनमै छौँ”, मेरो अलिक पछाड़ितिर बसेकी बहिनी चर्को स्वरमा कराउँछिन्। उनी आशलाग्दो नजरले लाइनको पछिसम्म बसेका मान्छेहरूलाई सरर हेरिपठाउँछिन्।
साडी र ख्वाप्प पस्ने प्लास्टिकको बन्द जुत्ता लगाएकी घुँडादेखि मुनिको भाग लुथ्रुक्क भिजेको कोठे कोठे छाता ओडिरहेकी हल्का निलो तर अलिक मैला मैला बर्को ओडेकी बिचरी यी दुब्ली बडी एक्लै किन तिरपल लिन आएकी होलान्, यस्तो पानीमा सोच्दै उनलाई हेर्छु म।
“तपाईं त हिँडी पो हाल्नु भएछ त पर्खिनु, सँगै जानुपर्छ भनेको होइन मैले”
एउटा चालिस पैंतालिस वर्ष उमेरको मान्छे उनको छेउमै आएर उनलाई त्यसरी कराउँदा उसको मुखबाट ठ्वास्स रक्सीको गन्ध आयो।
बडी ठिङ्ग उभिरही; त्यतिकैमा मेरो पालो आउँछ म भित्र पस्छु।
सन्दीप भाइले रेजिस्टरमा केही लेख्दैगरेको बहिनीको कान छेउनिर गएर कुन्नि के भनिराखेर अर्को कोठातिर जान्छ। बहिनीले आफू छेउको कुर्सी तानेर मलाई त्यहाँ बस्ने इसारा गर्छिन्।
“दाजु एकछिन बस्नुस् ल, एउटा तिरपलले पुग्दैन होला तपाईंलाई सरसँग रिक्वेस्ट गरेको छु उब्र्यो भने दुइटा लानुस। अरूलाई कुरा नगर्नुस् है तपाईं गाउँको चिनाजाना भएर नि।“
भाइले मेरो छेउमा आएर पेपरमा के के लेखेको जस्तो गरेर भन्छ।
“बैनी लु यो बडीलाई दुइटा तिरपल देऊ त बिचाराका बूढ़ा शहीद हो”, अघिको मान्छे अलिअलि धरखरिँदै उनलाई लिएर लाइन काटेर भित्र पस्छ। अघिदेखि लाइनमा उभिनेहरूका पारा तात्तेर आएछ, क्या हो सबै गनगन गर्न थाल्छन्।
“हामी चाहिँ ब्यानदेखि दशवटा काम छाडेर बसिराको छुम पिछे आउनेहरू पहिला पहिलै पोस्छ हामी त मान्दैन है रड्डी हुन्छ।“ अघिको बहिनी दैलो छेउमै आएर कराउन थाली।
”होस् न है बिचारा बूढ़ी मान्छे रहेछ” भिडबाट एकजनाले भन्दैथिए। एकछिनमै हल्ला खल्ला हुनथाल्यो। बसेको चेयरबाट जुरुक्क उठे म पनि; बहिनी अघिदेखि हल्ला नगरी बसिदिने अनुरोध गरिरहेकी थिइन्।
त्यत्तिकैमा भित्रबाट सन्दिन भाइसँग निस्केर आए सर पनि।
“के भ के भ? यहाँ के को हल्ला? तपाईंहरू राम्रोसँगले लाइनमा उभिन सक्नु हुन्न……?”
“सर हामी त अघिदेखि लाइनमै छौँ हेर्नुस् न; उ दाजु लाइन काटेर पोसेको, अलिअलि खाको रहेछ। कसैका कुरा सुन्दैन”, बाहिरबाट एकजनाले भन्यो।
“तपाईं बाहिर निस्किनुस्…निस्किहाल्नुस्…” सर झर्किए।
“होइन कि सर बडीको बूढ़ा चै नि….उनले आफ्ना कुरा राख्न नपाई सरले उनलाई बाहिर धपाए। प्रकाश भाइले एउटा चेयर सार्दै वृद्धालाई त्यहाँ बस्न लाए।
“होइन सर मेरा लागि तिरपल माङ्दिनु आको त्यो नानी आज अलिकति खाएछ, अरूबेला त्यस्तो खाँदैन”, मायालाग्दो स्वर बनाएर भन्छिन् उनी।
“खै! तपाईंको एप्लिकेसन कहाँ छ?”
छैन सर एउटा तिरपल दिनुस् न मेरो त घर चुहेर रातिभर राम्रो सुत्नै पाउँदिनँ।“
“खै, तपाईंका छोराछोरीहरू उनीहरूलाई पठाउनु पर्छ नि एप्लिकेसन लेख्न लाएर बूढी मान्छे भिजेर हेर्नु”, भन्दैछन् प्रकाश भाइ।
“एकछिन पर्खनुस् तपाईंहरू यहाँ सिनियर सिटिजनलाई पहिला दि हालौँ”, सरले ठुलै स्वरमा दैलोपट्टि फर्केर यति कराएपछि बल्ल गुनगुन अलिक शान्त भयो।
“लु बहिनी उहाँको नाम लेख्दिनु त”
“नाम भन्नुस् त”
“फूलमाया राई”
“कहाँ बस्नु हुन्छ……”
“को को छन् घरमा….?”, उनले उत्तर दिन नपाई सरले बिचैमा सोधे।
“सर एक्लै छु, एउटा छोरा थियो सात वर्षको उमेरमा निमोनिया भएर खस्यो”
“श्रीमान् चाहिँ?”
“सर छ्यासीको आन्दोलनमै हराको खोज खबर केही छैन।अब त आउँछ भन्ने आस पनि छैन।“
हामी अनुहार हेराहेर गर्छौं।
“त्यहाँदेखि एक्लै बस्नु भाको?”, सरको प्रश्न
“होइन सर पहिले त आमा बाबु थिए बितेर गए। घरैमाथि मूल घरमा भाइ-बुहारी अनि भदैनी बस्छन्। त्यसो त परेको बेला छरछिमेकी पनि छन् नि।“
अनुहार अलिक उज्यालो बनाइन्, यति भनिसक्दा उनले। तर, उनीभित्रको जीवनभरको एक्लोपन उहाँको निधारको रेखी अनि खपखप पोसेको र रसिला आँखाले स्पष्ट बताइरहेका थिए।
“उहाँलाई दुइटा तिरपल दि हाल्नु”
यति भनेर सर गम्भीर भएर भित्र पसे। चारवटा तिरपल हातमा लिएर प्रकाशले मलाई दुईवटा बडीलाई दुईवटा बाँड़े। बोकेर बाहिर निस्कँदै गर्दा हाम्रो हातमा दुईवटा तिरपल देखेर मान्छेहरू खुसुखुसु गर्दै थिएँ।
“ए दिएछ त है लु अब एक एकवटा बाँडौँ मैले भन्देको थिए नि दुइटा दिनु भनेर” बडीको हातैबाट एउटा तिरपल खोसेर त्यो मान्छे अघिअघि हिँड्दै थियो र म पछि पछि।
घर गएर तातो चिया पिउँदै आजको घटनाबारे सङ्गीतालाई वृत्तान्त सुनाउँछु।
“पहिला हाम्रो आमाको एकजना साथीको बूढ़ा त्यसरी आन्दोलनमा हराको थ्यो’ हरे हौ। स्यार्पीले (सिआरपि)-ले पक्रेर लगेको हरे! एकदुई पल्ट त आमाहरू पनि भेट्नु गाको हरे थाना भित्र पस्नै नदिने रे। पछि त्यतिकै थानाबाट भाग्यो भन्ने खबर आएछ कति खोज्दा पनि नभेटेको हरे। म त सुन्दै माया लाग्थ्यो त्यी आन्टीको; आमाहरूसँगै चुर कुट्दै गर्दा एक दिन त रेडियोमा ट्रक ड्राइभरको ‘चिट्ठी आएन’ भन्ने गीत बज्दा कस्तो रुको हरे नि बिचारा।“
“फूल जस्तै राम्री थिइन् रे नाम पनि फूलमाया।“, सुनिसकेर एकछिन गम्भीर भएर भन्छिन् सङ्गीता।
मेरो आँखामा अघिको फूलमाया बडीको अनुहार झलझली आयो। मन मनै त्यो गीतका रहल भाग सम्झिरहे।
….’घर छोड्दा चिट्ठी लेख्ने वाचा बन्धन थियो, खबर केही न पाउँदामा यो मन……….’
साथी भाइको चिट्ठी आउँछ मेरो आएन।