सिक्किमका पहिलो शतकवीर नितेश लामिछाने। |
गान्तोक, 21 सेप्टेम्बर : सिक्किम क्रिकेट टीमका कप्तान एवं प्रतिभाशाली ब्याट्सम्यान नितेश लामिछाने प्रथम श्रेणी क्रिकेट (लिस्ट ए)-मा शतक हिर्काउने पहिलो खेलाड़ी बनेका छन्। शुक्रवार अरुणाचल प्रदेशविरुद्ध विजय हजारे ट्रफीअन्तर्गत तेस्रो चरणको म्याचमा उनले शतक हिर्काएका हुन्। उत्कृष्ट ब्याटिङ गरी ‘रेकर्ड’ इनिङ्ग्स खेलेका नितेशले यो म्याचमा 145 बलको सामना गर्दै 123 रन बनाए। यसअवधि उनले दुईवटा छक्का र 11 चौका हिर्काए।
नितेश सिक्किमका तर्फबाट सबै वर्गका म्याचमा शतक हिर्काउने पहिलो र एकमात्र खेलाड़ी हुन्। यसभन्दा अघि उनले अण्डर-15 -मा बङ्गालविरुद्ध 101 रन बनाएका थिए भने अण्डर-17 म्याचमा केरलविरुद्ध 111 रन बनाएका थिए। त्यसैगरी अण्डर-19 म्याचमा मणिपुर र नागाल्याण्डविरुद्ध क्रमैले 124 र 147 रन बनाएका थिए। 307 रनको विशाल लक्ष्य पछ्याएको सिक्किमतर्फबाट नितेश र फैजल खानले पहिलो विकेटका महत्त्वपूर्ण 99 रन सङ्ग्रह गरेका थिए। सबै स्थानीय खेलाड़ी रहेको सिक्किमले पहिलो म्याचको तुलनामा अरुणाचल प्रदेशविरुद्ध यो म्याचमा नजिकको प्रतिद्वन्द्विता गरेको थियो। यो म्याचमा नितेश र फैजलबाहेक अन्य ब्याट्सम्यानहरूले ठूलो इनिङ्ग्स खेल्न नसकेपछि सिक्किम निर्धारित 50 ओभरमा 7 विकेटको क्षतिमा केवल 257 सङ्ग्रह गर्नसकेपछि 49 रन पराजित भएको हो।
सिक्किमले दुवै म्याच गुमाए तापनि पछिल्लो म्याचको प्रदर्शनलाई लिएर टीम प्रबन्धनले असन्तुष्टि व्यक्त गरेको छ। अरुणाचल प्रदेशसँग टीमले सुध्रिएको पर्दर्शन गरी जुझारुपन देखाएको टीम प्रबन्धनको भनाइ छ। यता, टीमका कप्तान एवं शतकवीर नितेश लामिछाने आगामी म्याचमा सिक्किमले आफ्नो प्रदर्शनमा सुधार ल्याउने बताएका छन्। टीम खेलाड़ीहरू आ-आफ्नो क्षमतामाथि विश्वस्त रहेकोले आगामी म्याचमा बलियो गरी खेलमा फर्किने उनलाई आशा छ। “हामीले कठोर मिहिनेत गर्नुपर्नेछ। साथै पछिल्ला दुई खेलबाट शिक्षा लिनुपर्नेछ। यसो गरेमा हामीले आगामी म्याचमा साँच्चै सुध्रिएको प्रदर्शन गर्नसक्नेछौं”, उनले थपे, “टीमले जितेको भए म मेरो शतकमा बढ़ी खुशी हुनेथिएँ।”
सिक्किम क्रिकेट एसोसिएशनका अध्यक्ष लोब्जाङ जी तेञ्जिङले कप्तानी इनिङ्ग्स तथा प्रथम श्रेणीको म्याचमा शतक हिर्काउने पहिलो सिक्किमेली खेलाड़ी बनेकामा नितेश लामिछानेलाई बधाई टक्राएका छन्। उनले पर्याप्त कोष, उचित क्रिकेट मैदान र आवश्यकीय संसाधनको अभावमा पनि सिक्किमका स्थानीय खेलाड़ीहरूले उम्दा प्रदर्शन गरिरहेकोमा गर्व अनुभूत गरिरहेको बताएका छन् भने रहल म्याचका लागि शुभकामना दिएका छन्।