दार्जीलिङ फेस्टमा डग शो, टाइगर सम्मानित

0
1675
टाइटरलाई वीरता सम्मानद्वारा सम्मानित गरिँदै।

दार्जीलिङ, 22 सेप्टेम्बर : आइतवार चौरस्तामा कैयौं मानिसहरूमाझ साढ़े चार वर्षे टाइगर सम्मानित भयो।  टाइगरलाई दार्जीलिङका पुलिस अधीक्षक अमरनाथ केले मेडल लगाइदिए। साथै प्रशस्ति-पत्र पनि प्रदान गरियो।

उल्लेखनीय छ, टाइगर नामको यसै कुकुरले पछिल्लो 14 अगस्तको राति चितुवाको आक्रमणबाट आफ्नी घर मालिकनी अरुणा लामाको ज्यान बचाएको थियो। आफ्नै घर मालिकनीलाई चितुवाले आक्रमण गरेको देखेपछि टाइगरले चितुवामाथि आक्रमण गरी धपाएको थियो।

यसैलाई ध्यानमा राखी दार्जीलिङ फेस्टको आयोजक समितिले टाइगरलाई यो फेस्टको तेस्रो दिन आयोजित डग शो-को अवसर पारेर सम्मान जनाउने निधो गरेको थियो। जसअनुसार आज यसलाई सम्मान जनाइएको हो।

आज डग शो-को अवसरमा चौरस्तामा कैयौं प्रजातिका कुकुरहरू ल्याइएको थियो। जसमा लाखौं रुपियाँ मूल्यका कुकुरहरू पनि थियो। यद्यपि  ‘टाइगर’ सबैको आकर्षणको केन्द्र बनेको थियो। यसलाई स्टेजमा ल्याउँदा तालीको गड़गड़ाहटले सम्पूर्ण चौरस्ता नै गुञ्जयमान तुल्याएको थियो।

स्मरण गराइन्छ, 14 अगस्तको राति अरुणा लामा र उनकी छोरी स्मृति घरको भान्साकोठामा रातिको खाना बनाउँदै चिया पिइरहेका थिए। त्यसै समय उनीहरूले भान्साकोठाको ठीकमुनि अवस्थित गोदामबाट केही आवाज सुने। त्यसपछि आवाज के को भनी हेर्नका लागि गोदामतिर गए।

अन्धकार बढ़ेको कारण अरुणाले राम्रो केही देख्न सकिनन्, त्यसै समय अचानक चितुवाले अरुणामाथि आक्रमण गरेको थियो। तर, छेवैमा बसेको टाइगरले चितुवामाथि नै उल्टो आक्रमण गरेको थियो। टाइगरको लगातारको आक्रमणपछि चितुवा भाग्न बाध्य बनेको थियो। फलस्वरूप अरुणालाई केही चोट लागे पनि उनको ज्यान बाँचेको थियो।

अर्कोतिर, टाइगरलाई आज दार्जीलिङ फेस्टकै अवसर पारी सम्मान जनाएपछि अरुणाकी छोरी स्मृतिले खुशी व्यक्त गरेकी छन्।

उनले भनिन्, “टाइगर हाम्रो परिवारको एक सदस्य हो। 2017-को आन्दोलनको समय नै यो टाइगर हाम्रो घरमा आएको थियो।”

यसबारे गोर्खाल्याण्ड टेरिटोरियल एड्मिनिस्ट्रेशनको पर्यटन विभागका सह-निर्देशक सुरज शर्माले भनेष “टाइगरले आफ्नो नामअनुसारको काम गरेको छ। हुन त यो कुकुर स्थानीय प्रजातिको हो, तर यसले आफ्नो मालिकमाथि आइपरेको सङ्कटको बेला आफ्नो ज्यानको बाजी लगाएर चितुवालाई पराजित गरेको छ। सामान्यतः कुकुरहरू चितुवा देख्नसाथै पुच्छर लुकाएर भाग्ने गर्छन्, तर टाइगरले यसो गरेन। आफ्नो ज्यानको माया मारेर टाइगरले आफ्नो मालिकनीको ज्यान बचाएको छ। यसैले आज टाइगरलाई वीररताको सम्मान प्रदान गरिएको हो।”

स्मरण रहोस्, दार्जीलिङमा पर्यटनलाई अघि बढ़ाउने अनि यहाँ अधिकाधिक पर्यटकहरूलाई आकर्षित तुल्याउने उद्देश्य लिएर नै 8 दिने दार्जीलिङ फेस्टको आयोजन गरिएको हो। जसमा विविध रङ्गारङ कार्यक्रमसहित विभिन्न प्रदर्शनी पनि राखिएको छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here