मिलेन बोनस बैठक, आज फेरि हुने

0
1443
सुनिल राई (फाइल फोटो)।

दार्जीलिङ, 22 सेप्टेम्बर : चियाश्रमिक बोनसलाई लिएर आइतवार दार्जीलिङ टी एसोसिएशन (डीटीए)-मा बसेको चौथो चरणको बैठकमा पनि बोनस दरको छिनाफानो हुनसकेन, जसको फलस्वरूप कुनै निष्कर्षबिनै बैठक सकियो। यद्यपि भोलि फेरि बैठक जारी नरहने बताइएको छ।

आज अपराह्न 2 बजेदेखि बैठक शुरु भएको थियो भने भोलिको बैठक अपराह्न 1  बजे शुरु हुने बताइएको छ। उल्लेखनीय छ, यसभन्दा अघि बसिएका तीनवटा बैठक पनि निष्कर्षबिनै  सकिएको थियो। यसको कारण बैठक सर्दै सर्दै दशैंको मुखमा पुगिरहेको छ।

अर्कोतिर, जोइण्ट फोरमका प्रवक्ता सुनिल राईले मालिकपक्ष आफ्नै अड़ानमा अडिग रहेकोले  बोनसबारे छलफल हुननसकिरहेको बताएका छन्। यसका साथै सबै श्रमिक सङ्गठन 20 प्रतिशतको बोनस दरमा नै अडिग रहेको र आजको बैठकमा पनि यसै अड़ानलाई दोहोर्‍याएको जनाए।

राईले आजको बैठक असफल हुनुमा मालिकपक्ष नै दायी रहेको बताए। कारण आज पनि मालिकपक्षले  जुन बोनस दर र यसका लागि प्रस्तावहरू राखेको थियो, त्यो न्यायसङ्गत नरहेकोले सबै श्रमिक सङ्गठनले एकस्वरमा अस्वीकार गरेका थिए।

“मालिकपक्षले आज जति पनि प्रस्तावहरू राखेको थियो, त्यसलाई खारेज गरी 20 प्रतिशतको दरमा नै बोनस चाहिन्छ भन्ने कुरा स्पष्ट बताएका छौं”, उनले भने।

राईका अनुसार सबै श्रमिक सङ्गठनहरूले एकबद्ध भएर 20 प्रतिशत बोनसको टेक दोहोर्‍याउँदा मालिकपक्ष केही नरम देखिएको छ। अब भोलि फेरि बैठक हुनेछ। यद्यपि भोलिको बैठकमा पनि श्रमिक सङ्गठनहरू 20 प्रतिशत बोनसकै मागमा अडिग रहने उनको भनाइ छ।

“20 प्रतिशतभन्दा तलको बोनस थाप्दैनौं भनेर हामी सबै श्रमिक सङ्गठनले भनेका छौं। किनभने अहिलेको महँगाइको समयमा 20 प्रतिशतभन्दा कम्तीको बोनसले श्रमिकहरूको चाड़ पर्व टार्न गाह्रो हुनेछ”, जोइण्ट फोरमका प्रवक्ता राईले थपे, “हामीले बैठकमा आज 20 प्रतिशत दरको बोनसको कुरा गर्ने हो भने मात्र बैठकमा आउने कुरा मालिकपक्षलाई स्पष्ट जनाएका छौं। भोलिको बैठकमा पनि हाम्रो अड़ान 20 प्रतिशत बोनसकै हुनेछ।”

उनले 2017 को आन्दोलन र अन्य बहानालाई श्रमिक सङ्गठनहरूले नसुन्ने पनि बताएका छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here