२०२१ अघि नै भाजपाले स्थायी राजनीतिक समाधान गरेको हुनुपर्छ : महेन्द्र छेत्री

0
2032

दार्जीलिङ, २२ सेप्टेम्बर : गोरामुमो प्रवक्ता महेन्द्र छेत्रीले भारत र नेपालका गरी दुईवटा नागरिकता हुनेहरू अहिलेघरी एनआरसीबाट डराएर  विरोधमा पोस्टर टाँसिरहेको बताए।

“हामी भारतका खाँटी गोर्खा हौं। एनआरसीबाट डराउनु पर्दैन”, छेत्रीले भने, “सुवास घिसिङले गरेको सम्झौतामा नै हामी खाँटी भारतीय गोर्खा हौं भनेर तय भइसकेको छ। यसैले आतिने कुनै कुरै छैन।”

यसैगरी यी गोरामुमो प्रवक्ताले पहिला जीटीएलाई भङ्ग गर्नुपर्छ भन्ने पार्टीको स्पष्ट अड़ान रहेको पनि बताए। “जीटीए भङ्ग नगरेसम्म  गोर्खाहरू उन्नतिको बाटोमा लाग्ने छैनन्”, उनले भने।

छेत्रीका अनुसार बङ्गाल सरकारले जीटीए भङ्ग गर्नु नमाने तापनि केन्द्र सरकार र विमल गुरुङपन्थी गोजमुमोले यसमाथि स्पष्टीकरण दिनुपर्नेछ। किनभने यो गोरामुमोको टेक हो।

उनले जीटीएमाथि भारत सरकारको मौनतामाथि प्रश्न गरे भने विमलपन्थी मोर्चाले जीटीएविरुद्ध प्रस्ताव पारित गरी बङ्गालका राज्यपाल र केन्द्रिय गृह मन्त्रालयलाई उक्त प्रस्ताव पठाउनुपर्ने माग गरे।

गोरामुमो प्रवक्ता महेन्द्र छेत्रीले विमलपन्थी मोर्चालाई जीटीए र गोर्खाल्याण्ड दुईवटा मुद्दामा नखेल्ने सुझाए। उनी विमलपन्थी मोर्चाप्रति आक्रामक देखिएका थिए। विमलपन्थी मोर्चाले जनतालाई गोर्खाल्याण्डको कुरा गरेर जीटीएतिरै हेरिरहेको छेत्रीले परोक्ष रूपमा आरोप लगाए।

“दार्जीलिङ पहाड़को स्थायी राजनीतिक समाधानका लागि हामीले भाजपाका उम्मेदवारलाई सघाएका हौं। यसैका लागि सातवटा पार्टी एकबद्ध भएका हुन्”, महेन्द्र छेत्रीले थपे, “हामीले हाम्रो जातिको उन्मुक्ति कहाँबाट हुन्छ, त्यो चाहेका हौं। उन्मुक्तिको बाटो दिल्लीले निकाल्नुपर्छ। राजनीतिक पहाड़को समस्या समाधानका लागि भाजपाले राजनीतिक इच्छा देखाउनु पर्छ। यसको समय आएको छ।”

२०२१ अघि दार्जीलिङ पहाड़को स्थायी राजनीतिक समाधान नभए भाजपालाई सुकनादेखि उँभो चढ़्न नदिने चेताउनी पनि छेत्रीले दिए। यसका साथै पछिल्लो १० वर्षजस्तो आगामी ५ वर्ष गोरामुमोले पर्खेर नबस्ने पनि स्पष्ट पारे।

“हाम्रो भावनासँग खेलाइँची नगरोस्। हाम्रो पनि भावना छ”, छेत्रीले भने। उनले जाति र माटोका लागि हरियो झण्डा कटिबद्ध रहेको तथा अन्य राजनीति नबुझेर केवल जाति र माटोको उन्मुक्ति मात्र बुझेको पनि दाबी गरे।

उनले पनि जीटीएको म्याद फेरि बढ़ाएको खण्डमा गोरामुमो चुप नलागेर बस्ने बताए। “यदि जीटीएको म्याद बढ़ाइएमा हामी आन्दोलनको घोषणा गर्नेछौं”, छेत्रीले थपे। कार्यक्रमलाई दार्जीलिङका विधायक नीरज जिम्बालागयत गोरामुमो नेतृत्व वाई लामा र मौरिस कालिकोटे तथा अन्यले सम्बोधन गरेका थिए।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here