सिलगढ़ी, २२ सेप्टेम्बरः देशको सुरक्षार्थ शहीद भएका सुबेदार विधान घिसिङको शव आज राति पुसिम्बेङस्थित घर ल्याइपुऱ्याइयो। उनको अन्तिम संस्कार भोलि पूर्ण सैनिक सम्मानसाथ गरिने जानकारी पाइएको छ।
तीन दिनअघि जम्मू-कश्मीरको उधमपुर सेक्टरमा शत्रुसँग भिड़न्त हुँदा ३७ वर्षीय विधान घिसिङ शहीद भएका थिए।
आज अपराह्न करिब ४ बजे शहीद विधान घिसिङको शव दिल्लीबाट बाघडुग्रा हवाईअड्डा ल्याइपुऱ्याइएको थियो।
देशको सुरक्षार्थ आफ्नो प्राणको बलिदान दिने शहीदलाई उचित सम्मान नदिएको भन्दै गाउँवासीले केहीक्षण विरोध प्रदर्शन गरेका थिए।
शहीद विधानको शवलाई कार्गो बक्समा ल्याइएको थियो। न त सेनाका उच्चाधिकारी त्यहाँ उपस्थित थिए, न त अन्य प्रशासनिक अधिकारी नै। यति मात्र होइन शव परिवारपक्षलाई सुम्पिँदा गड अव् अनर पनि दिने कार्य गरिएन, जसका कारण गाउँवासी आक्रोशित भई विरोध प्रदर्शन शुरू गरे।
यसैबिच, शहीद विधान घिसिङलाई श्रद्धाञ्जली अर्पण गर्न सपत्नीक आइपुगेका सामाजिक कार्यकर्ता अजय एड्वर्ड्सले परिस्थितिलाई सम्हालेका थिए।
अर्कोतिर, शहीदका आफन्त एवं भूतपूर्व सैनिक सविन राईले पनि शहीद विधान घिसिङलाई उचित सम्मान प्रदान नगरिएको दुःख प्रकट गरे।
“आज यहाँ एकैजना पनि सेनाका अधिकारी नहुनु अत्यन्त दुःखद घटना हो। विधानले सुरक्षाका लागि आफ्नो प्राणको बलिदान दिएका हुन्”, उनले भने।
उल्लेखनीय छ, पुसिम्बेङ चियाकमान ग्यारेज गाउँनिवासी विधान घिसिङ २००३ मा सेना भर्ना भएका थिए। हाल उनी २० जम्मू-कश्मीर राइफल्समा सुबेदार ऱ्याङ्कमा थिए।
परिवारका अनुसार पछिल्लो मार्च महिनामा घर आएका उनी एक महिने छुट्टी बिताएर अप्रेलमा पल्टन फर्केका थिए।
केही दिन अघि मात्र घर परिवारलाई फोन गरी आउँदो नोभेम्बर महिनामा चाड़ पर्व मनाउन पुनः छुट्टीमा आउने उनले बताएका थिए।
विधानले आफूपछि आमा-बाबा, पत्नी, दुई छोरा र भाइ छाड़िगएका छन्।