विनयपन्थी मोर्चाका करिब एकसय कार्यकर्ताविरुद्ध प्राथमिकी दर्ता

0
1447

कालेबुङ, २२ अक्टोबर : सिञ्जीनजिक मन्दिर खोलामा मङ्गलवार मध्याह्न गरिएको हमलासम्बन्धमा सांसद राजु विष्टले कालेबुङ सदर थानामा विनयपन्थी मोर्चा कार्यकर्ताहरूविरुद्ध प्राथमिकी दर्ता गरेका छन्।

प्राथमिकीमा विनयपन्थी मोर्चा नेताहरू क्रमैले  सञ्चवीर सुब्बा, रुदेन लेप्चा, विदुर राई, विनय घिसिङ, भुवन खनाल, इमान चामलिङ, अमिर बस्नेत, पङ्कज छेत्री र गायत्री मुखिया तथा अन्यको नामसमेत उल्लेख गरिएको छ। प्राथमिकी दर्ता गरेपछि स्थानीय संवाददाताहरूसँग कुराकानी गर्दै उनले पुलिसको भूमिकामा प्रश्न उठाए।

यसका साथै यो मुद्दालाई संसदको प्रिभिलेज कमिटीमा राख्नका साथै सदनमा उठाउने बताए। प्राथमिकी दर्ता गरेपछि घटनामा संलग्न व्यक्तिहरूलाई पक्राउ गरी उचित कारबाही गर्नुपर्ने माग गरेका छन्।

“आज जुन अवस्था मैले देखे, त्यो धेरै डरलाग्दो थियो”, उनले थपे, “यो मेरो हत्या गर्ने एउटा षड़यन्त्र थियो।” यदि एकजना सांसदमाथि यस्तो घटना हुनसक्छ भने अन्य सामान्य मानिसहरूको अवस्था कस्तो हुनेछ भन्ने प्रश्न गरेका छन्। उनका अनुसार यदि पुलिस प्रशासनले यस्तो चाहेको भए आजको घटना हुने थिएन। यसैले यो घटनालाई पनि कसै न कसै उत्तरदायी बन्नपर्छ।”

उनले विरोध गर्ने लोकतन्त्रमा  सबैलाई अधिकार रहे तापनि यसरी बाटो ढुकेर हमला गर्नु भने उचित नरहेको बताए। “एसपी र आईसी थानामा बसिरहेको बेला यस्तो घटना घटनुले मलाई दुःख लागेको छ।”

अर्कोतिर राजु विष्टले आजै घटनाबारे एक प्रेस विज्ञप्ति जारी गरी बङ्गाल पुलिसको रणनीतिक सहयोगमा नै विनयपन्थी मोर्चा कार्यकर्ताहरूले आफूमाथि हमला गरेको आरोप लगाएका छन्।

उनले 80 देखि करिब 100 तृणमूल कङ्ग्रेसका मातेर बसेका ‘गुण्डा’-हरूले आफूहरूमाथि ढुङ्गामूढ़ा गरेको, खुकुरीले र अन्य धारिलो हतियारले प्रहार गरेको आरोपसमेत लगाएका छन्। यो घटनामा भाजपा र विमलपन्थी गोजमुमोका धेरै समर्थक घाइते भएको विष्टको दाबी छ।

यो घटनालाई उनले पूर्वनियोजित पनि बताएका छन्। साथै यो हमला विनय तामाङ र अनित थापाकै निर्देशनमा भएको पनि आरोप लगाएका छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here