पहाड़को शान्ति यथावत रहनुपर्छ: अनित थापा

0
959

दार्जीलिङ, 22 अक्टोबरः जीटीए बीओएका अध्यक्ष अनित थापाले पहाड़मा रहेको वर्तमान शान्ति कायम रहनुपर्छ भन्ने चाहना राखेका छन्।

यसै विषयमाथि आज उनले भने, “अशान्त दार्जीलिङ पहाड़लाई 2017-मा जसरी हामीले आगोमा हाम फालेर शान्ति स्थापित गरेका थियौँ, त्यो शान्ति यथावत रहनुपर्छ। पहाड़का जनता शान्तिप्रिय छन्, मलाई विश्वास छ। हामी कहिले पनि खेद्ने र खेदाउने पक्षमा छैनौं। यसप्रकारको राजनीतिबाट टाढ़ा रहनुपर्छ। विमल गुरुङलाई पनि हामीले खेदेका होइनौँ। उनी आफै जनतालाई छोड़ेर गएका हुन्।’’

थापाका अनुसार त्यस्तो अवस्थामा विनय तामाङ र उनले आगोमा पसेर जनतालाई बचाउने कार्य गरेका हुन्, कारण पहाड़ अशान्ति भएको उनीहरू हेर्न चाहँदैन थिए।

यसैको फलस्वरूप आजसम्म पहाड़वासी शान्तिपूर्वक बसिरहेको उनको दावी छ।

उनले थप भनेका छन्, “विमल गुरुङले तीन वर्षअघि नै यो कुरा बुझेको भए अझ राम्रो हुनेथियो। हाम्रा मानिसहरू शहीद हुने थिएन, धेरै नोक्सान हुनबाट पहाड़ बच्ने थियो। कमानवासीको रोजगार जाने थिएन, चिया उद्योग, पर्यटन विकासलाई हानि पुग्ने थिएन।’’

त्यति बेला बङ्गाल सरकारसँग मिलेर पहाड़लाई शान्ति राख्न चाहँदा उनीहरूलाई गोर्खाल्याण्डविरोधीको संज्ञा विमल गुरुङहरूले दिएको पनि थापाले बताएका छन्।

“तर आज उनीहरूले वास्तविकतालाई बुझे जस्तो छ। कुनै पनि नेतामा भिजन र दूरदर्शिता हुनुपर्छ। लिडरले गरेको भूल गरिसकेर भूल गरेँ भन्दा जनताले दु:ख पाइसकेको हुन्छ’’, उनले थप भनेका छन्, “गोर्खाल्याण्ड जनताको भावना हो। यसलाई कसैले पनि मारेर मार्न सक्दैन। र बिक्री गरेर पनि गर्न सक्दैन, किन्ने मान्छे पनि छैन। कुनै पनि कुरा बोल्नअघि सोचेर बोल्नुपर्छ भन्ने प्रमाण हिजोको घटनाले प्रमाणित गरिदिएको छ।’’

हिजोको त्यो घटनाले 2017-मा अनित थापा र विनय तामाङले लिएको निर्णय सत्य थियो भन्ने प्रमाण भएको पनि उनले बताएका छन्।

अनितले भने, “विनय तामाङले 2017-मा हाम्रो मान्छेले दु:ख नपाओस्, कुनै पनि कुराबाट अवहेलित नहोस् भन्न खातिर त्यो निर्णय लिएको हो। जो आज आएर सत्य प्रमाणित भएको छ।’’

अर्कोतिर उनले नेताले कहिल्यै दोहोरो नीति अप्नाउन नहुने पनि बताएका छन्।

“गोर्खाल्याण्डको नारा लिएर भोटको सौदा गर्नु हुँदैन। मैले बारम्बार भनिरहेको छु, म गोर्खाल्याण्डको झोला भिरेर राजनीति गर्दिनँ, भोट पनि माग्दिनँ। कुनै पनि राजनैतिक दलले गोर्खाल्याण्ड माग्दा गोर्खाल्याण्ड पाइँदैन यो प्रमाणित भइसकेको छ’’, उनले थपे, “जीएनएलएफले मागेको गोर्खाल्याण्ड दागोपापमा परिणत भयो, गोजमुमोले मागेको गोर्खाल्याण्ड जीटीएमा परिणत भयो। अब मान्छे लठुवा छैनन्। त्यसैले अब नेताहरूले भावनाको राजनीति गर्न छोनुपर्छ। अब जनतालाई झुक्याउने राजनीति पनि त्याग्नु पर्छ। 1986-देखि जनता झुक्किँदै आएका छन्,अब झुक्किनु हुँदैन। हामीले निष्पक्ष राजनीति गर्नपर्छ।’’

बेरोजगारी समस्या समाधानका लागि विकसित दार्जीलिङ बनाउने सोच राख्नु पर्ने अनित थापाको भनाइ छ।

उनका अनुसार अब झूटो राजनीति गर्नेहरूको गेम ओभर भएको छ।

थापाले प्रश्न गरेका छन्, “मान्छेलाई झुक्याउँदै कहिलेसम्म राजनीति गर्ने? गोर्खाल्याण्ड भन्दै मान्छेलाई खेद्ने, घर जलाउने प्रथा कहिलेसम्म? गोर्खाल्याण्ड त हाम्रा गोर्खा विभूतिहरूले माग्नु पर्ने विषय हो। उनीहरूले पोलिसी बनाउनपर्ने हो।’’

यसैगरी उनले भने, “राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीसँग हिजोदेखि नै मेरो बारम्बार कुराकानी भइरहेको छ। विकास र उन्नतिबारे बातचित भइरहेको छ। हामीले हाम्रो पहाड़का लागि भलो चिताउनुपर्छ। ममता ब्यानर्जीको पहाड़प्रतिको जुन सोच छ, त्यसलाई हामीले सम्मान गर्नपर्छ। उनले बेरोजगारहरूलाई रोजगार दिने, पहाड़लाई विकास गर्ने जुन सोच राखेकी छन्, त्यसैलाई हामीले सहयोग गरेका हौँ, त्यसलाई अहिले विमल गुरुङहरूले पनि बुझे जस्तो छ।’’

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here