कालेबुङ, २२ अक्टोबरः कालेबुङकी जिल्लापाल आर. विमला आज राष्ट्रिय राजमार्ग १० का पैह्रोग्रस्त क्षेत्र पुगिन्।
यसअवधि उनले पैह्रोले राजमार्गलाई पुऱ्याएको क्षयक्षति र मरम्मती कार्यबारे जानकारी लिइन्। जिल्लापाल विमलाले मरम्मती कार्यबारे सन्तुष्टि व्यक्त गर्दै राजमार्गमा यातायात सुचारू बन्न केही दिन लाग्ने बताइन्।
साथै अहिले कालेबुङ-सिलगढ़ी र सिक्किम-सिलगढ़ीबिच वाहनहरू लाभा र पेशोकको बाटो भएर गुड़िरहेको पनि जानकारी गराइन्। यसअवधि उनीसँगै अन्य अधिकारी पनि उपस्थित थिए।
जिल्लापालका अनुसार पहाड़को मौसमको अनिश्चितका कारण यति दिनभित्र बाटो खोलिन्छ भनेर किटान गर्न सकिँदैन। तर विभागले दिनरात गरेर जुन प्रकारले कार्य गरिरहेको छ, त्यसको फलस्वरूप केही दिनमा यातायात सुचारू निश्चित बन्नेछ।
उल्लेखनीय छ, २० अक्टोबरका राति बिरिक डाँड़ाछेउ गएको पैह्रोले राष्ट्रिय राजमार्ग १०-लाई ठूलो क्षति पुऱ्याएको छ, जसका कारण त्यसै रातिदेखि वाहनहरूका चलाचल ठप्प छ।
यसैबिच यस पैह्रोले पूर्ण क्षति पुऱ्याएको ठाउँमा बाटो बनाउन विभागले लगातार कार्य गरिरहेको छ। मरम्मती कार्यलाई थप गति दिन विभागले आज दुईवटा मशिन थपेको छ।
यति मात्र बाटो बनाउने कार्य दिन-रातै गर्ने विभागका कार्यकारी अभियन्ता सुबोध छेत्रीले बताए। विभागले दिन रात काम गर्दा पनि कम्ती ५-६ दिन अझ समय लाग्ने उनको भनाइ छ।
“बाटो खुलाउनका लागि हामीले दिन-रात कार्य गरिरहेका छौँ। यो साताभित्र हामी बाटो खोल्ने कोशिश गर्नेछौँ”, अभियन्ता छेत्रीले भने।