दार्जीलिङमा कैलाश खेरले गाए, बलिउड अभिनेता मिलिन्द सोमन दौड़िए

0
1099

दार्जीलिङ, 22 नोभेम्बरः दार्जीलिङमा आइतबार (आज) एकसाथ कैलाश खेरले गीत गाए भने बलिउड अभिनेता मिलिन्द सोमनले 21.1 किलोमिटरको दौड़मा भाग लिए।

दार्जीलिङ पुलिसद्वारा आयोजन गरिएको दार्जीलिङ हिल म्याराथनको अवसरमा आज यी दुई कलाकार नै मुख्य आकर्षण बनेका थिए।

दार्जीलिङ पुलिसले आज सातौं दार्जीलिङ हिल म्याराथनको आयोजन गरेको थियो, जसलाई 10 किलोमिटर र 21.1 किलोमिटर गरी दुई वर्गमा बाँड़िएको थियो।

यस म्याराथनका ब्राण्ड एम्बासेडर रहेका मिलिन्द बलिउड अभिनेता, मोडल एवं फिटनेस प्रमोटर मिलिन्द सोमनले 21.1 किलोमिटरको दौड़िए।

दार्जीलिङको चौरस्तादेखि शुरू भई यसै स्थानमा आएर समापन भएको यी दुवै वर्गको दौड़मा करिब 2 हजार धावकले भाग लिएका थिए, जसमध्ये 21.1 किलोमिटरको दौड़मा तीर्थ पुन पहिलो, विकास भुजेल दोस्रो र सुरतराज सुब्बा तेस्रो भए।

यसैगरी 10 किलोमिटरको दौड़मा मोहम्मद मजरूद्दीन पहिलो, अर्जुन टुडु दोस्रो र रामबहादुर न्यौपाने तेस्रो बन्न सफल बने।

21.1 किलोमिटरको दौड़मा प्रथम भएका तीर्थ पुनले यो दूरी 1 घण्टा 13 मिनट 56 सेकेण्डमा पूरा गरेका थिए भने विकासले 1 घण्टा 15 मिनट र सुरतराजले 1 घण्टा 19 मिनटमा यो दूरी पूरा गरेका थिए।

यसबाहेक 10 किलोमिटरको दूरीमा पहिलो हुने मोहम्मद मजरूद्दीनले यो दूरी केवल 35 मिनट 13 सेकेण्ड, अर्जुन टुडुले 35 मिनट 31 सेकेण्ड र रामबहादुरले 35 मिनट 47 सेकेण्डमा तय गरेका थिए।

दार्जीलिङ पुलिसले जीटीए साथै अन्य विभिन्न कम्पनीको सहयोगमा 7 वर्षअघि दार्जीलिङ हिल म्याराथन शुरू गरेको हो।

पछिल्ला वर्षसम्म यस दार्जीलिङ हिल म्याराथनमा विदेशका धावकहरूले पनि भाग लिएका थिए। तर यसवर्ष कोरोना सङ्क्रमणका कारण विदेशी धावकहरूले भाग लिन सकेनन्।

यद्यपि, आज देशका विभिन्न प्रान्त साथै दार्जीलिङ पहाड़बाट करिब 2 हजार धावक-धाविकाहरूले भाग लिएका थिए।

यसैबीच, चौरस्तामा आयोजित यस म्याराथनको पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै मिलिन्द सोमनले विश्वविख्यात दार्जीलिङमा आयोजित म्याराथनमा भाग लिन पाउँदा साह्रै खुशी लागेको बताए।

यसका साथै उनले यस म्याराथनका लागि दार्जीलिङ पुलिसले आफूलाई ब्राण्ड एम्बसेडर बनाएकोमा पनि गर्व अनुभव भएको जनाउँदै उनले दार्जीलिङ पुलिसप्रति आभार व्यक्त गरे।

आजको यस कार्यक्रममा मिलिन्द सोमन साथै गायक कैलाश खेर विशेष अतिथिका रूपमा उपस्थित रहेका थिए।

अर्कोतिर कैलाश खेरले चौरस्तामा गीतहरू गाएर दर्शकहरूलाई मोहित बनाए।

कार्यक्रमलाई ध्यानमा राखेर आज बिहान 6 बजीदेखि 10 बजीसम्म सिंहमारी, जोरबङ्लो अनि घूम भएर दार्जीलिङ शहर पस्ने गाड़ीहरूको चलाचल ठप्प बनाइएको थियो भने टाइगर हिल जाने गाड़ीहरूलाई पनि बन्द गरिएको थियो।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here