दार्जीलिङ, 22 दिसम्बरः बङ्गाल विधानसभा चुनाउअघि स्थायी राजनैतिक समाधान (पीपीएस) नभए पनि जनजातिको मुद्दाले पार पाउँछै पाउँछ भन्ने गोर्खालीगका कार्यकारी अध्यक्ष प्रताप खातीले ठोकुवा गरेका छन्। तर, उनको यस ठोकुवालाई उनकै पार्टीका महासचिव एसपी शर्माले कुनै मान्यता दिन चाहेका छैनन्।
हिजो साँझपख दिल्लीमा केन्द्रिय गृहमन्त्री अमित शाहले दार्जीलिङ पहाड़बाट केही दिनअघि नै दिल्ली गएका विभिन्न पार्टीका शीर्ष नेतृत्वहरूसित बैठक गरेपछि गोर्खालीगका कार्यकारी अध्यक्ष प्रताप खातीले बङ्गाल विधानसभा चुनाउ अघि नै जनजातिको मुद्दा फत्ते हुने दावी गरेका थिए। तर उनको दावीलाई उनकै पार्टीका महासचिव एसपी शर्माले पत्याएका छैनन्।
शर्माले यसबारे भने, “न हिजो 21 दिसम्बरका दिन केन्द्रिय गृहमन्त्री अमित शाहसित भएको बैठकको प्रेस विज्ञप्ति पीआईबी (प्रेस इन्फर्मेशन ब्युरो)-मा छ, न त गत 17 दिसम्बरको दिन केन्द्रिय गृह राज्यमन्त्री जी. किशन रेड्डीसित भएको वार्ताको नै पीआईबीमा कुनै विषय उल्लेख गरिएको छ। त्यसैले केन्द्रिय गृहमन्त्री अमित शाह, केन्द्रिय गृह राज्यमन्त्री जी. किशन रेड्डीसित 11 जातगोष्ठीलाई जनजातिको मान्यता दिने कुरालाई न स्वीकार गर्न सकिन्छ, न त बङ्गाल विधानसभा चुनाउपछि पीपीएसबारे वार्ताको प्रक्रिया नै जारी रहने दावीलाई मान्न सकिन्छ। किनभने, दिल्लीमा भएको वार्ताका लागि पार्टीले कुनै पत्र नै पाएको थिएन। यसैले दिल्लीमा केन्द्रिय गृहमन्त्रीसित कुन विषयमा वार्ता भयो भन्नेबारे पनि केही भन्न सकिँदैन।’’
उनले थपे, “विगतका समयमा पनि दार्जीलिङ पहाड़का शीर्ष नेतृत्वहरू दिल्ली गएर केन्द्रिय मन्त्रीहरूसित फोटो खिँचेर प्रेस विज्ञप्तिहरू दिएको सबैलाई थाहै छ। अनि ती नेताहरूले दिल्लीमा धेरै राम्रो कुरा भएको दावी गरेको पनि कसैले भुलेका छैनन्। तर, अझैसम्म ती राम्रा कुराहरूको परिणाम दार्जीलिङ पहाड़का जनताले भने देख्न सकेका छैनन्। यसपालि पनि त्यस्तै भएको छ। हिजो भएको बैठकबारे पीआईबीको वेबसाइटमा केही पनि लेखिएको छैन। यसैले यहाँबाट गएर केन्द्रिय गृहमन्त्री अमित शाहसित कुन विषयमाथि चर्चा गरे, त्यसबारे आधिकारिक जानकारी नपाएसम्म कसरी पत्याउनु?’’
एक प्रश्नको उत्तरमा शर्माले भने, “हामीले आफ्नै गोर्खा लीगका नेताले दिएकै बयानको विरोध गर्नुपर्ने अवस्था आएको छ। किनभने, उनीहरूले सत्य कुरा जनताअघि राख्नुपर्छ, जनतालाई अझै पनि छल्ने काम बन्द हुनपर्छ। यसैले सरकारले आधिकारिक रूपमा हिजो भएको बैठकको जानकारी नगराएसम्म त्यसलाई जनताले स्वीकार गर्ने प्रश्न नै आउँदैन।’’
उल्लेखनीय छ, हिजो केन्द्रिय गृहमन्त्री शाहसित एक बैठक भएपछि गोर्खा लीगका कार्यकारी अध्यक्ष प्रताप खातीले बङ्गाल विधानसभा चुनाउअघि नै जनजातिको मुद्दा फत्ते हुने ठोकुरा गरेका थिए भने स्थायी राजनैतिक समाधानबारे वार्ताको प्रक्रिया बङ्गाल विधानसभा चुनाउपछि पनि जारी रहने बताएका थिए।