सिलगढी, २२ दिसम्बर: उत्तर बङ्ग विश्वविद्यालयको नेपाली विभागले १९ र २० दिसम्बरका दिन ‘साहित्य अध्ययनका समकालीन सिद्धान्त : पद्धति अनि प्रयोग’ विषयमा दुईदिने राष्ट्रिय सङ्गोष्ठी आयोजन गऱ्यो ।
यस सङ्गोष्ठीका संयोजक यसै विभागका उपप्राध्यापकद्वय डा. डप छिरिङ लेप्चा अनि डा. कृष्णमाया मगर तथा संरक्षक विभाग अध्यक्ष डा. पुष्कर पराजुली अनि प्राध्यापक सञ्जय राई थिए ।
यो सङ्गोष्ठी उद्घाटन, प्राज्ञिक र समापन सत्र गरी तीन चरणमा सम्पन्न भएको थियो ।
उद्घाटन सत्रका प्रमुख अतिथि विभागकै संस्थापक प्राध्यापक लक्ष्मीकान्त शर्मा थिए भने विशिष्ट अतिथिगणका रूपमा डा. घनश्याम नेपाल, डा. मोहन पी. दाहाल, डा. नरेशचन्द्र खाती तथा डा. कविता लामा उपस्थित थिए ।
डा. डपछिरिङ लेप्चाको स्वागत सम्बोधन तथा परिचयात्मक विवरणबाट सुरु भएको उद्घाटन सत्रमा प्रमुख वक्ताका रूपमा उपस्थित डा. घनश्याम नेपालले सङ्गोष्ठीको बीज भाषण प्रस्तुत गरेका थिए ।
डा. घनश्याम नेपालले बीज भाषणमा यस सङ्गोष्ठीको औचित्य तथा प्रयोजनबारे चर्चा गर्दै भने – “साहित्यका चारवटा प्रमुख तत्त्व हुन्छन्, ती हुन् भाषा, भाव वा अर्थ, समय र अवकाश ।
उनले यी चारवटा तत्त्वलाई आधार बनाएर साहित्य अध्ययनका क्षेत्रमा विकसित भएका समकालीन सिद्धान्तबारे चर्चा परिचर्चा गर्नु अनि ती सिद्धान्तहरूका अनुप्रयोगलाई देखाउनु यस दुईदिने राष्ट्रिय सङ्गोष्ठीको उद्देश्य तथा प्रयोजन रहेको बताए ।
साथै डा. नेपालले साहित्य अध्ययनका लागि विकसित तथाकथित सिद्धान्तहरू सबै सिद्धान्त नै हुन् कि होइनन्, त्यसतर्फ पनि साहित्यका अध्येताहरूले गम्भीरतापूर्वक विचार पुऱ्याउनुपर्ने कुरामाथि जोड दिए ।
“अहिलेका समयमा साहित्य, साहित्यको पठन पाठन तथा अध्ययन सम्बन्धी प्राज्ञिक संस्थानहरू सङ्काटपन्न अवस्थामा छन्” उनले थपे ।
उद्घाटन सत्रका प्रमुख अतिथिका रूपमा बोल्दै प्राध्यापक लक्ष्मीकान्त शर्माले साहित्यलाई सहृदयको विषय हो बताउँदै साहित्य सिर्जना गर्ने सर्जक, पढ्ने पाठक अनि अध्ययन तथा समालोचना गर्ने समालोचक आदिमा सरलता, निष्पक्षता, तरलता, गतिशीलता तथा पवित्रता हुनुपर्ने बताए ।
“साहित्य समाज निर्माण गर्ने कला हो”, उनले थपे ।
यसै गरी प्रोफेसर मोहन पी. दाहालले ‘साहित्य अध्ययनका समकालीन सिद्धान्त : पद्धति अनि प्रयोग’ नामक सङ्गोष्ठीको विषयव्यापक अनि कठिन भए तापनि युगीन परिवेश तथा आवश्यकतालाई ध्यानमा राख्दै साहित्यको अध्ययन विविध पक्षबाट हुनुपर्ने हुनाले यो सङ्गोष्ठी आवश्यक अनि औचित्यपूर्ण रहेको बताए ।
सङ्गोष्ठीको दोस्रो चरणमा जम्मा आठवटा प्राज्ञिक सत्र सम्पन्न भए ।
यी सत्रहरू पहिलो दिनको उत्तरार्द्धदेखि दोस्रो दिनको उत्तरार्द्धसम्म चलेका थिए, जसमा जम्मा ४६ जना शोधकर्ताले शोध पत्र प्रस्तुत गरे ।
आठवटा सत्रका अध्यक्षता प्रा लक्ष्मीकान्त शर्मा, डा. नरेशचन्द्र खाती, डा. मोहन पी दाहाल, डा. अरुणा राई, डा. कृष्णराज घतानी, डा. कविता लामा अनि डा. सञ्जय राईले गरेका थिए ।
दार्जिलिङ, सिक्किम, सिलगढी तथा डुवर्सका विभिन्न महाविद्यालय अनि विश्वविद्यालयका प्राध्यापक, शोधार्थी अनि विद्यार्थीहरू सहभागी रहेको यी प्राज्ञिक सत्रहरूमा साहित्य अध्ययनका समकालीन सिद्धान्तहरूबारे सैद्धान्तिक तथा अनुप्रयोगमूलकचर्चा परिचर्चा भए ।
सङ्गोष्ठीमा प्रस्तुत शोधपत्रहरूले समेटेका विषयहरूमा उत्तर उपनिवेशवाद, सांस्कृतिक समालोचना, भौगोलिक समालोचना, परिवेश विमर्श, लैङ्गिक समालोचना, अपराध विमर्श, अभिघात अध्ययन, संज्ञानात्मक अध्ययन, आदिवासी साहित्य, सबाल्टर्न साहित्य, साइबर साहित्य, इतिवृत्तशास्त्र, डायस्पोरिक साहित्य, परराष्ट्रियतावाद, सङ्कथन विश्लेषण, सङ्केत विज्ञान, शैली विज्ञान आदि प्रमुख थिए ।
सङ्गोष्ठीको दोस्रो दिन सम्पन्न समापन सत्रको थालनी विभागका शोधार्थी सिबेन शर्माले सङ्गोष्ठीको प्रतिवेदन प्रस्तुत गरेपछि भएको थियो, जसमा सिक्किम विश्वविद्यालयका उपप्राध्यापक डा. देवचन्द्र सुब्बा अनि गोरुबथान सरकारी महाविद्यालयका उपप्राध्यापक डा. ज्ञानेन्द्र सुब्बाले सहभागीका रूपमा सङ्गोष्ठीबारे प्रतिक्रिया प्रस्तुत गरेका थिए ।
यस सत्रका प्रमुख वक्ता सिक्किम विश्विविद्यालयकी प्राध्यापक डा. कविता लामा थिइन् ।
उनले आफ्नो समापन भाषणमा सङ्गोष्ठीमा प्रस्तुत गरिएका शोधपत्रहरू सङ्गोष्ठीको विषय अनुरूप औचित्यपूर्ण रहेका उल्लेख गर्दै यस सङ्गोष्ठीले साहित्य अध्ययनका नयाँ दिशा तथा आयाम चिह्नित गर्न शोधकर्ताहरूलाई सहयोग गरेको बताइन् ।
समापन सत्रमा उपस्थित प्राध्यापक मोहन पी. दाहालले पनि सङ्गोष्ठी फलप्रद रहेको तथा नेपाली विभागमा आयोजित सङ्गोष्ठीहरूमध्ये यो एउटा बृहत् आयोजन भएको बताए ।
सङ्गोष्ठीको समापन विभाग अध्यक्ष डा. पुष्कर पराजुलीको धन्यवाद ज्ञापनबाट भएको थियो भने उद्घाटन सत्र तथा समापन सत्र दुवै कार्यक्रमको सञ्चालन विभागका प्राध्यापक डा. सञ्जय राईले गरेका थिए ।