नेताजी जयन्तीमा ममताको सङ्कल्प- बङ्गाल विभाजन हुन दिन्न

0
1877
नेताजी जयन्तीलाई सम्बोधन गर्दै ममता ब्यानर्जी।

दार्जीलिङ, 23 जनवरीः राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीले शुक्रवार नेताजी सुभाषचन्द्र बोसको 123औं जन्म जयन्तीको अवसर पारेर फेरि बङ्गाललाई विभाजन हुन नदिने सङ्कल्प गरिन्।

तर आजको उनको भनाइमा नम्रता थियो अनि जय गोर्खाको नारा लगाउनु पनि कुनै अनुचित नरहेको बताइन्। उनले भनिन्, पहाड़को गीत मलाई मनपर्छ, पहाड़ले उन्नति चाहेको छ। पहाड़का जनताले सबैसित मिलेर एकसाथ बस्न चाहेका छन्। तब किन यसलाई विभाजनको संज्ञा दिने? हामी यसलाई विभाजन हुन दिनेछैनौं।’’

यद्यपि, उनको यो भनालाई कसैले पनि गम्भीरतासित लिएनन्।

अर्कोतिर, चौरस्तामा आज नेताजी सुभाषचन्द्र बोसको 123औं जन्म जयन्ती पालन गरिएपछि मुख्यमन्त्री सिलगढ़ी प्रस्थान गरिन्।

यसअघि यहाँको चौरस्तामा पालन गरिएको नेताजी जयन्ती समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री ममता ब्यानर्जीले भनिन्, 2011-मा तृणमूल कङ्ग्रेस सरकारमा आएपछि दार्जीलिङमा पनि नेताजी जयन्ती पालन गर्न शुरु गरिएको हो। किनभने, नेताजीले खरसाङमा धेरै समय बिताएका थिए। यसैले उनको जयन्ती दार्जीलिङमा पनि पालन गर्नुपर्ने आवश्यकता देखेर नै हामीले बर्सेनि दार्जीलिङमा नेताजी जयन्ती पालन गर्दै आइरहेका छौं।’’

यसैबीच, उनले केन्द्रको भारतीय जनता पार्टी सरकारमाथि कटाक्ष प्रहार गर्दै यो पार्टीले केवल आफ्नो स्वार्थका लागि मात्रै राजनीति गरिरहेको बताइन्।

‘‘नेताजी सुभाषचन्द्र बोसजस्तो नेता अब फेरि देशमा अर्को नेता हुनेछैन। नेताजीले सबै जाति, धर्म, सम्प्रदाय, गरीब-धनी आदिलाई एकसाथ राखेर नेतृत्व दिएका थिए। तर, वर्तमानमा हिन्दू धर्मको नाम गरेर हिन्दू धर्मलाई नै बदनाम गराउने काम भइरहेको छ। देशका नेता भएपछि सबै जात, धर्मलाई एकसाथ अघि लगाएर अघि बढ्न सक्नुपर्छ। देशका नेता देशलाई नेतृत्व गर्ने हुनुपर्छ’’, ममताले थपिन्,  देशलाई नेतृत्व गर्ने नै देशका नेता हुन्छन्। केन्द्रको सत्तारूढ़ दल भाजपाले लोकतन्त्र, स्वतन्त्रता,  धर्म निरपेक्ष सबै भुलिसकेको छ, केवल आफ्नो स्वार्थमा जनताको खुन गर्ने राजनीति गरिरहेको छ।’’

उनले भाजपा सरकारले अझैसम्म पनि नेताजी जयन्ती 23 जनवरीलाई राष्ट्रिय विदा घोषणा नगरेको बताउँदै यस दिन विदा घोषणा गर्नुपर्ने मागमाथि जोड़ दिइन्।

नेताजी सुभाषचन्द्र बोसले नै देशमा योजना आयोगको शुरूआत गरेका थिए, तर केन्द्रमा भारतीय जनता पार्टीको सरकार गठन भएपछि यो योजना आयोगलाई हटाइदियो’’, मुख्यमन्त्री ब्यानर्जीले नेताजी जयन्ती समारोहलाई सम्बोधनअवधि भाजपालाई चुनौती दिँदै भनिन्, ‘‘तर आँधी, हुरी, बतास आओस्, त्यसमाथि जीत हासिल गर्ने हामीसित हिम्मत छ।’’

यसरी नै ममताले देश स्वतन्त्र भएको 73 वर्षसम्म पनि नेताजी देहान्त कति तारिक भएको थियो भन्नेबारे थाह नपाउनु एउटा बिडम्बना नै रहेको पनि बताइन्।

विविध राष्ट्रभक्तिमा आधारित गीत, नृत्यहरूमाझ पालन गरिएको नेताजी जयन्ती समारोहको अवसरमा आज जीटीए अध्यक्ष अनित थापा, गोजमुमो अध्यक्ष विनय तामाङ, मन्त्री अरूप विश्वाससहित अन्यको उपस्थिति रहेको थियो।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here