विनयपन्थी कार्यकर्तामाथि हमला, आरोप विमलपन्थी मोर्चामाथि

0
984

दार्जीलिङ, 23 जनवरीः विनय तामाङपन्थी गोजमुमोका एक कर्मठ सदस्य लोअर गिङनिवासी 65 वर्षे दावा तामाङमाथि विमल गुरुङपन्थी गोजमुमो समर्थकहरूले आक्रमण गरेर गम्भीर घाइते बनाएको विनयपन्थी गोजमुमोले आरोप लगाएको छ।

विनय तामाङपन्थी गोजमुमोले यस घटनाको विरोधमा दार्जीलिङमा पोस्टरिङ पनि गरेको छ भने उक्त पोस्टरमा दोषी राहुल तामाङ रहेको उल्लेख गरिएको छ।

यसैले दोषी राहुलसँगै उनीसित संलग्न रहेका दोषीहरूलाई शीघ्र पक्राउ गरेर उचित सजाय दिनुपर्ने पार्टीले माग गरेको छ।

घाइते दावा तामाङको दार्जीलिङ जिल्ला अस्पतालमा उपचार चलिरहेको छ।

अस्पताल सूत्रका अनुसार दावा तामाङको टाउकोमा चोट लागेको छ।

यसबारे विनय तामाङपन्थी गोजमुमो लेबोङ-बदमताम समष्टि कमिटीका महासचिव विशाल थामीले भने, “वर्ष 2017-देखि दार्जीलिङ पहाड़मा पूर्णरूपले शान्ति छाएको थियो। कहीं-कतै पनि लड़ाइँ-झगड़ा भएको थिएन। सबैले शान्ति अनुभव गरिरहेका थिए। तर, विमल गुरुङले दार्जीलिङ आउने घोषणा गरेदेखि पहाड़मा विमलपन्थी गोजमुमोका कार्यकर्ताहरूले अशान्ति सृजना गर्ने काम शुरू गरेका छन्।’’

गत केही सप्ताहअघि मात्रै बर्नसबेग चियाकमानबगानमा विनय तामाङपन्थी गोजमुमो कार्यकर्ता चेतनमाथि आक्रमण गरिएको घटना पनि उनले उल्लेख गरे।

चेतनको ढाँड़मा छुरीले प्रहार गरिएको थियो।

“अहिले आएर फेरि 65 वर्षे वृद्धमाथि यसप्रकारको आक्रमण गर्ने कार्य गरिएको छ। जसको पार्टीले कठोर विरोध गर्दछ। साथै दोषीहरूविरुद्ध पुलिस प्रशासनले शीघ्र उचित कारबाही गर्नुपर्छ”, विशाल थामीले थपे।

यसरी नै दावा तामाङका छोरा सञ्जीव तामाङसित सोध्दा उनले आफ्ना पितामाथि हिजो राति लगभग 9 बजीतिर घरभित्रै आक्रमण भएको बताए।

“हाम्रो घर परिवारका सदस्यहरू खाना खाएर पनि सुतिसकेका थिए। त्यसै समय जय विमलको नारा लगाउँदै केही केटाहरू हाम्रो घरमा आएर घरमा रहेको दोकान तोड़फोड़ गरे साथै आप्पालाई कुटपीट गरिरहेका थिए। त्यसपछि ममाथि पनि उनीहरूले आक्रमण गरे।”

विमल गुरुङको नाममा नारा लगाउँदै आफू अनि आफ्नो पितामाथि आक्रमण गर्नेहरू करिब 10-12 जना रहेको पनि सञ्जीवले बताए।

यस घटनाको विरोधमा विनयपन्थी गोजमुमोले आज शहरमा पोस्टरिङ गरी दोषी व्यक्तिहरूलाई शीघ्र पक्राउ गरी उचित सजाय दिने माग गरेको छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here