गुवाहाटी, २३ नोभेम्बर : असमको गोलाघाट जिल्लाको एक चियाकमानमा विषाक्त मदिराको कारण मृत्यु हुनेहरूको सङ्ख्या ९३ पुगेको छ। मृतकहरूमा धेरै महिला छन्। शनिबार बिहानसम्म मृत्यु हुनेहरूको ५९ थियो, जुन बढ़ेर ९३ पुगेको हो।
अहिले एक सयभन्दा अधिक मानिस उपचाराधीन छन्। जसको अवस्था अत्यन्त गम्भीर रहेको बताइएको छ।
मृतकहरूको सङ्ख्या अझ बढ़्ने बताइएको छ। किनभने जोरहाट र गोलाघाट अस्पतालमा भर्ती भएका धेरैजसोको अवस्था सोचनीय छ।
जानकारीका अनुसार २५० भन्दा अधिक मानिसले बिहीबार चियाकमानमा मदिरा पिएका थिए। उनीहरूले एउटै पसलबाट मदिरा किनेका थिए। उनीहरू सबै सालीमिरा चियाकमानमा काम गर्छन्।
असमका मुख्यमन्त्री सर्वानन्द सोनोवालले घटनाको जाँचको आदेश दिएका छन्। घटनालाई लिएर जिल्लाका दुई अधिकारीलाई निलम्बित गरिएको छ।
गोलाघाट सिभिल अस्पतालमा बिरामीहरूको उपचार गरिरहेका एक डाक्टरका अनुसार देशी विषाक्त मदिरा पिउँदा यी मानिसहरूको मृत्यु भएको हो। उनका अनुसार अस्पतालमा ल्याइएका धेरजसो मानिसको अवस्था अत्यन्त गम्भीर छ।
यो घटनाप्रति गहिरो चिन्ता व्यक्त गर्दै मुख्यमन्त्रीले अप्पर असम मण्डल आयुक्त जुली सोनोवाललाई मामिलाको जाँच गर्ने आदेश दिएका छन्। साथै आगामी एक महिनाभित्र यो जाँचको रिपोर्ट सरकारलाई बुझाउने निर्देश दिएका छन्।
मुख्यमन्त्री सोनोवालले राज्यका मुख्यमन्त्री तपन कुमार गोगोइ, सांसद कामाख्य प्रसाद तासा र विधायक मृणाल सैकियालाई घटनास्थलको भ्रमण गर्ने आदेश दिएका छन्।
त्यहीं राज्यका आबकारी मन्त्री परिमल शुक्ल वैद्यले विभागका अधिकारीहरूको एक टीमलाई घटनाको जाँच गर्ने निर्देश दिएका छन्। अर्कोतिर कङ्ग्रेसले आबकारी विभागका मन्त्रीले राजीनामा दिनुपर्ने माग गरेको छ।