जनजाति माग्दै कालेबुङमा धरना

0
1244

कालेबुङ, २३ फरवरीः जनजातिको माग गर्दै कालेबुङ कृषक कल्याण सङ्गठन र गोर्खा इन्डिजिनियस गोर्खा कम्युनिटी फोरम धरनामा बसेका छन्। स्थानीय त्रिकोण पार्कमा बसेको यो धरना साङ्केतिक धरना हो।

भाजपाले आफ्नो वाचा पूरा गर्न पत्तो छाँट नदेखाएकै कारण यी दुई सङ्गठन आज जनजाति माग्दै धरनामा बसेका हुन्।

धरना बसेका दुवै सङ्गठनका नेतृत्वहरूले गोर्खाहरूप्रति भाजपाको नीतिको आलोचना गरे भने सङ्कल्प-पत्रमा वाचा गरिएको जनजातिको मुद्दा यथाशीघ्र पूरा गर्नुपर्ने माग पनि दोहोऱ्याए।

“शायद मार्चदेखि आचारसंहिता लागू हुनेछ। सरकार चुपचाप बसेको छ। सांसदले पनि स्पष्ट रूपमा केही भनेको छैन। अब हाम्रोमा केही विकल्पै रहेन। हामी राजनैतिक दल होइनौँ, महाकाल बाबाको कसम खाँदै घर गएर बस्ने”, कालेबुङ कृषक कल्याण सङ्गठनका महासचिव विष्णु छेत्रीले थपे, “भन्नु नै हो भने हामीले भाजपाले तन, मन र धनले सघाएका हौँ। तर यसरी सरकारले हामीमाथि हेलचेक्रयाइँ गर्छ भने अनशनमा उत्रिनका लागि बाध्य भयौँ। किनभने यो मुद्दा जसरी पनि छिनोफानो गराउनै पर्छ। सरकारले हाम्रो कुरा सुन्नै पर्छ। दिएको वचन पूरा गर्नैपर्छ। यो सपनालाई सपनामै मात्र नराखोस्, विपनामा परिवर्तन गरोस्।”

उनका अनुसार गोर्खाहरू जहिल्यै ठगिँदै आइरहेका छन्। “हामीले बाँकीमा भोट हालेका छौँ। अहिलेसम्म भाजपाले बाँकी नै तिर्दैन”, छेत्रीले थपे, “हामीले भाजपालाई विश्वास गरेर तीनजना सांसद दिइसकेका छौँ।”

कालेबुङमा हिजो सम्पन्न परिवर्तन यात्रामा गोर्खाका दुइवटा मुद्दालाई ठोस रूपमा सम्बोधन नै नगरिएको उनले बताए।

विष्णु छेत्रीले भने, “परिवर्तन कस्तो परिवर्तन? हाम्रो आङमा घामै नलाग्ने त हामीलाई चाहिएन। परिवर्तन भनेको कमसेकम हाम्रो मुद्दाको छिनोफानो होस् न। तब पो परिवर्तन यात्राको सही अर्थ लाग्नेछ। मूल्याङ्कन हुनेछ।”

यी दुई मुद्दाका कालेबुङ कृषक कल्याण सङ्गठन र युनाइटेड इन्डिजिनियस गोर्खा कम्युनिटी फोरममा भने लगातार लागिपर्ने पनि बताए।

सरकारले आफूहरूको मागबारे पत्तो नदिएकै कारण आज धरना बस्नपर्ने युनाइटेड इन्डिजिनियस गोर्खा कम्युनिटी फोरमकी बिनीता खम्बु राईले बताइन्।

उनका अनुसार आजका धरनापछि प्राप्त प्रतिक्रियाको आधारमा अघिल्लो रणनीति तयार पारिनेछ। उल्लेखनीय छ, युनाइटेड इन्डिजिनियस गोर्खा कम्युनिटी फोरमले पछिल्लो ७ फरवरीका दिन जनजातिकै मागमा सिलगढ़ीमा ऱ्याली पनि निकालेको थियो।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here