तृणमूल कङ्ग्रेसको साँचो गठबन्धन हाम्रो पार्टीसित होः विनय

0
1088

मिरिक, २३ फरवरीः आउँदो विधानसभा चुनाउका लागि आजदेखि आफ्नो पार्टी तयार भएको घोषणा विनय तामाङले गरेका छन्।

विधानसभा चुनाउलाई लिएर आज कालेबुङ, गोरुबथान, मिरिक र दार्जीलिङ चुनाउ कमिटीका नेतृत्वहरूलाई लिएर मिरिक सौरेनीको एक रिसोर्टमा गोर्खा जनमुक्ति मोर्चा विनय खेमाको सभा बसिएको थियो, जुन सभामा विधानसभा चुनाउबारे छलफल गरिएको उनले बताएका छन्।

विनयका अनुसार आजको सभामा सरसल्लाह गरिएको छ। साथै भावी कार्यक्रमहरू पनि तय गरिरहेको छ।

यसैगरी उनले आजदेखि चुनाउलाई लिएर पार्टीले साङ्गठनिक सक्रियता बढ़ाउने पनि बताए।

विनयका अनुसार तृणमूल कङ्ग्रेससँग भएको चुनावी सम्झौताअनुसार विधानसभा चुनाउमा पहाड़का तीनवटै सिटमा आफ्नो पार्टीको उम्मेद्वार रहनेछ।

किनभने लोकसभा चुनाउमा विनयपन्थी मोर्चाले तृणमूल कङ्ग्रेसलाई र विधानसभा चुनाउ तृणमूल कङ्ग्रेसले विनयपन्थी मोर्चालाई सघाउने अघिबाटै सम्झौता भइसकेको विनयको भनाइ छ।

“दार्जीलिङ पहाड़का तीनवटै विधानसभा क्षेत्रमा हामी (गोजमुमो विनय खेमा) उम्मेदवार दिएका हुनेछौँ”, तामाङले  थपे, “हाम्रो पार्टी अड़ान के हो भने पहाड़का तीनवटै विधानसभा क्षेत्रमा हाम्रो उम्मेदवार रहनेछ।”

साथै विधानसभा चुनाउमा राज्य सरकारसँग सम्बन्धित जनताका इच्छा, आकांक्षा र आवश्यकतालाई हेरेर चुनावी घोषणा-पत्र तयार गर्ने पनि विनयले बताए।

अर्कोतिर, उनले विमल गुरुङपन्थी गोजमुमो तृणमूल कङ्ग्रेसको गठबन्धनको  हिस्सा होइन भन्ने कुरा किटान गरेर भन्न सकिने बताए।

“प्रशान्त किशोरको रणनीति एउटा हिस्सा हो विमल गुरुङ। अल इन्डिया तृणमूल कङ्ग्रेसको गठबन्धनको हिस्सा भने होइन‘’, विनयले भने।

किनभने अहिलेसम्म तृणमूल कङ्ग्रेस र विमल गुरुङबाट संयुक्त रूपमा गठबन्धनबारे आधिकारिक बयान दिइएको कुनै मिडिया रिपोर्टमा नआएको, जबकि आफू र तृणमूल सुप्रिमो ममता ब्यानर्जी एकै ठाउँमा बसेर आफूहरूको दुई पार्टी गठबन्धनमा रहेको बयान धेरैपटक रूपमा दिइसकेको विनयको भनाइ छ।

“अल इन्डिया तृणमूल कङ्ग्रेसको साँचो गठबन्धन विनय खेमासित हो”, तामाङले दोहोऱ्याए।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here