दार्जीलिङ, 23 मार्चः राज्य सरकारको निर्देशअनुसार, आज (सोमवार) साँझ 4 बजेदेखि दार्जीलिङ, खरसाङ, कालेबुङका साथै सिलगढ़ी शहरमा पनि लकडाउन शुरु भयो।
आज 4 बजेदेखि दार्जीलिङ जिल्लाका मुख्य शहरहरूमा पनि लकडाउन शुरू हुने खबर पाएको कारण नै आज बिहानदेखि यी शहरहरूमा सौदापात गर्नेहरूको निकै भीड़ जमेको थियो।
यद्यपि, राज्य सरकारले यस लकडाउनको समय पनि राशिन दोकान, सब्जी, माछा-मासुको दोकान साथै अन्य आवश्यक सेवाहरूलाई खुल्लै राख्ने घोषणा गरिसकेको छ।
आज साँझ 4 बजेदेखि शुरु भएको लकडाउन आउँदो 27 मार्चको मध्य राति 12 बजीसम्म जारी रहनेछ, यसैकारण नै यहाँका अधिकांश मानिस आवश्यक खाद्यान्न आदि किन्न आज बिहानदेखि नै बजारमा निस्केका थिए।
कोरोना भाइरसबाट बच्ने एउटै मात्र उपाय नै आफैलाई सबैबाट अलग राख्नु हो भन्ने कुरा मानिसहरू सबैले थाह पाइएसकेका छन्।
तरै पनि आज दार्जीलिङ शहरमा सौदापात किन्नेहरूले हतारोमा स्वयंलाई अन्यबाट अलग राख्ने भन्ने विषयमा हेक्कै नराखेको देखियो।
खासमा दार्जीलिङ शहर साँघुरो रहेको कारण मानिसहरूको घुइँचो लागेको हो।
अर्कोतिर, दार्जीलिङ नगरपालिका बोइज स्कूलले आफ्ना विद्यार्थीहरूलाई मीड डे मील योजनाअनुसार, आज 2 किलो चामल र 2 किलो आलु प्रदान गर्यो।
विद्यार्थीहरूलाई चामल र आलु वितरण गर्दा विद्यार्थीहरूलाई एकार्कादेखि निकै टाढ़ा-टाढ़ा राख्ने व्यवस्था स्कूलले गरेको थियो।
कोरोना भाइरसको सङ्क्रमणबाट एकैजना पनि विद्यार्थी प्रभावित नहोस् भन्ने विषयलाई ध्यानमा राखेर नै स्कूल प्रशासनले विद्यार्थीहरूलाई एकार्काबाट टाढ़ा राखेको हो।
अर्कोतिर, खरसाङ र कालेबुङ पनि आज अपराह्नदेखि लकडाउन भएको छ। यसभन्दा अघि अत्यावश्यक सामग्रीहरू जोहो गर्नका लागि बजारमा मानिसहरूको भीड़ लागेको थियो।