पीयूष गोयल र मलय घटकलाई विष्टको पत्र, यथाशीघ्र चियाकमान बन्द गरिनुपर्ने माग

0
1825

दार्जीलिङ, 23 मार्चः   कोरोना भाइरसको बढ़्दो खतरालाई ध्यानमा राखेर दार्जीलिङ पहाड़, तराई डुवर्सका सबै चियाकमान बन्द राखिनुपर्ने सांसद राजु विष्टले माग गरेका छन्।

यस माग सम्बन्धमा सांसदलाई जोइन्ट फोरमले एक पत्र पनि पठाएको थियो।

कोरोना भाइरसको खतरा चियाकमानहरूमा अझ बढ़ी रहेकाले पहाड़, तराई र डुवर्सका सबै चियाकमानलाई यथाशीघ्र बन्द राखिनुपर्ने माग उनले गरेका हुन्।

यसै मागमा आज सांसद विष्टले केन्द्रिय वाणिज्य एवं उद्योग मन्त्री पीयूष गोयलसँग भेट गर्नका साथै राज्यका श्रम मन्त्री मलय घटक र टी बोर्ड अफ् इन्डियाका पदाधिकारीहरूलाई पत्राचार गरेका छन्।

सोमवार एक प्रेस विज्ञप्ति जारी गरी सांसद राजु विष्टले यसबारे जानकारी गराएका छन्। यसका साथै उनले बन्दअवधिको रोज चियाश्रमिकहरूले पाउनुपर्ने पनि माग पनि गरेका छन्।

बङ्गाल सरकारले कोरोना भाइरसको खतराबाट बच्नका लागि आजदेखि शुरु गरेको पूर्ण सुरक्षा प्रतिबन्ध (कम्प्लिट सेफ्टी रेस्ट्रिक्शन)-कै हिस्साको रूपमा उत्तर बङ्गालका सबै चियाकमान पनि बन्द गरिनुपर्ने माग सांसदको छ।

यसैगरी उनले चियाकमानहरूमा रहेका अस्पताल र औषधालयहरूमा कोभिड-19 को परीक्षण र आइसोलेशन सेन्टर स्थापना गर्नुपर्ने, प्रत्येक चियाकमानमा जानकारहरूको एक ‘टास्क फोर्स’ गठन गरी त्यस टास्क फोर्समार्फत् चियाश्रमिक र उनीहरूका परिवारहरूलाई सफा सुग्घर र सुरक्षित बस्न, बिरामी र उनीहरूका परिवारलाई परामर्श दिने कार्य गरिनुपर्ने पनि बताएका छन्।

अर्कोतिर, उनले बन्द र परित्यक्त चियाकमानका श्रमिकहरूलाई आपात्कालीन आर्थिक सहयोग, खाद्यान्न, पानी, बिजुली र स्वास्थ्य सेवा उपलब्ध गराउनुपर्ने माग पनि गरेका छन्।

यसका साथै सांसद राजु विष्टले केन्द्रिय वाणिज्य एवं उद्योग मन्त्री पीयूष गोयल, बङ्गालका श्रम मन्त्री मलय घटक र टी बोर्ड अफ् इन्डियाका पदाधिकारीहरूले 20-25 लाख चियाश्रमिक सम्बन्धित आफ्ना यी मागहरूमा गम्भीरपूर्वक विचार गरी चाँड़ोभन्दा चाँड़ो समाधानका लागि पदक्षेप उठाउनेछन् भन्ने कुरामा आफू विश्वस्त रहेको बताएका छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here