दार्जीलिङ, २३ मार्चः भारतीय जनता पार्टीले आज पहाड़का विधानसभा समष्टिका लागि घोषणा गरिएका उम्मेदवारहरूको चयन लिएर गोर्खा राष्ट्रिय मोर्चाले घोर विरोध जनाएको छ।
यससम्बन्धमा गोरामुमो अध्यक्ष मन घिसिङले एक प्रेस विज्ञप्ति जारी गरेका छन्।
मन घिसिङद्वारा जारी गरिएको प्रेस विज्ञप्ति यहाँ जस्ताको त्यस्तै राखेका छौँ-
म गोर्खा राष्ट्रिय मुक्ति मोर्चा केन्द्रिय समितिको हैसियतले आधिकारिक विज्ञप्ति जारी गर्दछु। भारतीय जनता पार्टीसँग सम्पर्क यथावत राख्दै भर्खरै मात्र भारतीय जनता पार्टीले बिधान सभा चुनावको निम्ति घोषणा गरिएको दार्जीलिङ, खरसाङ अनि कालेबुङका लागि जारी गरेको विधानसभा क्षेत्रको प्रार्थीको निम्ति घोर बिरोध गर्दछौँ। आउँदो दिनको रणनीतिको निम्ति चाँड़ै नै केन्द्रिय समितिको बैठक बसेर निर्णय गर्नेछौं।
मन घिसिङ, अध्यक्ष
गोर्खा राष्ट्रिय मुक्ति मोर्चा, केन्द्रिय समिति।
यसैबीच गोरामुमो केन्द्रिय प्रवक्ता महेन्द्र छेत्रीले बताएअनुसार गोरामुमोको विरोध प्रार्थी चयनलाई लिएर हो।
“हाम्रो विरोध प्रार्थी चयनमाथि हो”, छेत्रीले जनसंवादसँग टेलिफोनिक कुराकानी गर्दै थपे, “हामी यस विषयमा आजै केन्द्रिय समितिको बैठक बस्दैछौँ।”
गोरामुमोले शुरूदेखि नै पहाड़का तीनैवटा आसनमा आफ्नो उम्मेदवार हुनुपर्ने माग गर्दै आइरहेको थियो। तर प्रार्थी घोषणामा यस्तो हुनसकेन।