भाजपाको घोषणालाई क्रामाकपाले जनायो विरोध, तीनवटै आसनमा चुनाउ लड़्ने

0
1402

दार्जीलिङ, २३ मार्चः पहाड़का तीनैवटा आसनमा आफ्ना उम्मेदवार खड़ा गर्ने भारतीय जनता पार्टी (भाजपा)-को घोषणालाई क्रान्तिकारी मार्क्सवादी कम्युनिस्ट पार्टी (क्रामाकपा)-ले एकलकाँटे निर्णयको संज्ञा दिँदै घोर विरोध जनाउनका साथै पहाड़का तीनैवटा आसनबाट आफ्नै उम्मेदवार खड़ा गरेको छ।

क्रामाकपाले दार्जीलिङबाट सुनिल राई, खरसाङबाट अरुण घतानी र कालेबुङबाट किशोर प्रधानलाई टिकट दिइएको छ।

आज दार्जीलिङमा केन्द्रिय कमिटी र महापरिषद्को लामो चर्चा र छलफलपछि क्रामाकपाले पहाड़का तीनैवटा आसनबाट आफ्ना उम्मेदवार उठाउने निर्णय गरेको हो।

आज एक विज्ञप्ति जारी गरी यसबारे जानकारी गराइएको छ।

 ‘क्रामाकपाले २०१९ –को लोकसभा चुनाउमा भाजपाले शीर्ष नेतृत्वहरूसित गोर्खा जातिको राष्ट्रिय चिह्नारीको सवालमा समाधान गर्ने स्पष्ट आश्वासन र भाजपाको राष्ट्रिय सङ्कल्प-पत्रमा ‘स्थायी राजनीतिक समाधान’ गरिने कुरा उल्लेख गरिएपछि भाजपाजस्तो साम्प्रदायिक र दक्षिणपन्थी दललाई क्रामाकपाले समर्थन दिएर विजय तुल्याएको हो। यसैअनुरूप जातीय हितमा भाजपासित गठबन्धनमा नै रहेर  अघि बढ़्ने दृढ़ता राखेको हो, जसका लागि पार्टीले गठबन्धन दलहरूसित छलफल गर्ने प्रयास गरिएको हो। तर, गठबन्धन दलहरूको भावना दार्जीलिङ पहाड़का मानिसहरूका क्षेत्रीय आकांक्षाको वास्ता नगरी निर्णय लिँदै पहाड़का तीनवटा आसनको निम्ति उम्मेदवार घोषणा गरियो’, क्रामाकपाले विज्ञप्तिमा भनेको छ, ‘भाजपाको एकतर्फी घोषणाले गठबन्धनको धर्ममा आघात पुऱ्याएको छ। यद्यपि क्रामाकपाले सांसदलाई २०२४ सम्मको निम्ति साथ दिएको हो। यसलाई यथावत् राख्दै उनीहरूको एकलकाँटे निर्णयको घोर विरोध गर्दछ। २०२१-को विधान सभा चुनाउमा लिएको एकबद्ध भएर अघि बढ़्ने सिद्धान्तबाट भने क्रामाकपा पछि हटेको छैन। त्यसर्थ,  विकल्प मार्ग खोज्ने निर्णय गरेको छ। तथापि समयकाल र परिस्थितिलाई ध्यानमा राख्दै  पार्टी निम्न व्यक्तिहरूलाई उम्मेदवारको रूपमा कालेबुङबाट किशोर प्रधान, दार्जीलिङबाट सुनिल राई र खरसाङबाट अरुण घतानीलाई उम्मेदवारका रूपमा चयन गरिएको छ।’

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here