हिल तृणमूल युवा एकाइले स्वतन्त्र उम्मेदवारको रूपमा उताऱ्यो रमेश कड़रिया

0
1530

दार्जीलिङ, 23 मार्चः दार्जीलिङ हिल तृणमूल कङ्ग्रेसको युवा एकाइले दार्जीलिङ विधानसभा आसनबाट आफ्नै स्वतन्त्र उम्मेदवार खड़ा गरेको घोषणा गरेर पार्टीभित्रै विद्रोह शुरू गरेको छ।

तृणमूल कङ्ग्रेस युवा एकाइले दार्जीलिङबाट युवा एकाइका महासचिव रमेश कड़रियालाई उम्मेदवार बनाएपछि पार्टीभित्र निकै खलबली मच्चिएको छ, तरै पनि यसमाथि पार्टीले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन।

गोर्खा जनमुक्ति मोर्चा दुवै खेमाले दार्जीलिङ पहाड़मा आफ्नै बलबुतामा लड्ने अनि तृणमूल कङ्ग्रेसको कुनै सहयोग नलिने बताएपछि नै तृणमूल युवा कङ्ग्रेसले दार्जीलिङ पहाड़मा पार्टीको अस्तित्व रक्षा गर्न आफ्नै उम्मेदवार उठाएको बताएको छ।

कड़रियाले भने, “हामी राज्यमा तृणमूल कङ्ग्रेसकै सरकार गठन भएको हेर्न चाहन्छौँ।  अनि राज्यमा तृणमूल कङ्ग्रेसनेतृ ममता ब्यानर्जी तेस्रोपल्ट मुख्यमन्त्री होस् भन्ने चाहेका छौँ। तर, पार्टीनेतृ ममता ब्यानर्जीले दार्जीलिङ पहाड़का तीनवटा आसन साथी पार्टीहरूका लागि खुल्ला छोड़िदिएकी छन्।”

उनका अनुसार साथी पार्टीहरूले दार्जीलिङ हिल तृणमूल कङ्ग्रेसलाई कुनै पत्तो नदिएपछि यहाँ पनि युवा तृणमूल कङ्ग्रेस कार्यकर्ताहरूले आफ्नै उम्मेदवार खड़ा गर्ने निर्णय लिएका हुन्, जसलाई पार्टीको चिह्नमा होइन, स्वतन्त्र उम्मेदवारका रूपमा मैदानमा उतारेका हुन्।

यसरी नै तृणमूल कङ्ग्रेसका युवा नेता दिनेश गुरुङले भने, “दार्जीलिङबाट खड़ा भएका युवा नेता कड़रियाको जीत भएपछि उनले तृणमूल कङ्ग्रेसलाई नै साथ दिनेछन् अनि दार्जीलिङबाट कड़रियाले 15 हजारभन्दा अधिकको मतान्तरले जीत हासिल गर्ने कुरामा हामी विश्‍वस्त छौं।”

स्मरण गराइन्छ, रमेश कड़रिया 2016-मा तृणमूल कङ्ग्रेसमा सामेल भएका हुन्, जो त्यसअघि माकपामा थिए। जुन समय उनी माकपाको युवा एकाइ डीवाईएफआईका दार्जीलिङ जिल्ला समिति सभापतिका साथै राज्य सचिव मण्डली सदस्यको पदमा आसिन थिए।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here