दार्जिलिङ, २३ मार्चः ओरेञ्जभ्याली चियाकमानका प्रबन्धक उपेन्द्र कुमारले सुइँकुच्च ठोकेपछि उनीविरुद्ध दार्जिलिङ सदर थानामा प्राथमिकी दर्ता गरिएको छ।
यो प्राथमिकी श्रमिकहरूका पक्षमा हिमालयन प्लान्टेसन वर्कर्स युनियन र हिल, तराई डुवर्स वर्कर्स युनियनले संयुक्त रूपमा गरेका हुन्।
प्राथमिकीको प्रतिलिपि डीटीए र एएलसीलाई बुझाइएको छ।
जानकारी गराएअनुसार ओरेञ्जभ्याली चियाकमानका ओभी डिभिजन र ब्लुमफिल्ड डिभिजनका श्रमिक हरूका लागि वर्ष २०२२-२३ को माग पत्र पछिल्लो १९ मार्चका दिन प्रबन्धकसमक्ष राखिएको थियो, तर उक्त माग-पत्रलाई आँखीओझेल गर्दै दुई बेला पत्ती टिप्न जाने प्रबन्धकपक्षबाट श्रमिकहरूलाई आदेश जारी गरिएपछि सम्पूर्ण श्रमिकले यस आदेशको विरोध जनाएका थिए।
जबसम्म आफूहरूका माग पूरा हुँदैन तबसम्म एक बेला मात्र पत्ती टिप्न जाने अडान लिएका श्रमिकहरूले आज प्रबन्धकलाई भेट्न जाँदा ती प्रबन्धक कमान छाडेर गएको र फोनसमेत बन्द राखेको बताइएको छ।
यति मात्र होइन, मुख्य प्रबन्धकले कमान छाडेर गएको जानकारी सहप्रबन्धक विकास प्रधानलाई पनि नभएको जनाइएको छ।