भाजपाले गठबन्धन नगर्ने, आफ्नै बुतामा चुनाउ लड्ने

0
473

गान्तोक, 23 मार्चः सिक्किम विधानसभा र लोकसभा चुनाउका लागि भारतीय जनता पार्टीले कसैसँग गठबन्धन नगर्ने निर्णय गरेको छ।

भाजपा सिक्किम प्रदेश अध्यक्ष डीआर थापाले दार्जिलिङ टक्ससँगको टेलिफोनिक कुराकानीमा भने, “भाजपा आफ्नै बुतामा एक्लै चुनाउ लड्नेछ। कुनै राजनीतिक दलसँग गठबन्धन गर्नेछैन।”

थापाका अनुसार भाजपाले आज साँझ र भोलि आफ्ना उम्मेदवारहरूका नाम घोषणा गर्नेछ।

आउँदो 19 अप्रेलका दिन सिक्किम विधानसभा चुनाउको मतदान हुनेछ। सिक्किम विधानसभामा 32 सिट छन्।

यसै दिन सिक्किममा लोकसभा चुनाउको मतदान पनि हुनेछ।

पछिल्लो समय राज्यसभाको चुनाउमा भाजपा उम्मेदवार डीटी लेप्चालाई सत्तारूढ एसकेएम पार्टीले समर्थन गरेपछि पनि विधानसभा र लोकसभा चुनाउमा भाजपा र एसकेएमले गठबन्धन गर्ने प्रायः निश्चित थियो। निश्चित यसकारण पनि किनभने निवर्तमान सरकारमा पनि यी दुवै दलको गठजोड थियो। तर, यसपटक गठबन्धनमा सहमति नबनेको बताइएको छ।

भाजपा र एसकेएमको गठबन्धन हुननसकेका कारण भने डीआर थापाले खुलाएका छैनन्।

यसैबिच, आज आफ्ना उम्मेदवार विषयमा भाजपाले  गान्तोकमा बैठक गर्दैछ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here