यो गणतन्त्रको जीत भयो, जनताले बुलेटको जवाफ ब्यालेटले दिए : विमल

0
1279
विमल गुरुङ (फाइल फोटो)।

दार्जीलिङ, २३ मई : गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो)  प्रमुख विमल गुरुङले दार्जीलिङको लोकसभा सीट र विधानसभाको उपचुनाउमा भारतीय जनता पार्टीको जीतलाई गणतन्त्रको जीत भएको बताएका छन्।

लोकसभामा राजु विष्ट र विधानसभामा नीरज जिम्बाको जीतपछि अडियो जारी गरी गुरुङले भनेका छन्, “यो जीत गणतन्त्रको जीत हो। पहाड़मा जुन तानाशाही राजनीति थियो, पुलिस प्रशासनको जुन अन्याय-अत्याचार थियो, हाम्रा ११ जना नानीहरूलाई मार्ने बङ्गालविरुद्ध जवाफ दिएका छन्।”

गुरुङले यी दुई जीतमा आफूले पछिल्ला २२-२३ महिनामा भोगेका दुःख कष्ट बिर्सिएर अत्यधिक रमाएको पनि बताएका छन्। यसका साथै भाजपाको जीतले विनय तामाङ र अनित थापाहरूले जुन चौकी ओगटेर बसेका छन्, त्यसका लागि उनीहरू योग्यको छैनन् भन्ने पनि स्पष्ट पारेको गुरूङको भनाइ छ।

विमलले भनेका छन्, “आफ्नै गाउँको, आफ्नै घर छेउको बूथमा पनि हार्ने नेताहरूले आज ठूल्ठूला उपाधि दिएर, जनतालाई आतङ्कित पारेर, पैसामा किन्ने काम गरेर, हाम्रा शिक्षि-शिक्षिकावर्गलाई रोजगारको लोभ देखाएर, पसल र फुटपाथका पसलमा बस्ने हाम्रा दाजुभाइ, दिदी-बहिनीहरूलाई डर देखाउँदा पनि हाम्रा दाजु-भाइ दिदी-बहिनी र आमा-बाबाहरूले हाम्रो जातिलाई, अस्तित्व अस्मिता र शहीदहरूको सपनालाई पूरा गर्न बुलेटको जवाफ ब्यालेटले दिएका छन्।”

यो जीत बङ्गालको शासन प्रणालीविरुद्ध गतिलो जवाफ भएको मोर्चा प्रमुखको ठहर छ। उनले लोकसभा र विधानसभामा सहयोग गर्ने सबैप्रति पनि आभार प्रकट गरेका छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here