गान्तोक, २३ मईः सिक्किममा कोरोना भाइरसको पहिलो मामिला प्रकाशमा आएको छ।
यससँगै सरकारको उच्च सतर्कता र विशिष्ट पहलले आजका दिनसम्म सुरक्षित रहेको सिक्किममा कोरोना भाइरसले प्रवेश गरेको छ।
राज्यका दक्षिण जिल्लानिवासी २५ वर्षीय युवक कोरोना सङ्क्रमित बनेका आज स्वास्थ्य सचिव डा. पेम्बा छिरिङ भोटियाले पुष्टि गरेका छन्।
आज राज्य सचिवालय टाशिलिङमा एक पत्रकार सम्मेलन डाकेर उनले जानकारी गराएअनुसार कोरोना सङ्क्रमित पुष्टि भएका ती युवक पछिल्लो १७ मईका दिन दिल्लीबाट वाहनमा सवार भई सिलगढ़ीसम्म आएका थिए।
१९ मईका दिन सिलगढ़ी आइपुगेका यी युवक एसएनटी बसमा सवार भई दक्षिण सिक्किम फर्केका थिए।
स्वास्थ्य सचिव भोटियाका अनुसार उक्त बसमा ती युवकलगायत १२ जना थिए, जसमा दक्षिण सिक्किमका तीन र पश्चिम सिक्किमका ९ जना सवार थिए।
उनका अनुसार जेएनभी रोहतकमा रहेको क्वारेन्टिनमा रहेका ती युवकलाई पछिल्लो २१ मईका दिनदेखि ज्वरो आएपछि नाम्ची पठाएपछि त्यहाँबाट गान्तोक एसटीएनएममा रेफर गरिएको थियो।
अहिले कोरोना सङ्क्रमित युवक एसटीएनएममा उपचाराधीन छन्।
स्वास्थ्य सचिवका अनुसार युवक दिल्लीस्थित हैदरपुरमा कोचिङ क्लास गर्दैथिए। उनीसँगै आएकाहरूको पनि टेस्ट गरिने स्वास्थ्य सचिवले बताएका छन्।
यसका साथै सिलगढ़ीबाट मल्लीसम्म आएको बसका चालकलाई पनि टेस्ट गरिने डा. भोटियाले जानकारीका गराएका छन्।
स्वास्थ्य सचिव डा. पेम्बा छिरिङ भोटियाका अनुसार यात्रा विवरण दिल्ली रहेका कारण हिजै नमूना जाँच गर्दा पोजिटिभ आएको थियो।
त्यसपछि आज पुनः नमूना जाँचका लागि उत्तर बङ्गाल मेडिकल कलेज एवं अस्पतालको भाइरल रिसर्च एन्ड डायग्नोस्टिक ल्याबरोटेरी (भीआरडीएल) पठाइएको थियो भने आज अपराह्न रिपोर्ट पुनः पोजिटिभ आएको उनले बताए।