दार्जीलिङ, 22 मईः जीटीए बीओएका अध्यक्ष अनित थापाको अपीलपछि फेरि दार्जीलिङ शहरका हार्डवेयर, लुगा, जुत्ता, कस्मेटिकका दोकानहरू बन्द भए।
दुई दिनअघिदेखि दार्जीलिङ, खरसाङ र कालेबुङका अधिकांश दोकान खोलिएपछि जीटीए बीएओका अध्यक्ष थापाले गम्भीर चिन्ता व्यक्त गरेका थिए।
यसैले आउँदा 20-25 दिनसम्म अत्यावश्यक सामग्रीहरूका दोकानहरू मात्रै खोलेर अन्य दोकानहरूलाई बन्द नै राखिदिने उनले हिजो अपील गरेका थिए।
जु अपीलपछि आज दार्जीलिङ शहरका अधिकांश दोकान पुनः बन्द भएपछि धेरै मानिसले खुशी व्यक्त गरेका छन्।
तरै पनि आज दार्जीलिङ शहरका अधिकांश दोकान बन्द रहे पनि मानिसहरूका भीड़ निकै देखिएको थियो।
यसैबीच, आज आफ्नो दोकान बन्द राखेर दोकानबाहिर बसिरहेका एक व्यापारीसित प्रश्न गर्दा उनले हार्डवेयर, लुगा, जुत्ता, सुन-चाँदी, कस्मेटिकका दोकानहरू अझै केही दिनसम्म बन्द नै रहेमा असल रहेको बताए।
उनका अनुसार देशका विभिन्न राज्यहरूमा काम गर्न, पढ्न तथा अन्य कामले गएका मानिसहरू आ-आफ्ना घर फर्किन थालेपछि कोरोना सङ्क्रमण पनि पहाड़मा भित्रिने प्रबल सम्भावना छ।
यसैले दार्जीलिङ पहाड़का सम्पूर्ण मानिस बाहिरबाट आई कम्तीमा दुई-तीन सातासम्म आफ्नै घरमा बसेमा तथा उनीहरूमा कोरोनाको कुनै सङ्क्रमण देखा नपरेमा यहाँका सम्पूर्ण दोकान खोलिएको उचित हुने उनको भनाइ छ।
दार्जीलिङ पहाड़मा कोरोना सङ्क्रमणको उपचारका लागि अहिलेसम्म ठोस व्यवस्था भइहालेको छैन, न यसको औषधि नै विश्वले बनाउन सकिरहेको छ।
“यसैकारण हाल केही समयसम्मका लागि दार्जीलिङ पहाड़का शहरहरूलाई केही सातासम्मका लागि नै बन्द गर्ने थापाको अपील सही हो’’, यी व्यापारीले भने।
यसैबीच, जीटीए बीओएका अध्यक्ष थापाले एक विज्ञप्ति जारी गर्दै दार्जीलिङ़ पहाड़का व्यापारीवर्गप्रति आभार व्यक्त गरेका छन्।
उनले विज्ञप्तिमा बताएअनुसार, दार्जीलिङ पहाड़लाई कोरोनाको सङ्क्रमणबाट सुरक्षित राख्न हिजो मैले गरेको अपीलको कारण च्याम्बर अफ् कमर्सको सक्रियतामा आज दार्जीलिङ पहाड़का आवश्यक सर-सामग्रीका दोकानहरूबाहेक अन्य दोकानहरू बन्द गरियो।
यस महत्त्वपूर्ण सहयोग र सकारात्मक सोचका लागि सम्पूर्ण व्यापारीवर्गप्रति उनले आभार व्यक्त गरेका छन्। साथै उनीहरूका यसै सकारात्मक सोच र सहयोग नै कोरोनासित लड़्ने ऊर्जा रहेको थापाले बताएका छन्।
‘कोरोनाको महामारीले वैश्विक स्तरमा नै आर्थिक स्थिति डाँवाडोल बनाइरहेको यो अवस्थामा दार्जीलिङ पहाड़का व्यापारीहरूलाई के कस्तो प्रभाव अनि मर्का परिरहेको छ, त्यसको अनुभव छ। तथापि, यो स्थिति नै नाजुक छ। वर्तमान गम्भीर अवस्थालाई बुझेर आर्थिक नोक्सानीलाई पन्साएर भए पनि पहाड़का व्यापारीवर्गले पहाड़वासीको सुरक्षाको निम्ति सहर्ष दोकानपाटहरू बन्द गरिदिएर पहाड़वासीमाथि ठूलो गुण लगाएका छन्’, अनित थापाले विज्ञप्तिमा भनेका छन्, ‘एकार्काको सहयोगबिना हामी यो युद्ध जित्न सक्नेछैनौं। यो युद्ध जित्नलाई पहाड़का हरेक व्यक्तिको सहयोग अनि योगदानको हामीलाई खाँचो छ। तपाईंहरूका सहयोग र हातेमालो गरी हामी कोरोनाबाट दार्जीलिङ पहाड़लाई सुरक्षित बनाउन सक्नेछौं। यो हाम्रो प्रतिबद्धता हो।‘