दार्जीलिङ, २३ जूनः मिरिक ड्रग्सकाण्डविरुद्ध तथा ड्रग्सको तस्करीमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरी कठोर कारबाही गरिनुपर्ने मागमा आम नागरिकहरूले गरिरहेको आन्दोलनबारे आफूले राज्यपाल जगदीप धनखड़ र केन्द्रीय गृहमन्त्री अमित शाहको ध्यानाकर्षण गराएको दार्जीलिङका सांसद राजु बिष्टले बताएका छन्।
यति मात्र होइन, मिरिकका जनताले यस क्षेत्रमा लागूपदार्थको तस्करीको मामिलामा केन्द्रीय एजेन्सीद्वारा जाँच गराउने माग गरेका कारण, जनताका भावनालाई सम्मान गर्दै राज्यपाल र गृहमन्त्रीसमक्ष दार्जीलिङ पहाड़, तराई र डुवर्स क्षेत्रमा लागूपदार्थ तस्करीको सञ्जालको पूर्ण एवं निष्पक्ष जाँच गराउनका लागि केन्द्रीय एजेन्सी नार्कोटिक्स कन्ट्रोल ब्यूरोलाई दायित्व दिने सम्बन्धमा उनीहरूद्वयको हस्तक्षेपका लागि अनुरोध गरेको पनि सांसदले बताएका छन्।
जारी एक विज्ञप्तिमार्फत बिष्टले यसबारे जानकारी गराएका हुन्।
साथै यस विषयलाई नार्कोटिक्स कन्ट्रोल ब्युरोका महानिदेशक राकेश अस्थानासमक्ष पनि उठाउने उनले बताएका छन्, ताकि लागू पदार्थ तस्करीको सञ्जाल र संलग्नताको उचित र निष्पक्ष जाँच यथाशीघ्र गर्न सकियोस्।
बिष्टका अनुसार उनले मिरिकका जनता र विभिन्न सङ्गठनबाट थुप्रै उजुरी-पत्र प्राप्त गरेका छन्, जसमा राजनीतिसँग सम्बन्धित केही व्यक्ति र केही प्रशासनिक अधिकारी लागू पदार्थ तस्करहरूलाई संरक्षण र सुरक्षा दिने कार्यमा सक्रिय संलग्न रहेको बताइएको छ।
यसैगरी नेपाल, भोटाङ, बङ्ग्लादेश र चीनजस्ता चार देशसँग अन्तर्राष्ट्रिय सीमा जोड़िएको तथा देशकै अत्यन्त संवेदनशील र महत्त्वपूर्ण ‘चिकन नेक’ क्षेत्र दार्जीलिङ पहाड़, तराई एवं डुवर्सलाई लागू पदार्थ र हात-हतियारका तस्करहरूले लगातार दुरुपयोग गरिरहेको र तस्करहरूले यो क्षेत्रलाई तस्करी गतिविधिको केन्द्रमा परिणत गरेको विषयमा पनि राज्यपाल र गृहमन्त्रीलाई जानकारी गराएको बिष्टले विज्ञप्तिमा उल्लेख गरेका छन्।
लागू पदार्थको तस्करीबाट आएको रकम देशविरुद्ध आतङ्की गतिविधिका लागि वित्तपोषणमा प्रयोग भइरहेको डर र आशङ्का राज्यपाल र गृहमन्त्रीसँग आफूले साझा गर्नका साथै माथिबाट राजनीतिक दबाउका कारण पुलिसले ड्रग्स तस्करविरुद्ध निष्पक्ष जाँच गर्न नसक्ने स्थितिबारे यहाँका जनताको मनमा रहेको आशङ्काबारे उनीहरूलाई अवगत गराएको विज्ञप्तिमा थप बताएका छन्।
अर्कोतिर सांसद राजु बिष्टले आफू मिरिकका जनताको साथ उभिएको बताउँदै ड्रग्सविरुद्ध एकजुट देखाएर अघि आएकोमा पनि उनीहरूलाई धन्यवाद दिएका छन्।
‘हाम्रो समुदाय र देशको भविष्य बर्बाद गर्नमा संलिप्त अपराधीहरूलाई सजाय दिलाउन उनीहरूले गरेका यस पहलप्रति म आफ्नो ऐक्यबद्धता एवं समर्थन व्यक्त गर्दछु’, सांसद राजु बिष्टले थप भनेका छन्, ‘लागू पदार्थको तस्करीमा संलिप्त कोही पनि सजायबाट बच्न सक्नेछैन, चाहे तिनीहरू सामान्य नागरिक होऊन् वा सरकारी कर्मचारी होऊन्। सबैले कानूनको सामना गर्नु नै पर्नेछ।‘