दार्जीलिङ, २३ जुलाई : मङ्गलबार दार्जीलिङस्थित महारानी कन्या उच्चतर माध्यमिक विद्यालयमा भानु-रवीन्द्र स्मरण दिवस पालन गरियो। २०५औं भानु जयन्तीको उपलक्ष्यमा उक्त विद्यालयले आज द्विभाषिक कार्यक्रम आयोजन गरेको थियो।
कार्यक्रम भानुभक्त आचार्य र रवीन्द्रनाथ टेगोरमाथि केन्द्रित रहेको थियो, जसमा विद्यार्थीहरूले नेपाली र बङ्ग्ला भाषाका कविताहरू वाचन गरेका थिए। त्यस्तै रवीन्द्र सङ्गीत र नृत्य प्रस्तुत गर्नका साथै रामायण पनि पाठ गरिएको थियो।
जानकारीका अनुसार कार्यक्रममा विद्यालयका शिक्षिका ज्ञानी राईले भानुभक्तको जीवनीमाथि प्रकाश पारेकी थिइन् भने अर्का शिक्षिका वन्दना खेसाङले रवीन्द्रनाथ टेगोरको दार्शनिक पक्षमा संक्षिप्त वार्ता राखिन्। यी दुई श्रेष्ठ कवि र उनीहरूले आ-आफ्नो भाषा-साहित्यबारे दिएको योगदानबारे अवगत गराउनका साथै विद्यार्थीहरूमा निहित प्रतिभा प्रस्फुटनका लागि समुचित मञ्च प्रदान गर्नका लागि महारानी कन्या उमाविले आज उक्त कार्यक्रम आयोजन गरेको बताइएको छ।
कार्यक्रममा बोल्दै विद्यालयकी प्रधानाध्यपिका उमादेवी छेत्रीले कार्यक्रममा शिक्षिकावर्ग र विद्यार्थीहरूको ऊर्जापूर्ण सहभागिता र उपस्थितिप्रति आभार प्रकट गर्दै भाषा-साहित्यसम्बन्धी यसखाले कार्यक्रममा यस्तै उपस्थिति र सहभागिताको आउँदो दिनमा पनि आशा साँचिन्।