कालेबुङ, 22 जुलाईः भूटान सीमामा अवस्थित बिन्दुमा रहेको गोदक खोलाले दुई बालिकालाई बगाएको छ।
यो घटना हिजो अपराह्न करिब 2.30 बजे घटेको हो। गोदक खोलाले बगाएका दुई बालिकाद्वयको नाम प्रनिशा शाह (४ वर्ष ८ महिना) र रिमा शाह (६ वर्ष) रहेको छ।
प्रनिशा बिन्दुनिवासी प्रेम शाह र आरती शाहकी कान्छी छोरी हुन् भने रिमा शाह जितेन्द्र शाह र शालु शाहकी छोरी हुन्।
जानकारीअनुसार आफ्ना बाबासँग स्कुटीमा चढ़ेर खोला तरिरहेका बेला अचानक लड़ेपछि यी दुवै बालिकालाई खोलाले बगाएको हो।
तुरुन्तै बगेर छेवैको जलढका नदीमा पुग्दा उनीहरू बेपत्ता बनेका हुन्। यो दु:खद् घटनाले क्षेत्रमा शोकको लहर छाएको छ।
तत्काल वरपरका मानिसहरू भेला भएर खोजी कार्य गर्दा पनि केही टुङ्गो नलागेको जानकारी छ। घटनाको जानकारी पाएर जलढका थानाका अधिकारी दलबलसहित घटनास्थलमा पुगेर खोजी कार्यलाई अघि बढ़ाए तापनि रातिसम्म दुवै बालिकाको कुनै पत्तो लाग्न सकेका थिएन।
हिउँदमा सुकेर तिरतिरे बन्ने यो गोदक खोलाले बर्खामा पानी पर्दा बढ़ेर ठूलो रूप लिनेगर्छ। जसका कारण यो खोलाले बिन्दु बजार ओहोरदोहोर गर्नेहरूलाई पनि धेरै असर गर्नेगर्छ। यसकारण गोदक खोलामा पक्की पुल निर्माण गरिनुपर्ने स्थानीय मानिसहरूले वर्षौंदेखि पटकपटक माग गर्दै आए तापनि अहिलेसम्म यस माग पूरा भएको छैन।
(स्रोतः जेटीभी जलढका)