खरसाङ, 23 जुलाईः तीनधारेमा दुईजना र खरसाङको बरबुङ बस्तीमा एकजना गरी कुल तीनजना कोरोना सङ्क्रमित रहेको पुष्टि भएको छ।
तीनधारेमा कोरोना सङ्क्रमित पुष्टि भएकामध्ये एकजना राजबारीनिवासी र अर्का गैरी गाउँनिवासी हुन्। दुवैजनाको स्वाब टेस्टको रिपोर्ट आज बिहान पोजिटिभ आएको हो।
केही दिनअघि उनीहरूको स्वाबको नमूना सङ्ग्रह गरी जाँचका लागि उत्तर बङ्गाल मेडिकल कलेज एवं अस्पतालको भाइरस रिसर्च एन्ड डायग्नोस्टिक ल्याबरोटरी (भीआरडीएल) पठाइएको थियो।
कोरोना सङ्क्रमित पाइएका राजबारीनिवासी युवकका दिदी पनि केही दिनअघि कोरोना सङ्क्रमित रहेका पुष्टि भएको थियो। दिदीकै सम्पर्कमा आएपछि भाइ पनि सङ्क्रमित बनेको बताइएको छ।
उनीहरू दुवैलाई दार्जीलिङ बतासेस्थित क्वारेन्टाइन सेन्टर लगिने जानकारी पाइएको छ। अर्कोतिर, खरसाङस्थित बरबुङनिवासी एक व्यक्ति पनि कोरोना सङ्क्रमित रहेको पुष्टि भएको छ।