26 जुलाईदेखि जीटीए क्षेत्रमा एक साता लकडाउन

0
1223

दार्जीलिङ, 23 जुलाई: आगामी आइतबार 26 जुलाईदेखि दार्जीलिङ पहाड़का नगरपालिका क्षेत्रसँगै तीनधारे, सुकेपोखरी, पोख्रेबुङ अनि बिजनबारी बजारलाई एक सप्ताहको लागि पूर्ण लकडाउन गर्ने आज जीटीए बीओएका अध्यक्ष अनित थापाले घोषणा गरे।

उनले विशेष यी क्षेत्रहरूमा दिन-प्रतिदिन नै कोरोना सङ्क्रमितहरू भेटिरहेको विषयलाई ध्यानमा राखेर नै यी क्षेत्रहरूमा पूर्ण लकडाउन गर्ने निर्णय लिइएको बताए।

थापाले आज यस विषयलाई लिएर दार्जीलिङका जिल्लापाल र जीटीएका मुख्य सचिवसित एक बैठक गरे भने कालेबुङका जिल्लापालसित फोनमा नै कुराकानी गरी आगामी आइतबारदेखि दार्जीलिङ, खरसाङ, कालेबुङ अनि मिरिक नगरपालिका क्षेत्रका साथै उपर्युक्त स-साना बजारहरूमा एक सप्ताहका लागि लकडाउन शुरू गरिने छलफल गरिएको जानकारी गराए।

“हिजो मात्रै बिजनबारी, सुकेपोखरी अनि सुकनाबाट कोरोना सङ्क्रमितहरू पाइएको पुष्टि भएको थियो। सुकनामा निकैजनालाई कोरोना सङ्क्रमण भएको कारण नै गत केही दिनदेखि सुकुनामा लकडाउन चलिरहेको छ’’, अनित थापाले थपे, “यसरी नै दार्जीलिङ पहाड़का नगरपालिका क्षेत्रहरूमा पनि कोरोना सङ्क्रमितहरू भेट्न थालिएको कारण नै हामी कठोर कदम उठाउन बाध्य बनेका हौं। ताकि दार्जीलिङ पहाड़का जनतालाई यस कोरोना सङ्क्रमणबाट बचाउन सकियोस्।

उनले भने, “विगतमा देशका विभिन्न स्थानबाट हाम्रा मानिसहरू आफ्नो घर फर्किए पनि दार्जीलिङ पहाड़मा कोरोना सङ्क्रमण त्यति बढ़्न पाएको थिएन। दार्जीलिङ पहाड़का गाउँ, समाज, सङ्घ-संस्थाहरू सबै मिलेर यसलाई धेरै हदसम्म नियन्त्रणमा राख्न सफल बनेका थियौं, तर अहिले बिस्तारै दार्जीलिङ पहाड़मा यो सङ्क्रमणले आफ्नो पाइला निकै तीव्र गतिले अघि बढ़ाइरहेको छ। जसको कारण पहाड़बाट दैनिक नै कोरोना सङ्क्रमितहरू पाउन थालिएको छ।

यसैकारण यहाँका जनताको ज्यान बचाउन लकडाउनबाहेक अन्य कुनै उपाय नरहेको उनले बताए। यसैले आगामी आइतबार 26 जुलाईदेखि दार्जीलिङ पहाड़का सबै नगरपालिका क्षेत्रका साथै गम्भीर स्थिति बन्दै गइरहेका केही स्थानहरूमा लकडाउन शुरू गर्ने निर्णय लिइएको थापाले बताए।

यसैबीच, आज राज्य सरकारले घोषणा गरेको लकडाउनको अवधि नै दार्जीलिङ नगरपालिका क्षेत्रको वार्ड नम्बर 26-मा एकजना कोरोना सङ्क्रमित पाइयो।

यसरी नै आज खरसाङ महकुमामा पनि 3 जना कोरोना सङ्क्रमित भेटिएको पुष्टि भएको छ। जसमध्ये 2 जना तीनधारे निवासी अनि दोस्रो बरबुङ बस्ती अस्पतालका सफाइकर्मी रहेको जानकारी पाइएको छ।

यससँगै अहिलेसम्म जीटीए क्षेत्रबाट कुल 18 जना कोरोना सङ्क्रमित भेटिएको स्पष्ट भएको छ। जसलाई विभिन्न कोभिड अस्पतालहरूमा उपचारका लागि भर्ना गरिएको छ। जसमध्ये त्रिवेणी अस्पतालमा कालेबुङ जिल्लाका 3 जना उपचाराधीन छन् भने हात्तीघिसा र बतासिया खोरीबारीस्थित सेल्फ हाउसमा 3 जनालाई राखिएको छ। जसमा 1 जना मिरिक, 1 जना खरसाङ र 1 जना सुकना निवासीहरू हुन्।

यसबाहेक डा. च्याङ सुपर स्पेशिअलिटी अस्पतालमा दार्जीलिङका एकजना र दिसन कोभिड अस्पतालमा कालेबुङका 1 जना उपचाराधीन छन्।

यसरी नै दार्जीलिङको बतासेस्थित टीबी अस्पतालमा पनि 6 जना लक्षणबिनाका कोरोना सङ्क्रमितलाई राखिएको छ।

यति मात्रै होइन, हिजोसम्म जीटीए क्षेत्रका विभिन्न क्वारेन्टाइन सेन्टरमा 2 हजारभन्दा अधिकलाई राखिएको थियो।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here