कालेबुङ, २३ जुलाईः कालेबुङका थप ६ जनाले क्रान्तिकारी मार्क्सवादी कम्युनिस्ट पार्टी (क्रामाकपा)-बाट राजीनामा दिएका छन्।
राजीनामा दिनेहरूमा कालेबुङ टाउन जोनल कमिटी अध्यक्षा तुलसी राई, सचिवा गीताञ्जली खड़्कालगायत सदस्यहरू क्रमैले रवीन्द्र कुमार ढुङ्गाना, अमृता थापा, पम्फा राई र वन्दना राई छन्।
“पार्टी आफूले बनाएको संविधानअनुरूप नै चल्दैन भने पार्टीको त्यो संविधान र सिद्धान्तलाई मान्ने हामीलाई यो पार्टी गरिरहन हाम्रो स्वाभिमानले दिएन”, तुलसी राईले राजीनामा दिनुका कारण बताइन्।
यति मात्र होइन, पार्टीमा महत्त्वपूर्ण योगदान पुऱ्याउने किशोर प्रधानजस्ता समर्पित नेतृत्वलाई आफ्नो स्पष्टीकरण राख्ने मौका समेत नदिई सोझै निष्कासित गर्ने क्रामाकपाका लागि आफूहरूजस्ता ससाना कार्यकर्ताहरू झन् असुरक्षित रहेको बोध भएको पनि उनले बताइन्।
क्रामाकपाबाट राजीनामा दिए पनि श्रमजीवी र जातिको पक्षमा भने निरन्तर रूपमा कार्य गरिरहने तुलसी राईको भनाइ छ।
साथै यस कार्यका लागि युवा, विद्यार्थी र नारीहरूलाई अघि आउने उनले आह्वान गरेकी छन्।
उल्लेखनीय छ, पछिल्लो विधानसभा चुनाउमा क्रामाकपाले आफ्नो उम्मेदवारिता फिर्ता लिँदै भाजपालाई सहयोग गर्ने घोषणा गरेपछि पार्टीको यस्तो घोषणाको आञ्चलिक समितिका अध्यक्ष किशोर प्रधानको अगुवाइमा केही नेतृत्वले खुलेर विरोध मात्र जनाएका थिएनन्, तर भाजपालाई भोट नहाल्ने घोषणा पनि गरेका थिए। ती केही नेतृत्वमा आज राजीनामा दिने ६ जना पनि थिए।
त्यसै दिनदेखि यी ६ जना पार्टीमा निष्क्रिय भएर बसेका थिए।
अर्कोतिर किशोर प्रधानले पछिल्लो २८ अप्रेलका दिन क्रामाकपाबाट राजीनामा दिइसकेका छन् भने केही दिनअघि आञ्चलिक समितिका महत्त्वपूर्ण नेतृत्व विक्रम छेत्रीले १६ जुलाईका दिन क्रामाकपा छाड़िसकेका छन्।